संगीतको सुरसँगै जुरेको जोडी– ‘लाबोनी प्रमोद’

‘यो पाँच सय जनामा चार सय ९९ ले रोएर एउटाले हाँस्ने ठाउँ हो, विचार गरेर मात्र हाम फाल्नुपर्छ है कान्छा !’

‘संगीत सिक्न कोलकाता जान्छु’ भन्दा काकाले प्रमोदलाई भनेका थिए । प्रमोद अर्थात् नेपाली म्युजिक इन्डस्ट्रीले चिन्न थालेको गायक तथा संगीतकार प्रमोद प्रसाईं ।

प्रमोदको दम्पती अहिले नेपाली संगीत क्षेत्रमा ‘लाबोनी प्रमोद’को नामबाट चिनिँदै छ ।
त्यतिबेला काकाको उक्त भनाइ हेक्का नराखेका प्रमोद यतिबेला त्यसको महत्व बुझ्दै छन् ।

नक्खु उकालाे राेडकाे ३ नम्बर गेट छिर्नेबित्तिकै एउटा घरमा प्रायः एउटा सुरिलो आवाज सुनिन्छ । हरक्षण त्यही गुञ्जिरहन्छ । यस्तो लाग्छ कि चराहरू समेत झ्यालबाट चुहिने त्यही मधुर आवाजमा संगीतको आनन्द लिइरहेका छन् ।

शास्त्रीय संगीतमा कोलकाताबाट स्नातकोत्तर (मास्टर्स) सकेर नेपाली सांगीतिक क्षेत्रमा जमिरहेको छ यो जोडी । शब्दको भावलाई बुझेर संगीत भर्न सिपालु ‘लाबोनी प्रमोद’का आवाजमा शास्त्रीय संगीतको लामो साधना भेटिन्छ ।

लाबोनी प्रमोदको संगीत यात्रा

सन् २०१४ मा रवीन्द्र भारती विश्वविद्यालयले लिएको मास्टर्स डिग्रीको अन्तिम परीक्षामा लाबोनी सर्वोत्कृष्ट बनेकी थिइन् । त्यो सफलताको पल अझै उनको सम्झनामा ताजा छ ।

‘धेरै खुसी भएँ, ममीपापा र गुरुहरूलाई मनमनै धन्यवाद दिएँ । जीवनमा केही पाएजस्तो भयो’, उनी भन्छिन्, ‘सधैँजसो कक्षामा प्रथम नै हुन्थेँ तर पनि २०१४ को त्यो दिन मेरो लागि खास थियो ।’
भारतको कोलकतामा जन्मिएकी लाबोनी चक्रवर्ती प्रसाईं करिब तीन वर्षको उमेरदेखि नै बुबा अशोक चक्रवर्तीेसँग संगीत सिक्न थालिन् ।

सानैदेखि संगीतमा देखिएको लगावका कारण पाँच वर्षको उमेरमा त्यतिबेलाका चर्चित गुरु पण्डित एटी काननसँग संगीत सिक्ने मौका पाइन् ।

औपचारिक अध्ययन नै संगीत थियो । पढाइमा सुरुदेखि नै मिहिनेती । स्थानीय गायन प्रतिस्पर्धा उनैले जित्थिन् ।

अहिलेका चर्चित उस्ताद अजय चक्रवर्तीसँग संगीत सिक्न जाँदा लाबोनीलाई भनेका थिए– ‘तुमको यहाँ छ वर्ष पहेले आना था ।’

‘उहाँले भनेजस्तै ठीक समयमा त्यहाँ जान पाएको भए मलाई अझै सिक्न मिल्थ्यो होला’, उनी भन्छिन्, ‘तर, उहाँसँग जति सिक्ने मौका पाएको छु त्यो नि मेरो लागि ठूलो अवसर हो ।’

त्यसपछि हिरेन्द्र जोहरदार, वैंशाली जोहरदार, अमियोरन्जन बन्धुपाध्याय हुँदै अहिलेका चर्चित गुरुहरू अजय चक्रवर्ती र कुमार मडदुर समेतबाट संगीतको ज्ञान लिइन् । उनी अहिले पनि अजय चक्रवर्तीसँग कक्षा लिइरहेकी छिन् ।

यता प्रमोदले पनि भारतको बनारसबाटै संगीत सिकेका हुन् ।

धरानमा डिप्लोमा इन इलेक्ट्रोनिक्स इन्जिनियरिङ सक्दै गर्दा प्रमोदलाई किनकिन म्युजिकविनाको जिन्दगी शून्य र व्यर्थ लाग्न थालेको थियो । संगीतविना त आफू अधूरै हुन्छु कि जस्तो लाग्न थाल्यो ।

‘एकातिर छोरोलाई इन्जिनियर बनाउने बाआमाको सपना, अर्कातिर आफूले कल्पनै गर्न नसकेको संगीतविनाको जीवन’, प्रमोद सम्झिन्छन्, ‘अझै पनि समाजले माथिल्लो दर्जामा राखेको इन्जिनियर अध्ययनलाई गरेको समय र आर्थिक लगानी छाडेर संगीतको महासागरमा हाम फाल्नु एउटा ठूलै चुनौती थियो त्यतिबेला । परिवारलाई मनाउन अर्को ठूलो चुनौती ।’
आफूभित्रको यो दोधार चिर्नैपर्छ भन्ने उनलाई लाग्यो ।

अहिले ललितकला क्याम्पसका प्रमुख रहेका रमेश पोखरेलले प्रमोदलाई भनेका थिए— ‘गिट्टी कुटेर जीवन चलाउन सक्छु भन्ने लाग्छ भने संगीत सिक्न जाँदा हुन्छ ।’

पोखरेलका यी कुराबाट हौसिएका प्रमोद अन्ततः अन्जान सहर बनारस हानिए ।
सुरुमा अलि गाह्रो नै भयो । सोचेजस्तो थिएन । संगीत सिक्ने भोक थियो । धेरै समय त गुरु भेट्नै लाग्यो ।

‘एक त गुरु भेट्नै चर्को, भेटिहाले पनि राम्रो पाउनै गाह्रो’, बनारस जाँदाको सुरुवाती क्षण सम्झिन्छन् प्रमोद ।

उनले संगीतमा स्नातक भारतीय दूतावासको छात्रवृत्तिमा पूरा गरे भने स्नातकोत्तर रवीन्द्र भारती विश्वविद्यालयबाट लाबोनीसँगै गरे ।

संगीतले जुराएको जोडी

प्रमोद बनारस बसिरहेका थिए । त्यही बेला भारतीय दूतावासको छात्रवृत्ति पाए । त्यसपछि संगीत पढ्न उनी कोलकाता गए ।

बिरानो ठाउँ । कलेजको पहिलो दिन । दुई नेपाली ठिटा भिन्नै अनुभव र डर बोकेर संगीत सिक्न चाहने विद्यार्थीको हुलभित्र पसे ।

त्यो हुलमा अधिकांश केटीहरू थिए । प्रमोदले त्यो दिन क्लास नलिएर भोलिपल्टदेखि लिऊँ न भने ।

तर रिदमले मानेनन् ।

प्रमोद भन्छन्, ‘डराई डराई क्लास त छिरियो, बस्ने ठाउँ छैन ।’

कुनामा रुमाल ओछ्याएर बसे । सामान्य परिचय र गीत गाउने अनौपचारिक कार्यक्रम भयो ।

प्रमोदले ‘बाहोँके दर्मिया’ गाए । छेउमा एउटी केटी थिइन् । उनीसँग घुँडा ठोक्कियो ।

‘को थियो, पछि थाहा भयो, त्यो केटी त लाबोनी पो रहिछन्’, त्यो क्षण सम्झिँदै प्रमोद भन्छन् ।
लाबोनीसँगको त्यही पहिलो अनायास स्पर्शमा उनले आफ्नो ‘प्रेम’ भेटे ।

 

‘खासै कुरा हुँदैनथ्यो, अलिअलि भएको अनौपचारिक गफगाफले नै कताकता प्रेमले जन्म लिइसकेको रहेछ । पहिलो भेटभन्दा पनि देखेको एक वर्षपछि औपचारिक रूपमा प्रेमीप्रेमिका भयौँ’, उनी भन्छन्, ‘हुन त म प्रेमलाई रमाइलोको रूपमा लिने मान्छे होइन, तर पनि केही नयाँ र खास अनुभव त भइहाल्छ ।’

नेपालबाट संगीतको तीव्र भोक बोकेर त्यहाँसम्म पुगेका प्रमोदलाई आफू कुनै पनि हालतमा गलत बाटो हिँड्नु हुन्न भन्ने लागिरहन्थ्यो ।

तर एउटै उद्देश्य बोकेर हिँडेको मान्छे साथै भइयो भने अझ बलियो भइन्छ र एकअर्कामा सहयोग पनि हुन्छ भन्ने लाग्यो ।

‘म एउटा उद्देश्य बोकेर हिँडेको मान्छे र उनी पनि मजस्तै’, उनी भन्छन्, ‘उद्देश्य र गन्तव्य एउटै भएपछि किन सँगै नहिँड्ने जस्तो लाग्यो अनि हामी एक हुने निर्णय गर्‍यौँ ।’

भेट हुँदाको अधिकांश समय उनीहरूबीच संगीतबाहेकका गफ हुँदैनथे । सात वर्षसम्म प्रेममा रहँदा होस् या अहिले विवाहपछिको समय, उनीहरू एकअर्काको पहिलो श्रोता भएर सांगीतिक ज्ञान र साधनालाई तिखारिरहेका छन् ।

रमाइलो कुराचाहिँ सात वर्षसम्म प्रेममा रहेर विवाह गरेको यो जोडीले सँगै हलमा बसेर एउटा मात्र फिल्म हेरेको सम्झना छ ।

उता कुनै पनि कुरा ढाँट्न नसक्ने बानीले नै लाबोनीलाई प्रेममा सफलता मिल्यो ।
फरक देश, फरक संस्कार अनि अन्जान ठाउँमा भएको प्रेमका बारेमा घरमा भन्न पनि उनलाई डर थियो ।

‘म कहिले ढाँट्न नसक्ने मान्छे, प्रेममा परेको लामो समयपछि ममीलाई चाहिँ हिम्मत जुटाएर भनेँ, ममीले खासै केही भन्नुभएन । पछि पापाको रिटायर्ड हुने बेला मेरो विवाहको कुरा चल्न थालेपछि पापालाई ममीले नै भन्नुभयो– बेटीका लागि केटा खोज्नुपर्दैन’, लाबोनीले सुनाइन्, ‘सुरुमा त पापाले अप्ठ्यारो मान्नुभयो, एउटा छोरी विदेशी केटा, के–कस्तो बुझेको छैन, कसरी बिहे गर्दिने !’

तर पछि गुरुहरूलगायत चिनजानका साथीमार्फत प्रमोदबारे बुझेपछि ढुक्क भएर बिहे गरिदिएको लाबोनी बताउँछिन् ।

दुई फरक संस्कारका भएकाले लाबोनी प्रमोदको बिहे बङ्गाली र नेपाली दुवै संस्कारबाट सिलगुडीमा भयो ।

 

बाँच्नका लागि संघर्ष

संगीतका भक्त प्रमोद संगीतलाई साक्षात ईश्वर र संगीत कर्म गर्नेलाई ईश्वरीय रूप मान्थे ।
तर आफूले सोचेजस्तो सबै ठाउँमा नभएको उनको अनुभव छ ।

‘इमानदार भएर भन्नुपर्दा मलाई संगीतमा लागेका मान्छे ईश्वरकै रूप लाग्थ्यो । अहिले बुझ्दै छु कि कतिपय ठाउँमा म आफैँ गलत रहेछु’, उनी भन्छन्, ‘नेपाल आएपछि मैले मनमस्तिष्कले पूजा गर्ने भगवान्हरूलाई भेट्न प्रायः सबै संगीतकारहरूलाई भेटेँ र गीत सुनाएँ । धेरैले आश्वासन दिनुभयो तर त्यो दिन अझै आइपुगेको छैन ।’

आफूले धेरै सम्मान गरेका नेपालका वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटालाई ‘मुखमोहिनी’ सुनाउँदा उनले भनेका शब्दले आफूलाई निकै छोएको बताउँछन् प्रमोद ।

भारतीय गायक रूपकुमार राठोरले गाएको ‘मुखमोहिनी’ सुनाउँदा बाँस्कोटाले खुसी हुँदै उनलाई भनेका थिए, ‘तिमी बहुत गज्जबको सिङ्गर हौ, यो भीडभन्दा अगाडि आउने सिङ्गर हौ, यो भीडमा अलमलिने सिङ्गर हैनौ, म तिमीलाई ठूलो स्टेजमा उतार्छु, मेरा गीतहरू तयार गर ।’
त्यो दिन उनलाई संसार जितेजस्तो लाग्यो । प्रमोद भन्छन्, ‘त्यो मेरो लागि जीवनमा सबैभन्दा ठूलो खुसीको दिन थियो ।’

त्यही सिलसिलामा उनी संगीतकार टीका भण्डारीलाई भेट्न रेडियो नेपाल गए । त्यहाँ संगीत सिकाउने अवसर मिलेको उनको भनाइ छ ।

सुरुमा ३ दिनका लागि मात्र सिकाउन छिरेका उनले अरु ३ सिजन त्यहीँ क्लास लिए ।

गीत गाउने अवसर पाइन्छ भनेर त्यहाँ पुगेको उनी काठमाडौँमा बिनाकाम धेरै समय भएकाले बाँच्नकै लागि भए पनि संगीत सिकाउन थाले ।

‘पछि त्यतै बिजी हुन थालियो, भेटघाट पातलो हुन थाल्यो । जसरी भए पनि संगीत कर्म नै गरेर कमाउन थालेँ’, लोकपथसँग उनी भन्छन् ।

 

असहज दिनहरू अनि संगीत कक्षा

अध्ययनका लागि कोलकाता बस्दा पनि राम्रै दुःख देखे भोगेका लाबोनी प्रमोदको काठमाडौँ आइसकेपछिका दिन पनि त्यति सहज भएनन् ।

बिहे गरेपछि सुरुका दिनहरू केही असहज नै भएको उनी बताउँछन् । फेरि दुवै जना भएर सबै संगीतकारहरूलाई भेटेर गीत सुनाए ।

फेरि पनि थुप्रै आश्वासनका पोकाहरू भए उनीहरूसँग । ती पोकाहरू अहिले पनि सकुसल रहेको कुरा प्रमोदले रमाइलो शैलीमा सुनाए ।

 

अहिले पुतलीसडकमा लाबोनी प्रमोदको आफ्नै संगीत पाठशाला छ ।

केही फरक किसिमको शैलीलाई नेपाली संगीतमा हुर्काएर यहाँ एउटा राम्रो सांगितिक संस्कारको विकास गर्ने लक्ष्य छ लाबोनी प्रमोदको ।

उनीहरूको यही कुराले गर्दा अहिले नेपालमा राम्रो चलेका गायक गायिकाहरू समेत यहाँ संगीत सिकिरहेका छन् । कतिले आफू पनि लाबोनीसँग संगीत सिक्न निकै उत्सुक रहेको बताएका छन् ।

नेपालमा मात्र नभए अनलाइनको माध्यमबाट नेपालबाहेक भारत, जापान, अमेरिका, अष्ट्रलियालगायतका देशमा समेत संगीत सिकाइरहेका छन् ।

अहिले नेपालका चर्चित कलाकारहरू समेत गरी २०० भन्दा बढी विद्यार्थीहरूलाई संगीतको प्रशिक्षण दिइरहेका छन् ।

 

क्लासिकल प्रस्तुतिदेखि चलचित्रमा करोड क्लबकी गायिका

लाबोनीले नेपाल आएको छोटो समयमा नै चलचित्रमा गीत गाउने अवसर पाइन् ।

‘भर्खर बिहे गरेर नेपाल आएको न कोही चिनेको छ न त भाषा नै आउँछ । तर पनि पाएको अवसर केही नसोची हुन्छ भनेँ’, लाबोनी पहिलोपल्ट नेपाल आएर ‘तिमीसँग’ चलचित्रको गीत रेकर्डिङ गर्दाको समय सम्झिन्छिन्, ‘उच्चारणमा केही समस्या भयो तर पनि गीत राम्रो बन्यो । सबैले मन पराइदिनुभयो ।’

चलचित्रमा करिष्मा मानन्धरको लागि उनले गाएको ‘मन मेरो चञ्चले’ बोलको गीतले राम्रो चर्चासँगै युट्युबमा एक करोड भ्युज पनि पाइसकेको छ ।

त्यसपछि हरेक पूर्णिमाको दिन पशुपतिको किरातेश्वरमा हुने शास्त्रीय गायनको कार्यक्रममा आफ्नो प्रस्तुुति राख्ने अवसर मिल्यो ।

त्यसले नेपाली संगीत क्षेत्रका धेरैसँग उनको परिचय गरायो । त्यसपछि काठमाडौँका धेरैजसो स्टेजमा उनले क्लासिकल प्रस्तुति दिइसकेकी छिन् ।

लकडाउनको समयमा नेपाललगायत विभिन्न देशका फेसबुक पेजबाट समेत उनले लाइभ प्रस्तुति दिएपछि शास्त्रीय गायनमा उनको अलग्गै स्थान बनेको छ ।

विशेष गरेर नेपालबाहिर रहेर संगीत कर्म गरिरहेका धेरै कलाकारको नजरमा पर्न सफल भइन् र उनीहरूबाट गीत पनि पाउन थालिन् ।

अहिले पनि रेकर्डिङको क्रममा दुई दर्जन गीत रहेको लाबोनी बताउँछिन् ।

उनका ‘आज फेरि’, ‘यो जिन्दगी’, ‘फेरि आउन’ ‘हे मेरी आमा’, ‘देश नदुखोस्’ लगायत गीत र भजन युट्युबमा हेर्न र सुन्न सकिन्छ ।

‘कतिपय सफलता भ्रम हो’

लाबोनी चर्चामा आउनु मात्रै सफलता नभएको बताउँछिन् ।

‘कतिपय सफलता भ्रम हो, बाहिरबाट देखिएको सबै कुरा साँचो होइन भन्ने लाग्छ मलाई’, उनी भन्छिन्, ‘हुन त मेरो काम यी सबै कुरा मूल्यांकन गर्ने होइन । मेरो विचारमा सफलता भनेको सिंगो करियर र जीवनसँग जोडिएको हुन्छ ।’

जीवनभर साधना गर्ने अवसर र वातावरण पाउनुचाहिँ एउटा कलाकारको लागि सबैभन्दा ठूलो सफलताजस्तो उनलाई लाग्छ ।

‘परिवारको भूमिका सबैभन्दा ठूलो हुन्छ । हिरा जतिसुकै बहुमूल्य भए पनि कालिगढले आकार नदिएसम्म त्यसको महत्त्व देखिन्न, मेरो लागि श्रीमान् त्यो कालिगढ हो जसले मेरो साधनालाई चम्काउन आफू मैलिन तयार छ’, श्रीमान् प्रमोदबारे उनी भन्छिन् ।

उनी थप्छिन्, ‘मेरो कर्म भनेकै गीत गाउनु हो, त्यो म गरी नै रहन्छु ।, मेरो काम नै संगीत कर्म हो, यो त अन्तिम साससम्म गरिरहन्छु, मेरो साधनामा इमानदारिता छ भने सरस्वती माताले अवश्य आशीर्वाद दिनुहुनेछ ।’

संगीतलाई कलाभन्दा बढी व्यापारको रूपमा हेरिन थालिएको यो परिवेशमा यसरी सिकेर आउनेहरूको महत्व झनै बढेको छ ।

उनी भन्छिन्, ‘तर विडम्बना हाम्रो देशमा भने त्यसको माहोल अझै तयार हुन सकेको छैन ।’

 

‘फरक छ नेपाल र भारतमा संगीतप्रतिको बुझाइ’

हुन त संगीत भनेपछि मन नपराउने मान्छे कमै हुन्छन् । तर पनि यसलाई एउटा अध्ययनको विधा र संस्कारको रूपमा हाम्रो समाजमा अझै स्वीकार्न सकिएको छैन ।

अझै पनि गीत संगीतको काम गर्छु भन्दा नाक खुम्चाउने मान्छे हाम्रो समाजमा छन् । तर भारतमा संगीतप्रति फरक संस्कार र धारणा रहेको लाबोनी बताउँछिन् ।

उनी भन्छिन्, ‘त्यहाँ त गीत संगीत मात्र नभएर कलाको कुनै पनि विधा सिक्ने मान्छेलाई एकदम राम्रो मानिन्छ । कुनै पनि घरमा कलाकार छ वा सिक्दै छ भने त्यो घरलाई अर्कै सम्मानको नजरले हेरिन्छ ।’

 

९ वर्ष भारतमा संगीत सिकेर आएका प्रमोदको बुझाइ पनि त्यही छ ।

उनी भन्छन्, ‘रेलको यात्रामा संगीतको रियाज (अभ्यास) वा गीत गुनगुनायो भने सबै यात्रुहरू चुपचाप लागेर सहयोग गर्ने रैछन् त्यहाँ ।’

संगीतको साधना गर्दा कयौँ घरबेटीले लखेटेका उदाहरण जताततै सुनिने यो सहरमा त्यस्ता कुरा सुन्दा सबैलाई अचम्म लाग्नु कुनै नौलो कुरा होइन ।

तर प्रमोद भन्छन्, ‘कहिलेकाहीँ अल्छी लागेर रियाज गरेन भने वरपरका सबै सोध्न आइपुग्थे, किन रियाज नगरेको ?, या बिरामी पो भए कि ! भन्दै । यसले पनि हामीलाई साधना गर्न हौसला दिन्थ्यो ।’

त्यसैले पनि भारत संगीतमा यति धेरै माथि पुगेको उनको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?