संकुचन हुँदै तरलता : कसरी जुटाउलान् बैंकले लगानी ?

पछिल्लो समय बैंकिङ प्रणालीमा तरलता (लगानीयोग्य पुँजी) खुम्चिँदै गएको छ । बैंकिङ प्रणालीबाट ठूलो रकम बाहिरएपछि तरलता संकुचन बढ्दै गएको हो ।

हरेक साउन महिना प्रणालीमा पर्याप्त तरलता रहने समय हो । असार महिना सरकारी खर्च बढ्ने, अधिकांश चेक क्लियरिङ हुनेहुँदा साउनमा प्रणालीमा प्रशस्त तरलता रहने समयका रुपमा लिइन्छ ।तर यही महिनामा नै प्रणालीमा तरलता संकुचन हुँदा बैंकहरु चिन्तित बनेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार बुधबारसम्म १४ अर्ब मात्रै तरलता थियो भने बिहीबार ११ अर्ब तरलता थपिएर जम्मा २६ अर्ब रुपैयाँ मात्रै कायम भएको छ ।

तरलता खुम्चिएसँगै अन्तरबैंक सापटीको ब्याजदर पनि बढेको राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले बताए । ‘तरलता घट्दै जाँदा अन्तरबैंक सापटीको ब्याजदर बढेको छ’, उनले भने । बुधबार ४.०१ प्रतिशत रहेको अन्तर बैंक साटीको ब्याजदर बिहीबार ४.०२ पुगेको प्रवक्ता ढकालले बताए ।

प्रणालीमा तरलता खुम्चिएसँगै अब निक्षेपको ब्याजदर पनि उकालो लाग्ने भएको छ । निक्षेपको ब्याजदर बढेसँगै कर्जाको समेत ब्याजदर बढ्ने निश्चित छ । किनकि बैंकले महँगोमा निक्षेप उठाएर सस्तोमा कर्जा प्रवाह गर्न सक्दैन । यदि अहिले भइरहेको तरलता संकट समयमा समाधान भएन भने ब्याजदर दोहोरो अंकले वृद्धि हुने आकलन गरिएको छ ।

कसरी घट्यो तरलता ?

तीन सातायता बैंकिङ प्रणालीमा ६१ अर्ब रुपैयाँ तरलता घटेको छ । गत असार मसान्तसम्म सञ्चालनमा रहेका २७ वटा वाणिज्य बैंकहरुमा ४२ खर्ब १ अर्ब रुपैयाँ निक्षेप थियो । सो निक्षेप साउन २२ गतेसम्म आइपुग्दा ६१ अर्ब रुपैयाँले घटेर ४१ खर्ब ४० करोड रुपैयाँमा झरेको छ । यस अवधिमा कर्जा भने १२ अर्ब रुपैयाँले बढेको छ । गत असार मसान्तसम्म वाणिज्य बैंकहरुले ३७ खर्ब २१ अर्ब रुपैयाँ कर्जा लगानी गरेका थिए । साउन २२ गतेसम्म ३७ खर्ब ३२ अर्ब रुपैयाँ पुगेको देखिएको नेपाल बैंकर्स संघको तथ्यांकले देखाएको छ ।

किन घट्यो त एक्कासि तरलता ? कहाँ गयो तरलता ? यस  विषयमा राष्ट्र बैंक तथा बैंकर्स संघले समेत अध्ययन गरिरहेका छन् । ‘३÷४ वटा कारणले डिपोजिट घटेको देखिन्छ’ राष्ट्र बैंक अनुसन्धान विभागका प्रमुख रहेका कार्यकारी निर्देशक डा. प्रकाश श्रेष्ठले भने, ‘सरकारले राजस्व संकलन गरेको र खर्च नभएको रकम पनि झिकेको देखिएको छ ।’

त्यस्तै, रेमिट्यान्सको आप्रवाहमा गिरावट आउनु र आयात निरन्तर हुनुले पनि प्रणालीमा तरलता घटेको देखिएको श्रेष्ठले बताए । तर यो दीर्घकालीन समस्या नभएको उनको बुझाइ छ । ‘यो दिर्घकालीन समस्या होइन, डराउनुपर्ने कुनै आवश्यकता छैन’, कार्यकारी निर्देशक श्रेष्ठले लोकपथसँग भने । सरकारले तल्लो तहमा पैसा पठाउन थालेपछि पुनः प्रणालीमा नैै पैसा फर्केर आउने भन्दै नडराउन उनले आग्रह गरे । तर गत वर्षभन्दा केही असहज हुने हो कि भन्ने आकलन श्रेष्ठको छ ।

कसरी जुटाउलान्, बैंकले लगानी ?

अहिले भएको तरलता अभाव क्षणिक भएकाले बैंकलाई लगानीको कुनै समस्या नभएको बैंकर्स संघका अध्यक्ष भुवन दाहालले बताए । ‘अहिले बैंकलाई लगानी गर्न समस्या परिसकेको छैन’, उनले भने । राष्ट्र बैंकले सीसीडी लचिलो बनाएकाले ८५ प्रतिशतसम्म लगानी गर्न पाउने व्यवस्था छ ।

त्यस्तै, बैंकको अहिले सीसीडी ७८ छ । त्यसैले लगानी गर्न समस्या नभएको अध्यक्ष दाहालको भनाइ छ । बैंकहरुले आफूहरुसँग भएको पैसा सरकारी सेक्युरिटीमा लगानी गरेकाले बैंकसँग आइडल फण्ड नहुँदा केही समस्या देखिएको हो । ‘बैंकसँग ५०÷६० अर्ब आइडल फण्ड थियो, त्यो सकियो’, उनले भने । तर त्यसो भन्दैमा बैंक ऋण लगानी गर्नै नसक्ने अवस्थामा पुगे भन्ने सत्य नभएको दाहालको भनाइ छ ।

त्यसो त प्रणालीमा तरलताको समस्या चुलिँदै गएपछि राष्ट्र बैंकले विभिन्न औजारको प्रयोग गर्दै उपलब्ध गराउने गर्छ । जसमा गत मंगलबार वाणिज्य बैंकहरुले राष्ट्र बैंकसँग १९ अर्ब ५५ करोड रुपैयाँ बैंकहरुले ५ प्रतिशत ब्याजको स्थायी तरलता सुविधा (एसएलएफ) लिएका छन् । यो चालू आर्थिक वर्षकै सबैभन्दा बढी हो । त्यस्तै, बुधबार बैंकहरुले ३ अर्ब रुपैयाँ उठाएको राष्ट्र बैंकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?