एमालेको घरमा माधव नेपाल पक्षका पाहुना : अहिलेलाई आत्मसमर्पण, सके ओलीलाई एक्ल्याउने रणनीति

अन्तिम समयमा माधव नेपालको साथ छोडेर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग असन्तुष्ट रहेका उपाध्यक्षहरू भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल,सचिवहरू योगेश भट्टराई, गोकर्ण विष्ट, भीम आचार्य, तथा स्थायी कमिटी सदस्यहरू सुरेन्द्र पाण्डे, रघुजी पन्त फेरि ओलीतिरै लागेका छन् । नेपालले एमालेबाट छुट्टिएर नेकपा (एकिकृत समाजवादी) पार्टी गठन गर्ने निर्णय गरेपछि उनीहरु नेपालसँग अलग्गिएर एमालेमै रहेका हुन् ।

कतिपयले उनीहरुलाई माधव नेपाललाई भीरमा पुर्याएर आफूहरु मैदानमा फर्किएको आरोप समेत लगाएका छन् । उपाध्यक्ष रावल लगायतका यी सबै नेताहरु अध्यक्ष ओलीका कट्टर आलोचक हुन् । उनीहरु नेपालले एकिकृत समाजवादी पार्टी गठन गर्नु अघिसम्म नेपालकै साथमा थिए ।

नेपालको साथ छोडेपछि बिहिबार प्रदेश १ मा भीम आचार्य मुख्यमन्त्री बनेका छन् । शेरधन राईले राजीनामा दिएपछि आचार्य मुख्यमन्त्री बनेका हुन् । यस अघि भदौ २ मा अष्टलक्ष्मी शाक्य बागमति प्रदेशको मुख्यमन्त्री बनेकि थिइन् । डोरमणि पौडेलले राजीनामा दिएपछि शाक्य मुख्यमन्त्री बनेकी हुन् । दुबै जना मुख्यमन्त्री बन्दा प्रदेशमा माधव नेपाल पक्ष सहितका सांसदको समर्थन रहेको छ ।

अवसरवाद कि ओलीविहिन एमाले बनाउने मिशन ?

माधव नेपाल पक्ष अर्थात एकिकृत समाजवादी पार्टीका प्रदेश सांसदले समर्थन नगर्दा मुख्यमन्त्रीद्वय आचार्य र शाक्यको पद जोगिदैन् । एमाले फुटेको अवस्थामा उ एक्लैका सांसदले मुख्यमन्त्री पद जोगिदैन् । त्यसकारण एकिकृत समाजवादीको समर्थनले मात्रै उनीहरु जोगिन सक्छन् । एकिकृत समाजवादीका केन्द्रीय सदस्य प्रेमल कुमार खनालले मुख्यमन्त्रीद्वयले कित्ता क्लियर गरेर समाजवादीलाई समर्थन गरे उनीहरुलाई समर्थन रहने तर त्यसो नगरे आफूहरुले समर्थन नगर्ने लोकपथसँग बताए ।

शाक्य मुख्यमन्त्री बन्दा उनलाई आफूहरुको समर्थन रहेको नेपालले बताएका थिए । प्रदेश १ मा ९३ सदस्यीय प्रदेश सभामा अहिले कायम रहेका ९२ सांसदमध्ये मध्ये बहुमतको लागि ४७ जनाको समर्थन आवश्यक पर्छ। प्रदेश सभामा एमालेका ५१ जना सांसद छन् । एमाले फुटेको अवस्थामा माधव नेपालको नयाँ पार्टीको केही सांसद खुलिसकेका छन् । त्यहाँ कांग्रेसका २१, माओवादी केन्द्रका १५, जनता समाजवादी पार्टीका ३, राप्रपा र संघीय लोकतान्त्रिक मञ्चका १/१ जना सांसद छन् । नेपाल एमालेमै रहँदा ५१ मध्ये उनको पक्षमा १८ सांसद थिए ।

त्यसैगरी १०९ सदस्यीय वागमती प्रदेशमा एमालेका ५६ जना सांसद छन् । सरकार बनाउन पनि त्यति नै संख्यामा सांसदको आवश्यकता छ । ५६ मध्ये २ जना नेपाल पक्षमा खुलिसकेका छन् । बागमती प्रदेश सभामा कांग्रेसका २२,माओवादी केन्द्रको २३,जसपाका १, विवेकशील साझाका ३, नेमकिपाका २ र राप्रपाका २ सांसद छन् ।

एमाले अध्यक्ष ओलीलाई सत्तोसराप गर्ने नेताहरु ओलीतिरै बस्नुलाई कतिपयले एमालेभित्रै रहेर ओलीलाई महाधिवेशनमा एक्ल्याउने रणनीतिका रुपमा पनि विश्लेषण गरेका छन् । एमालेले आगामी मंसिरमा महाधिवेशन गर्ने निर्णय गरेको छ । शुरुदेखि नै ओली पक्षमा रहेका नेताहरु नेपाललाई छोडेर ओलीतिर आएकाप्रति ओलीले नै धेरै भरोसा नगरेको बताउँछन् ।

राजनीतिक विश्लेषक प्रा.डा. सुरेन्द्र केसी माधव नेपाललाई उचालेर अन्तिममा ओलीतिरै लागेकाहरुको साख बिग्रिसकेको बताउँछन् । उनीहरुको राजनीतिक भविष्यमा समेत धक्का लागेको केसीको ठम्याइ छ । केसीले लोकपथसँग भने,‘ओलीले आफ्नो व्यवहार सुधार्नु पर्ने भनेर असन्तुष्टि जनाउँदै आएकाहरुले त्यसको टुंगो नलगाई फेरी ओलीतिरै समर्पित हुनुले उनीहरु अवसरवादी हुन् ।’

एमाले विश्वस्त श्रोतका अनुसार उपाध्यक्ष भीम रावललाई ओलीले भविष्यमा पार्टी अध्यक्ष बनाउने वचन दिएका छन् । त्यस्तै अरुले पनि विभिन्न आश्वासन पाएका छन् । यस अघि शंकर पोखरेललाई अध्यक्ष बनाउने आश्वासन दिएका ओलीले पोखरेल मुख्यमन्त्री भएर पनि लुम्बिनी प्रदेशमा आफ्नो सरकार जोगाउन नसकेको भन्दै असन्तुष्टि जनाएका छन् । त्यसकारण तत्कालका लागि नेपाललाई कमजोर बनाउन ओलीले रावललाई अध्यक्षको लोभ देखाएर आफ्नो पक्षमा तानेको हुनसक्ने कतिपयको बुझाई छ ।

राजनीतिक विश्लेषक केसी राजनीतिमा बैचारिक अवसान भएपछि पद र प्रतिष्ठाको बार्गेनिङ हुने गरेको बताउँछन् । केसी भन्छन्,‘अहिले बैचारिक अवसान भयो । वैचारिक अवसान पछि पद र प्रतिष्ठा मात्रै बाँकी रहन्छ ।’

ओलीले छोड्लान त अध्यक्ष ?

ओलीले तत्काल अध्यक्ष पद छोड्ने संभावना छैन । नेपाली राजनीतिका माहिर खेलाडी मानिएका ओलीले अध्यक्ष पद छाड्दा आफ्नो मान प्रतिष्ठा मात्रै गुम्ने होइन भोलि फेरि प्रधानमन्त्री बन्ने अवस्था आए त्यो फुत्किन सक्ने कुरा राम्ररी बुझेका छन् ।

यस अघि नै एमाले बिवाद उत्कर्षमा पुग्दै गरेका बेला सडकमा नारा लगाउँदा एमाले कार्यकर्ताले ‘आज होइन भोलीलाई,दश वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए । यसले पनि के स्पष्ट पार्छ भने ओलीले तत्काल पार्टी अध्यक्ष छोड्ने छैनन् । राजनीतिक विश्लेषक केसी एमाले विभाजनले ओली र नेपाल दुबैलाई निकै ठूलो घाटा भने भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?