बैंकहरूको करछली धन्दा : कर उठाउन महालेखाको निर्देशन

काठमाडौं । बैंकहरूले मर्जर हुँदाको आयकर छलेको देखिएको छ । महालेखाको प्रतिवेदनले विभिन्न २१ वटा बैंकहरूले यस्तो कर छलेको जनाएको छ ।

विजनेस कम्बिनेसनबाट प्राप्त भएको लाभलाई २१ बैंकहरूले उपर्युक्तबमोजिम लाभ देखाई आयकर तिर्नुपर्ने भए पनि नतिरेका कारण ती वाणिज्य बैंकहरूको लाभ १४ अर्ब ९३ करोड ३ लाख रुपैयाँमा आयकर ऐनको अनुसूची १ को दफा २ अनुसार सो कर असुल्न महालेखाले निर्देशन दिएको छ ।

महालेखाले ३० प्रतिशतले हुनआउने कर ४ अर्ब ४७ करोड ९१ लाखमा शुल्क एवं ब्याज समेत छानबिन गरी असुल गर्न निर्देशन दिएको हो ।

नेपाल लेखामानमा भएको आयकरसम्बन्धी व्यवस्थाअनुसार सौदाबाजी गर्दा भएको लाभलाई नाफा/नोक्सान विवरणमा उल्लेख गरी लेखांकन गर्नुपर्ने भए पनि नगरेकाले प्रचलित लेखामान र आयकर ऐन २०५८ को दफा २२ विपरीत भएको महालेखाले जनाएको छ ।

लेखामानका यी प्रावधानविपरीत मर्जर/एक्वीजिसन गर्दा हुने लाभलाई प्राप्ति गर्ने कम्पनीले सोझै आफ्नो इक्विटीमा भएको परिवर्तन विवरणमा एक्वीजिसन रिजर्भ, जेनेरल क्यापिटल रिजर्भ, रिजर्भलगायतका शीर्षकमा देखाएको महालेखाको ठहर छ ।

जब कि वित्तीय प्रतिवेदनमा प्राप्ति गर्ने कम्पनीले प्राप्ति हुने कम्पनीको पहिचान भएको सम्पत्तिहरू प्राप्ति गर्दा र सो कम्पनीको पहिचान भएको दायित्व स्वीकार गर्दा बजार मूल्यमा गर्नुपर्ने व्यवस्था छ ।

त्यस्तै पहिचान भएको सम्पत्तिमा स्वीकार भएको घटाई बाँकी खुद सम्पत्तिबापत दिएको साधारण सेयरको बजार मूल्यको आधारमा आउने फरक रकमलाई अवस्थाअनुसार सौदाबाजी गर्दाको लाभको रूपमा वा साखको रूपमा लेखांकन गर्नुपर्ने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?