‘रामचन्द्र पौडेल सभापतिमा उठ्दा केही आपत्ति छैन’ (भिडियोसहित)

सहमति भए म नै सभापतिमा उठ्न सक्छु

नेपाली कांग्रेसको २०७६ फागुनमै हुनुपर्ने १४औं महाधिवेशन पटक–पटक सारेर आगामी मंसिर ९ देखि १३ सम्म हुनेगरी मिति तय गरिएको छ । वैधानिकताको प्रश्न उठेपछि कांग्रेसले भदौ १८ बाट वडा अधिवेशन गर्दै छ ।

वैधानिकताको प्रश्न उठेपछि महाधिवेशन सुरु भएको सन्देश दिन कांग्रेसले वडा अधिवेशन सुरु गरेर महाधिवेशनको घान हाल्न लागेको हो । अहिले कांग्रेस नेतृत्वको पाँचदलीय गठबन्धन सरकार छ । कांग्रेस महाधिवेशन, सरकारको काम, जनपेक्षालगायतका विषयमा केन्द्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले कांग्रेस नेता एवं पूर्वमन्त्री अर्जुन नरसिंह केसीसँग गरेको कुराकानीको सम्पादित अंश:

कांग्रेसको १३औं महाधिवेशन २०७२ फागुनमा भएको थियो, कांग्रेस विधानमा प्रत्येक ४ वर्षमा महाधिवेशन हुनुपर्ने भन्ने छ । २०७६ फागुनमा हुनुपर्ने महाधिवेशन सार्दै–सार्दै आगामी मंसिरमा पुर्‍याउनुभयो, के अब महाधिवेशन हुन्छ त ?

हामीले २०७६मै हुनुपर्ने महाधिवेशन पार्टी विधानलाई नै प्रयोग गरेर २०७७ फागुनमा हुनेगरी सार्‍यौँ । तर गत फागुनमा विविध कारणले नभएपछि संविधानले दिएको सुविधा प्रयोग गरेर भदौमा सार्‍यौँ । र हामीले भदौ १८ बाट वडा अधिवेशन सुरु गरेर महाधिवेशन गर्न खोजेका हौँ । अब यो वा त्यो बहानामा महाधिवेशन सार्ने अवस्था छैन । यसलाई टुंगोमा पुर्‍याउनुपर्छ । कार्यतालिकाअनुसार महाधिवेशन हुन्छ, हुनुपर्छ ।

कांग्रेसमा सधैँ महाधिवेशनको मुखमा क्रियाशील सदस्यताको विवाद हुन्छ । यसलाई विवाद नआउने गरी महाधिवेशनअघि नै समाधान गर्न सकिन्न र ? यसपटक विवाद टुंगिएको हो ?

विवाद सबै टुंगिएकै त होइन । तर महाधिवेशन गर्नका लागि एउटा सैद्धान्तिक सहमति भएको हो । भोलिबाट वडा अधिवेशन सुरु हुँदै छ । आज पनि कतिपय पुराना नेता कार्यकर्ताले मेरो क्रियाशील छुट्यो भनेर फोन गरिरहेका छन् । हामी त्यसलाई समाधान गर्नतिर लागिरहेका छौँ ।

कांग्रेसमा हामी अरु पार्टीबाट प्रवेश गर्नेलाई स्वागत गर्छाैँ । तर यहाँ समायोजनका नाउँमा समायोजनमा आएकाहरूको भन्दा विपरीत नाम दिइएको छ । यो गलत हो । त्यस्तै कांग्रेस विधानले हरेक वर्ष क्रियाशील नवीकरणको व्यवस्था गरेको छ । त्यसलाई न केन्द्र न जिल्ला कसैले पनि मानेका छैनन् । आइन्दा यस्तो परिपाटी बन्द गरेर विवाद नआउने गरी समयमै टुंग्याउनुपर्छ ।

संस्थापन पक्षले अहिलेका सभापति देउवाले फेरि पार्टी सभापतिमा दोहोरिने बताइसकेको छ । तपाईंहरू संस्थापनइतरको हुनुहुन्छ । तपाईंहरूको तर्फबाट पनि सभापति पदका लागि महत्वकांक्षी धेरै छन्, तपाईंहरूको तर्फबाटसाझा उम्मेदबार को हुन्छ त ?

हामी सभापतिमा साझा उम्मेदवार चयन गर्ने पक्षमा र्छौँ । हाम्रो पक्षबाट साझा उम्मेदवार हुन्छ । हामी छलफल गरिरहेका छौँ । तर केही समय लाग्ला । वडा अधिवेशनअघि नै घोषणा गर्ने तयारीमा थियौँ तर हुन सकेन । वडा अधिवेशनमा एक भएर लाग्छौँ ।

को हुन्छ त साझा उम्मेदवार भन्दिनुस् न ?

हामी लोकमतलाई बुझेर भन्छौँ । हाम्रो पक्षबाट सभापतिमा एउटै उम्मेदवार हुन्छ ।

तपाईंहरूको समूहमा सभापतिबाहेक अरु पदमा पनि धेरै महत्वाकांक्षी छन्, कसरी व्यवस्थापन हुन्छ ?

महत्वकांक्षा राजनीतिमा हुन्छ र हुनु पनि पर्छ । तर लक्ष्य र महत्वकांक्षाको समन्वय हुनुपर्छ । हामी अरु पदमा पनि मिलेर उम्मेदवारी दिन्छौँ ।

तपाईंले कुन पदमा उम्मेदवारी दिनुहुन्छ यो महाधिवेशनमा ?

सहमति भए सभापतिमै उठ्न सक्छु । सहमति नभई मिल्दै मिलेन भने अरुलाई किन छोड्छु ? म आफैँ उठ्छु । तर मिलाउने प्रयत्नमा हामी लागिरहेका छौँ । म महामन्त्रीमा यसअघि नै उम्मेदवार भइसकेकाले त्यो पदमा पुनः उठ्दिन । अरु बाँकी पदमा उठ्न नेता कार्यकर्ताहरूसँग छलफल र सल्लाह गर्छु ।

सभापतिमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई छोड्दा के हुन्छ ? उहाँ १३औं महाधिवेशनमा पराजित भए पनि यस पटक फेरि उठ्ने बताइरहनुभएको छ नि !

रामचन्द्र पौडेल सभापतिमा उठ्दा केही आपत्ति छैन । जसले जसलाई छोडे पनि समस्या छैन । हामी त्यही प्रयत्नमा छौँ ।

शेरबहादर देउवा नेतृत्वको कांग्रेस अर्थात् १३औं महाधिवेशनपछिको कांग्रेसको मूल्यांकन कसरी गर्नुहुन्छ ?
पार्टीमा विधि, विधान र प्रक्रियाले चलेन । पार्टी एउटा घेराले सञ्चालन गर्‍यो । कहिलेकाहीँ सुध्रन खोजे पनि व्यवहारमा देखिएन ।

तपाईंहरूले तत्कालीन प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता लम्ब्याउन दल विभाजनसम्बन्धी अध्यादेश ल्याउँदा विरोध गर्नुभयो । अहिले प्रधानमन्त्री देउवाले सत्ता टिकाउन त्यस्तै अध्यादेश ल्याउँदा किन विरोध गर्नुभएन ?

हामीले त्यतिबेला ओलीले अध्यादेश ल्याउँदा पनि विरोध गरेको हो । अहिको सरकारले ल्याउँदा पनि विरोध गरेका छौँ । पहिले विरोध गर्ने अहिले समर्थन गर्ने त्यो नैतिकताले पनि दिँदैन । तर ओलीको बेलाको जस्तो अवस्था अहिले होइन । अहिले ५ दलीय गठबन्धन छ । आवश्यकता ठानेर नै ल्याइएको होला । यसमा प्रधानमन्त्री देउवा वा कांग्रेसलाई मात्रै दोष दिने कुरै हुँदैन ।

स्थानीय निर्वाचन पनि आउँदै छ, अर्काे वर्ष त संसद्को नियमित निर्वाचन पनि हुँदै छ । यो गठबन्धन आगामी निर्वाचनसम्म सँगै जान्छ ?

यो गठबन्धन निर्वाचनसम्म जान्छ र जानुपर्छ । तत्कालीन प्रधानमन्त्री ओलीको निरंकुशता र सत्ता उन्मादलाई नियन्त्रण गर्न कांग्रेस मात्रै पर्याप्त थिएन । त्यसकारण यो गठबन्धन बनेको हो । यसैले आगामी निर्वाचन गराउनुपर्छ । हाम्रो यो कार्यगत एकता हो ।

अहिले राजनीतिक दलहरूभित्र हिन्दुत्वको कुरा पनि उठेको छ, आगामी निर्वाचनमा कांग्रेसले यसलाई एजेण्डा बनाउँछ कि बनाउँदैन ?

म जन्मजात हिन्दु हुँ । नेपालमा धार्मिक स्वतन्त्रता हुनुपर्छ भन्ने पक्षमा म छु । तर अर्काे कुरा राज्य नै हिन्दु हुनुपर्छ कि पर्दैन भन्ने कुरामा चाहिँ लोकतन्त्र भनेको विश्वासको स्वतन्त्रता हो । राज्य धार्मिक स्वतन्त्रतामा जाँदा नै पर्याप्त हुन्छ । तर संविधानमा धर्म निरपेक्ष भनिएकाले हामीले त्यसलाई स्वीकारेका छौँ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?