बालाजु औद्योगिक क्षेत्र : व्यवस्थित कि विस्थापन ? (भिडियोसहित)

५८ वर्षअघि बालाजु क्षेत्रमा खेतबारी र जंगल मात्रै थिए । घरहरू यदाकदा औँलामा गन्न सकिने मात्रामा थिए । त्यतिबेला काठमाडौं सहरभन्दा टाढा ठानेर सरकारले बालाजु औद्योगिक क्षेत्र घोषणा गर्‍यो ।

समयसँगै बालाजु क्षेत्रले पनि कोल्टे फेरेको छ । त्यसबेलाको बालाजु र अहिलेको बालाजुबीच आकासजमिनको फरक देखिन्छ । त्यतिबेला खेतबारी र जंगलले भरिभराउ बालाजु अहिले घनाबस्तीमा परिणत भइसकेको छ ।

बस्तीभन्दा टाढा ठानेर घोषणा गरिएको औद्योगिक क्षेत्र यतिबेला बस्तीकै बीचमा पर्न गएको छ । ६७० रोपनी क्षेत्रफलमा फैलिएको बालाजु औद्योगिक क्षेत्रमा अहिले १४० वटा उद्योग छन् । जहाँ अतिहानिकारकदेखि अति प्रज्वलनशील र उत्पादनमुखीदेखि गैरउत्पादनमुखी उद्योगहरू समेत सञ्चालित छन् ।

विडम्बनाको कुराचाँहि के हो भने यहाँ सञ्चालित उद्योगहरू व्यवस्थित छैनन् । उद्योगहरू व्यवस्थित नहुँदा काठमाडौंजस्तो घनाबस्तीमा जोखिम बढेको छ भने अर्कोतिर यहाँभित्रको भवन तथा जग्गा जमिनहरूको दुरूपयोग भइरहेको छ । त्यसकारण बालाजु औद्योगिक क्षेत्रलाई यहाँबाट हटाउने कि व्यवस्थित गर्ने भन्ने बहस सिर्जना भएको छ।

स्थानीय बेष्ट बालाजु क्लबका अध्यक्ष जीवन अधिकारी व्यवस्थित तरिकाले औद्योगिक क्षेत्र सञ्चालन गर्नुपर्ने बताउँछन् । गैरउत्पादनमूलकभन्दा पनि उत्पादनमूलक उद्योगलाई प्राथमिकतामा राखेर अघि बढ्नुपर्ने उनको तर्क छ ।

अर्का स्थानीय रविन्द्र श्रेष्ठ पनि औद्योगिक क्षेत्रले प्रदूषण मात्रै उत्पादन गर्ने काम गरेको बताउँछन् । स्थानीयको माग सुनुवाइ गर्नतर्फ औद्योगिक क्षेत्रले चासो नदिएको श्रेष्ठको भनाइ छ । औद्योगिक क्षेत्रले आफूहरूको माग सम्बोधन नगरेसम्म संघर्षमै रहने उनी बताउँछन् ।

औद्योगिक क्षेत्रको गतिविधिबाट स्थानीय सरकार पनि रुष्ट छ । काठमाडौं महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजाल स्थापनाताका बालाजुमा औद्योगिक क्षेत्र घोषणा गर्नु ठीकै भए पनि अहिले भने सोच्नुपर्ने बेला आएको बताउँछन् । औद्योगिक क्षेत्रलाई व्यवस्थित बनाउन आफू लामो समयदेखि लागिपरेको भन्दै रिजालले त्यहाँभित्र सुधार्नुपर्ने कुराहरू धेरै रहेको बताए ।

बालाजु औद्योगिक क्षेत्रलाई अब पर्यटकीय औद्योगिक क्षेत्रको रूपमा विकास गर्नुपर्ने उनको तर्क छ । त्यसका लागि हस्तकला उद्योग र प्रदूषण नहुने खालका उद्योगहरूलाई प्राथमिकतामा राख्नुपर्ने वडाध्यक्ष रिजालको सुझाव छ ।

बालाजु औद्योगिक क्षेत्र बस्तीको बीचमा रहेकाले अब सांस्कृतिक र प्राकृतिक औद्योगिक क्षेत्रका रूपमा विकास गरिनुपर्ने वडाध्यक्ष रिजाल बताउँछन् ।

बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख भोजराज विनाडी भने तत्कालीन समयमा स्थानीयकै रोजाइमा यस ठाउँलाई औद्योगिक क्षेत्र घोषणा गरिएको बताउँछन् । त्यतिबेला औद्योगिक क्षेत्र आसपास बस्ती बसाल्न नपाइने मापदण्ड बनाएको भए अहिलेको समस्या नआउने उनको दाबी छ ।

उद्योग सञ्चालनका लागि ठूलो धनराशि र मेसिनहरू खाँचो हुने भएकाले एक पटक आइसकेको उद्योगलाई हटाउन सम्भव नहुने उनको तर्क छ ।

तत्कालीन समयमा बालाजु क्षेत्र उद्योग सञ्चालनका लागि उपयुक्त भए पनि अहिले भने सोच्नैपर्नै बेला आएको छ । बस्तीको बीचमा चलिरहेको अतिहानिकारण र अति प्रज्वलनशील उद्योगहरूले आसपासका क्षेत्र मात्रै होइन सिंगो सहरलाई नै जोखिममा पारेको छ । त्यसकारण अबको विकल्प भनेको कि यस ठाउँबाट औद्योगिक क्षेत्र नै हटाउनु पर्‍यो कि त उद्योगहरूलाई व्यवस्थित गर्नु पर्‍यो ।

औद्योगिक क्षेत्र नै हटाउनुभन्दा पनि व्यवस्थित ढंगले सञ्चालन गर्ने विकल्प उचित हुने देखिन्छ । त्यसका लागि अति हानिकारक, अति प्रज्वलनशील तथा गैरउत्पादनमुखी उद्योगहरूलाई विस्थापन गरी मौलिक, प्राकृतिक तथा उत्पादनमुखी उद्योगलाई स्थापित गर्नु आवश्यक छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?