ऐन कानून निर्माण र परिमार्जन गर्न आवश्यक : उपसभामुख तुम्बाहाम्फे

मोरङ, २३ चैत । उपसभामुख डा शिवमाया तुम्बाहाम्फेले संविधानमा सुनिश्चित भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि अझै पनि केही ऐन तथा कानून परिमार्जन र निर्माण गर्न आवश्यक रहेको बताएका छन् ।मोरङको उर्लाबारी नगरपालिकास्थित ध्रुवतारा महिला फेडेरेशनले आज यहाँ आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै उपसभामुख तुम्बाहाम्फेले संविधान जारी भइसकेपछि नेपालमा तीनै तहको निर्वाचन सम्पन्न भएको र तीनै तहका सरकारलाई जोड्नका लागि केही ऐन कानून निर्माण गर्न आवश्यक रहेको धारणा राखे ।महिलाको आन्दोलनकै कारण राज्यको प्रमुख तहमा महिला पुग्न सफल भएको बताउनु हुँदै उनले अझै पनि धेरै आन्दोलन र अभियान चलाउन बाँकी रहेको छ भने ।नेपालमा महिला आन्दोलनको प्रकृति फरक रहेको बताउँदै उपसभामुख तुम्बाहाम्फेले भने, “आन्दोलन भनेको महिलाको अवस्था जस्तो छ त्यसलाई परिवर्तन गरेर अगाडि बढ्न उत्प्रेरित गर्ने एउटा अभियान हो ।”उनले मोरङ जिल्लामा महिला हिंसाको चपेटामा परेका महिलाको पुनःस्थापनाका लागि एउटा सुरक्षित आवास गृह निर्माणको तयारी भइरहेको जानकारी दिए ।कार्यक्रम आयोजक संस्थाकी अध्यक्ष कल्पना निरौलाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?