चियालाई हेल्दी बनाउन चाहनुहुन्छ भने यसो गर्नुहोस्

लोकपथ
1.2k
Shares

चिया पिउनु नेपालीको संस्कार र लाइफस्टाइल नै भइसक्यो । बिहान अर्ध निन्द्रामा चिया नपिएमा कसैलाई निन्द्रा नै खोल्दैन, चिया नपिई कसैलाई शौचालय जानै मन लाग्दैन । पाहुना लाग्दा चिया पिउनुहोस् है भनेरै सोधिहाल्छन् । कतै भेटघाट गर्न भने ‘यसो चिया पिउँदै गफिऔँ’ न समेत भनिन्छ । यी त चिया पिउनका लागि उल्लेख गरिएका केही निमित्त प्रसङ्गहरू मात्र हुन् ।

चिया पिउने वाहाना कति छ कति । चियाका पारखीहरू बढेसँगै चियाका पनि भेराइटी बढे भने पिउने ठाउँहरू पनि प्रशस्तै सञ्चालनमा आए । यसो त चियाका पारखीहरू सनातन देखि एकातर्फ बढ्दै आएका छन् भने अर्को तर्फ चिया पिउनु स्वास्थ्यका लागि फाइदाजनक नरहेको अनुसन्धानहरूले बताउदैं आएको पनि छ । यो दोधारको स्थितिमा चिया पनि पिउने र स्वास्थ्यलाई बेफाइदा नगर्ने किसिमका चिया आफ्नो स्वाद अनुसार कसरी बनाउन सकिन्छ भन्ने विषयमा यो लेखमा चर्चा गर्नेछौँ ।

हामीकहाँ चियालाई स्वादिलो बनाउन धेरै बेर पकाउने, चिनी हालेर पकाउने, दूधको मात्रा बढाएर पकाउने गरिन्छ । यसरी बनाएको चिया मिठो हुने हुनाले कहिले काहीँ एकै सिटिङमा पनि दुई तिन कप पिइन्छ । यस्तो किसिमको चिया स्वादलाई जति राम्रो हुन्छ स्वास्थ्यलाई त्यत्ति नै नराम्रो हुन्छ । यदि तपाई चियाको साँच्चिकै सौखिन हुनुहुन्छ भने यस्तो किसिमको चिया पिउनुहोस् जसलाई पिउँदा तपाईँलाई स्वादिष्ट पनि लागोस् र स्वास्थ्यको दृष्टिकोणले राम्रो पनि गरोस् ।

चियालाई स्वास्थ्यकर बनाउने तरिका

गुणस्तरीय चिया पत्तिको प्रयोग

तपाई चियाको सौखिन हुनुहुन्छ भने चिया पत्ति किन्ने बेलैमा तपाई सजग हुनुपर्छ । यदि चियाको पत्ति गुणस्तरीय छैन भने त्यो चिया स्वादिलो नहुन सक्छ । त्यसैले चियाको पत्ति किन्दा स्वाद र स्वास्थ्यलाई राम्रो गर्ने किसिमको खरिद गर्नुपर्छ ।

दूध कम भएको चिया पिउने

धेरै व्यक्तिलाई दूध हालेको बाक्लो चिया पिउने आदत हुन्छ । यो आदत तपाईँले त्यही स्वाद अनुसारको चिया पिउँदै गएको कारणले बनेको हो । त्यसैले दूध हालेको चिया त्यसमा पनि धेरै बेर पकाएर बनाएको चिया स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । त्यसैले तपाईँले दूध हालेको चिया पिउनु हुन्छ भने चिया पकाए पछि दूध हालेर खाने गर्नुहोस् वा प्राकृतिक दूध हालेर बनाएको चिया पिउने गर्नुहोस् ।

चिनीको सेवनबाट जोगिनुहोस्

हामी कहाँ चिनी नहालेको चिया खाने चलनै कम छ । चियामा चिनी टक्क लागेमा मात्र चियाको स्वाद छ भन्ने जमात बढी होलान् । चियामा चिनी हालेर खानु स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । यदि तपाईँलाई चिया गुलियो नै चाहिन्छ भने तपाईँले चियामा स्टेभिया, मिठो तुलसी, सख्खर वा मह हालेर खाने बानी बसाल्नुहोस् । एक सातामै तपाईँलाई यस्तो किसिमको चिया खाने बानी लाग्छ ।

मसलाको प्रयोग गर्नुहोस्

हामीले अधिक मात्रामा खाने चिया भनेकै दूध र चिनी हालेको हुने गर्छ । यदि चियाको स्वादलाई अझ बढाउन चाहनुहुन्छ भने चियामा ल्वाङ, अलैँची, दालचिनी, तुलसी, अदुवा, केसरको धुलो हालेर पनि पकाउन सक्नुहुन्छ । यसरी बनाएको चिया स्वास्थबर्धक हुनुका साथै स्वादिलो समेत हुने गर्छ ।

खाली पेट चिया नपिउनुहोस्

हामी कहाँ कसैलाई ‘बेड टी’ नखाई ओछ्यान छोड्नै मन लाग्दैन भने एक ग्लास चिया नपिई कुनै पनि काम नै गर्न मन लाग्दैन । यो बानी स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । त्यसैले बिहान चिया पिउनु नै पर्नेहरूले केही खानेकुरा वा नास्ता खाएर चिया पिउनु राम्रो हुन्छ । यस्तै कतिपयलाई राती सुत्न जानु भन्दा अगाडी पनि चिया पिउने बानी हुन्छ । यो बानी राम्रो नभएको कारण सकभर सुत्नु भन्दा अगाडी बेसार हालेको दूध पिउनु स्वास्थ्यको दृष्टिकोणले धेरै राम्रो मानिन्छ ।

हर्बल चिया पिउने गर्नुहोस्

चियामा क्याफिनको मात्रा हुन्छ । यसले हाम्रो स्वास्थ्यलाई फाइदा नगर्नुका साथै निन्द्रालाई बिगार्ने काम गर्छ । त्यसैले क्याफिनको सेवनबाट बच्न चाहनुहुन्छ भने हर्बल चिया पिउने गर्नुहोस् । हर्बल चियाहरूमा तुलसी मिश्रित चिया उत्तम मानिन्छ ।

दिनको दुई कप मात्र

चियाको सौखिनहरू चिया गनेर पिउँदैनन् । धेरै चिया पिउनु पक्कै पनि स्वास्थ्यको दृष्टिकोणले राम्रो मानिँदैन । यदि तपाईँमा पनि त्यस्तो किसिमको बानी छ भने आजैबाट कम गर्दै दिनको केबल दुई कप मात्र चिया पिउने बानी बसाल्नुहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?