त्यो थँबहिल यो ठमेल- १ (भिडियोसहित)

अहिले ‘टुरिष्ट हब’को रूपमा विकसित झकिझकाउ ठमेल पहिले कस्तो थियो होला ? आम युवापुस्ताको यही जिज्ञासा मेट्न हामी रंगिन ठमेलमा पुराना पुस्ता खोज्दै गयौँ । त्यसै क्रममा भेटिए स्थानीय राजुमान डंगोल।

पर्यटन व्यवसायी समेत रहेका डंगोलले ठमेलको पर्यटन विकासमा लामो समय बिताएका छन् । ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष समेत रहेका डंगोलको बाल्यकाल अनुभव नै आजभन्दा करिब ४५ वर्षअघिको ठमेल हो ।

उनी यहीँ जन्मिए, यहीँ लडिबुडी खेले, हुर्किए र जन्मभूमिलाई नै कर्मभूमिमा परिणत गरे । त्यस कारण पनि उनलाई यहाँको गल्ली-गल्लीको संरचना र फेरबदल राम्रैसँग थाहा छ । डंगोल भन्छन्, ‘हजुरबुबा र हजुरआमाले सुनाएको ठमेलको वस्तुस्थिति र मैले देखेको भोगेको बाल्यकालमा देखेको ठमेल करिब-करिब उस्तै लाग्छ ।’ केही पसल र घर थपिए होलान्, तर खासै धेरै परिवर्तन भएको जस्तो लाग्दैन उनलाई ।

थँबहिल हुँदै ठमेल

अहिलेको ठमेललाई अग्लो भाग मानिन्छ ।

नेवारी भाषामा ‘थँ’ले माथिल्लो भाग भन्ने बुझिन्छ भने ‘क्वः’ले तल्लो भाग भन्ने बुझिन्छ । तसर्थ थँहिटी (धारा) थंबहिल अर्थात् ठमेलमा र क्वः हिटी जैशी देवलमा छ । बीचमा रहेको मरुः हिटी मरु गणेश नजिक छ ।

अहिले ठमेल भनेर चिनिएको ठाउँको खास नाम थँबहिल हो । थंबहिल, ठबहिल हुँदै ठमेल हुन पुगेको इतिहासविद् डा. महेशराज पन्तको आलेखमा उल्लेख छ । पर्यटन व्यवसायी डंगोल पनि भगवानबहाल र विक्रमशील महाबिहार आसपासको ठाउँ नै अहिलेको ठमेल भएको बताउँछन् ।

माटाको घरमा झिँगटीको छाना, न धारा न शौचालय

एकदेखि तीन तलेसम्मका माटाका घरहरू । ती घरहरूमा खर, पराल, छ्वाली र झिँगटीको छाना । त्यो पनि केही संख्या । सिमेन्टका घरहरू औँलामा सीमित ।

डंगोलका अनुसार आजभन्दा ४० वर्षअघि पनि ठमेलमा ३ देखि ४ सयको संख्यामा मात्रै घरहरू थिए । अहिले एक हजार ७ सयभन्दा बढी घरहरू बनिसकेका छन् । त्यो पनि बहुतल्ले । ‘अहिले ठमेल भनिएका सबै ठाउँमा गरी ८ सय जति थिए होला’, डंगोलले भने, ‘पुरानो ठमेलमा त धेरै भए ४ सय जति घर थिए ।’

ठमेलको खुला भौगोलिक संरचना उनको मानसपटलमा अझै छचल्किरहेको छ । ‘ठमेलमा थोरै मात्रै सिमेन्टका घरहरू थिए, प्रायजसो घरहरू माटाकै थिए, १९९० सालको भूकम्पले भत्किएको थिएन’, उनले आफ्नो बाल्यकालको स्मरण सुनाए ।

त्यतिबेला ठमेलमा अहिलेजस्तो व्यक्तिगत धाराहरू थिएनन् । ढुंगेधाराहरू मात्रै थिए । घरहरूमा शौचालय समेत थिएनन् । त्यसकारण खुला ठाउँमा जतततै दिसा गरिएका हुन्थे । आसपासबाट पनि दिसापिसाब गर्न स्थानीय ठमेल पुग्थे । साँझपख स्याल कराउँथे ।

पछिल्लो समय दिनरात उत्तिकै ठेलमठेल हुने ठमेल त्यतिबेला सुनसान थियो । हालको सञ्चयकोष चोकदेखि नरसिंह चोक हुँदै काठमाडौं गेष्ट हाउससम्म मानिसहरूको अलि बढी चहलपहल हुन्थ्यो । नरसिंह चोक, चिबहाल, क्वाबहाल, भगवतीबहाल र गल्कोपाखा जाने बाटाहरूमा अलि बढी घर र पसलहरू थिए ।

अहिलेको चर्चित चाक्सीबारीमा बेलुका ६ बजेपछि मानिसहरू ओहोरदोहार गर्न डराउँथे । किनकि त्यहाँ घर थिएन । ‘यो बाटोमा त किचकन्या हिँड्छन् भनेर कोही पनि हिँड्दैनथे’, डंगोल भने ।

यस्तै अहिले मुख्य चोक बन्न पुगेको सातघुम्ती आसपास पनि हिँड्डुल गर्न स्थानीय डराउँथे । यहाँबाट पकनाजोल जाने बाटोमा त कोही पनि नहिँड्ने बताउँछन् डंगोल । अहिले सातघुम्तीबाट सोह्रखुट्टे जाने बाटो पनि सुनसान नै हुन्थे । सातघुम्तीबाट वैशाली होटल निस्किने बाटो बनेकै थिएन ।

ठमेल बाँसको झाङ र झाडीले भरिएको ठाउँ हो । एकै व्यक्तिको १५, २० रोपनी जग्गा । राणाहरूले आफ्नो जग्गामा अग्ला-अग्ला पर्खाल लगाएका हुन्थे । डंगोल भन्छन्, ‘ती पर्खालभित्र हलुवाबेददेखि अंगुर समेत फलेका हुन्थे ।’

अहिले सञ्चयकोष भएको ठाउँलाई त्यतिवेला महिला संघ भनिन्थ्यो । यो ठाउँमा ठूलो चौरमा खेलेको डंगोलमा मानसपटलमा ताजै छ । यो ठाउँमा माछा र सर्प धेरै पाइन्थ्यो रे आजभन्दा ४० वर्ष अघिसम्म पनि ।

एक पटक डंगोल पनि माछा मार्न पुगेछन् । माछा भनेर समाउँदा सर्पको टाउको परेछ । ‘धन्न टाउकोमै समातेको नत्र बर्बाद हुन्थ्यो’ डंगोल भन्छन् । यो ठाउँ पानीको मुहान पनि हो । यहाँ सञ्चयकोष लगायतका ठूला भवन बनेपछि उक्त पानीको मुहान सुकेको डंगोल बताउँछन् ।
अहिले निकै चर्चित ड्रिम गार्डेनमा त्यतिबेला साँझपख हिँड्डुल गर्न डर लाग्ने अवस्था थियो । नर्सिङ चोक त्यतिबेला चौर थियो । स्थानीय युवापुस्ता त्यहाँ फुटवल खेल्थे । तर अहिले त्यहाँ होटल नै होटल छन् । ‘अहिले न त्यहाँ ब्याडमिन्टन चौर न फुटबल चौर छ, न त पुराना धाराहरू नै मर्मत भए’, डंगोलले भने ।

विगत ३२ वर्षदेखि ठमेलमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका तेजेन्द्रनाथ श्रेष्ठ पनि ठमेल बिनायोजना आफैँ बन्न गएको बजार भएको बताउँछन् । ‘यो राणा, प्रधान र डंगोलहरूको बस्ती हो’, उनले भने, ‘ठमेलमा मान्छे मार्‍यो, सातघुम्तीमा ट्याक्सी ड्राइभर लुट्यो भन्ने सुनिन्थ्यो ।’ एकै व्यक्तिको २० रोपनीसम्म जग्गा भएकाले ३० वर्ष अघिसम्म पनि ठमेल जंगलजस्तै भएको श्रेष्ठ बताउँछन् । साँझ ६ बजेपछि हिँड्न निकै डर लाग्ने गरेको उनको अनुभव छ ।

सानो बजार, ५० रुपैयाँ भाडा

अहिले ठमेल भनेर जुन-जुन ठाउँलाई चिनिन्छ । ती ठाउँहरू पुरानो ठमेल होइनन् । खासमा पुरानो ठमेल भनेको सञ्चयकोषदेखि नरसिंह चोक र गल्कोपाखाको बाटो, पर्यटन मार्ग र काठमाडौँ गेष्ट हाउस आसपासको क्षेत्रलाई मात्रै ठमेल भनिन्थ्यो । त्यतिबेला ठमेलमा २ नाका मात्रै थिए ।

करिब २० वर्षअघिसम्म पनि ठमेल बजार एक वर्गकिमीमा सीमित रहेको बताउँछन् अर्का व्यवसायी तथा ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष भविश्वर शर्मा । ठमेलमा पहिलो पटक स्पा व्यवसाय भित्र्याएका शर्मा पछिल्लो समय ठमेल बजार विस्तार हुँदै गएको बताउँछन् ।
त्यतिबेला पसलहरू करिब एक सयको हाराहारीमा थिए भने एक लाख पर्यटकलाई राख्न पनि ठाउँ पुग्दैन थियो । खर्पनमा तरकारी बेच्ने र सानातिना खुद्रा पसलहरू थिए । यहाँका स्थानीयले गोँगबु, सामाखुशीलगायतका ठाउँमा भएका खेतबारीमा उत्पादन भएका तरकारीहरू ठमेलमा ल्याएर बिक्री गर्थे । स्थानीय डंगोल भन्छन्, ‘यहाँ त लोकल बजार मात्रै थिए त्यतिबेला, यहाँका स्थानीयले आफ्ना उत्पादनहरू यहीँ ल्याएर बिक्री गर्थे ।’

ढलविहीन, धाराविहीन र साँघुरा सडक भएको त्यो ठमेलका घरहरू विस्तारै भाडामा जान थाल्यो । तर त्यो भाडादर सुन्दा अहिलेका पुस्तालाई अनौठो मात्रै होइन हाँसो पनि लाग्न सक्छ । ‘म सानो छँदा भुइतल्ला ५० रुपैयाँमा भाडामा दिइएको रहेछ, विस्तारै १५० हुँदै २५० रुपैयाँ पुग्यो’, उनले भने ।

२०३९ पछि ठमेलको घरभाडा अलि बढ्न थालेको हो । त्यतिबेला सामान्यतया सटर भाडा एक हजार र माथिल्लो तल्लाको दुईवटा कोठाको १५ सय रुपैयाँ हाराहारी पुगेको डंगोल बताउँछन् ।

झोंछेको विकल्प ठमेल

झोंछेको विकल्पको रूपमा ठमेल बजारको उदय भएको पुराना व्यवसायीहरू बताउँछन् । झोंछेमा विदेशी पर्यटकहरूको भीड लाग्दासम्म ठमेल सुनसान थिए । ‘पर्यटकहरू बढ्न थाले तर झोछेँमा पहिल्यै घरहरू बनेकाले पूर्वाधार थपिन सम्भवन भएन, अनि बजार ठमेलतिर सर्‍यो’ ठमेल पर्यटन विकास परिषद्का पूर्वअध्यक्ष श्रेष्ठले भने ।

यसअघि हिप्पीहरूको खास ठाउँ झोछेँ थियो । त्यहाँ गाँजाको खुला व्यापार हुन्थ्यो । त्यसकारण त्यतिबेला हिप्पीलगायत पर्यटकको बढ्दो संख्या झोंछेले धान्न सकेन । सरकारले गाँजालाई प्रतिबन्ध लगाएपछि भने झोंछे सुनसान बन्न थाल्यो ।

झोंछेले धान्न नसकेपछि विस्तार भएको ठमेल बजार नयाँ पर्यटकहरूको रोजाइ बन्न पुग्यो । विशेषतः कुमारनरसिंह राणा र किशोर नरसिंह राणाको दरबार किनेर कणर् शाक्यले काठमाडौं गेष्ट हाउस सञ्चालनमा ल्याएपछि ठमेलको विकास सुरु भएको मानिन्छ।

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?