बीमा कम्पनीलाई किन लगिँदै छ बाध्यात्मक मर्जरमा ?

बीमा समितिले बीमा कम्पनीहरूलाई बाध्यात्मक रूपमा मर्जरमा लैजाने तयारी गरेको छ ।

समितिले क्रस होल्डिङको कारण देखाउँदै बीमा कम्पनीहरूलाई मर्जरमा लैजाने तयारी गरेको हो । यसअघि पनि बीमा कम्पनीहरूमा मर्जर गर्ने विषयमा समितिले बाटो खोलेको थियो । तर समितिले बाटो खोले पनि बीमा कम्पनीहरू एक–आपसमा मर्जरमा जान तयार थिएनन् ।

बीमा कम्पनीको संख्या बढी भएको तथा बीमा कम्पनीहरूले आवश्यकताअनुसार पुँजी पनि वृद्धि गर्नुपर्ने भएकाले समितिले क्रस होल्डिङको बहाना गर्दै मर्जरमा लैजाने तयारी गरेको हो ।

मर्जरमा जान हकप्रद सेयरमा रोक

बीमा कम्पनीहरूको मर्जर गर्ने उद्देश्यका साथ समितिले हकप्रद सेयर निष्काशनमा रोक लगाएको थियो । बीमा कम्पनीहरूको पुँजी बढाउँदा हकप्रद निष्काशन नगरी मर्जरमा गएर मात्रै पुँजी बढाउन सक्ने गरी समितिले तयारी गरिरहेको हो ।

अर्काेतर्फ बीमा कम्पनीको पुँजी वृद्धि गर्दा हकप्रद सेयर निष्काशन गर्न दिँदा सेयर बजारमा असन्तुलन आउने भएकाले पनि बीमा समितिले हकप्रद निष्काशनमा रोक लगाएको थियो ।

बैंक तथा वित्तीय संस्थाहरूको पुँजी वृद्धि गर्दा हकप्रद सेयर निष्काशन गरेर वा मर्जरमा गरेर या दुवै तरिकाबाट गर्नसक्ने व्यवस्था गरिएको थियो । राष्ट्र बैंकको यस्तो नीतिले सेयर बजारमा सेयरको बाढी आएको थियो । जसले बजार अव्यवस्थित भएको थियो । त्यसै कारण बीमा समितिले हकप्रदमा रोक लगाएको हो ।

किन ल्याइयो मर्जरको व्यवस्था ?

आर्थिक वर्ष २०७२/७३ मा नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने निर्णय गरेको थियो । राष्ट्र बैंकको उदेश्य भनेको बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धि गर्ने र बलिया बनाउने भन्ने थियो । बैकिङ क्षेत्रले तीब्रताका साथ मर्जर सुरु गरेपछि बीमा क्षेत्रमा पनि मर्जर प्रक्रियाको सुरुवात गर्न थालिएको हो ।

बीमा कम्पनीहरूको मर्जर निर्देशिकाअनुसार एउटै समूह वा व्यक्तिले एउटा कम्पनीमा १५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था छ । एउटा कम्पनीमा १५ प्रतिशत लगानी भएका कम्पनीले एउटै प्रकृतिका अर्को कम्पनीमा १ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था रहेको छ ।

यसैलाई मुख्य आधार बनाएर बीमा समितिले बीमा कम्पनीहरूलाई बाध्यात्मक रूपमा मर्जरमा लैजाने तयारी गरिरहेको स्रोतको भनाइ छ । तर बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने बाध्यात्मक रूपमा नभईकन क्रस होल्डिङका आधारमा मर्जरमा लैजान सक्ने बताए । ‘क्रस होल्डिङ भएका कम्पनीहरू मर्जरमा लैजान सकिन्छ’, उनले भने ।

स्रोजका अनुसार विशाल ग्रुपको मुख्य लगानी रहेको नेपाल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीबीच क्रस होल्डिङका आधारमा मर्जर हुन सक्नेछ । त्यस्तै, विशाल ग्रुपकै लगानी भएका अर्का दुई इन्स्योरेन्स कम्पनीहरू नेपाल लाइफ र लाइफ इन्स्योरेन्स कम्पनीमा पनि क्रस होल्डिङ रहेको छ ।

त्यसैगरी, आईएमई समूहको लगानी रहेको आईएमई जनरल इन्स्योरेन्स र नेपाल इन्स्योरेन्स कम्पनीहरूलाई पनि मर्जको लागि दबाब सिर्जना भएको बताइएको छ भने आईएमई समूहकै लगानी रहेको आईएमई लाइफ इन्स्योरेन्स र रिलायबल लाइफ इन्स्योरेन्सबीच पनि मर्जर हुन सक्नेछ ।

त्यसैगरी, युनाइटेड इन्स्योरेन्स, नेको इन्स्योरेन्स र एनएलजी इन्स्योरेन्समा राष्ट्रिय वाणिज्य बैंकको क्रस होल्डिङ छ । यी कम्पनीहरूबीच मर्जरको सम्भावना रहेको स्रोतको भनाइ छ ।

बीमा समितिले मर्जरको व्यवस्था ल्याए आफूहरूलाई मान्य हुने बीमक संघले जनाएको छ । ‘बीमा समितिले मर्जर गर्न लागेको हो भने राम्रो काम हो’, संघका महासचिव चंकी क्षेत्रीले भने । तर आधिकारिक रूपमा मर्जरमा जानेबारे बीमा कम्पनीहरूलाई कुनै जानकारी भने नआएको उनको भनाइ छ ।

नेपालमा हाल १९ वटा जीवन बीमा कम्पनी, २० वटा निर्जीवन बीमा कम्पनी र १ वटा पुनर्बीमा कम्पनी गरी कुल ४० वटा कम्पनीहरू सञ्चालनमा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?