बलात्कारीलाई आजीवन कारावास हुनुपर्छ: थममाया थापा

विराटनगर, २८ चैत – महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले बालिका, अपाङ्ग र महिलामा हुने बलात्कारका घटना न्यूनीकरण गर्न आजीवन कारावासको सजायको कानून निर्माण गर्नुपर्ने बताउनुभएको छ ।अखिल नेपाल महिला संघ मोरङद्वारा आज यहाँ स्वागत बधाई कार्यक्रममा उहाँले वर्तमान अवस्थाको कानूनले बलात्कारका घटना रोक्न नसकिएकाले सर्वश्वहरणसहितको कडा कानून निर्माणमा संसद्मा छलफल चलाएको बताउनुभयो ।स्थानीय तहमा रहेका महिला प्रतिनिधिले समाजमा रहेको महिला हिंसा, बोक्सी प्रथा, दाइजो लिनेदिने कार्यलाई निरुत्साहित बनाउन अभियान सञ्चालन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।उहाँले संघका अगुवा कार्यकर्तालाई महिला हिंसा, बलात्कारका घटनामा पीडितलाई उपचार र घटनाका दोषीलाई कानूनी प्रक्रियामा लगेर हिंसा न्यूनीकरण अभियानमा जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गर्नुभयो ।मन्त्री थापाले दुई महिनाभित्र महिला बालबालिका मन्त्रालयले महिला हिंसा प्रभावित जिल्लामा अपराध न्यूनीकरण गर्न चेतना तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?