कार्यगत मात्रै कि पार्टी एकता पनि ?

काठमाडौं । अहिले नेपाली कांग्रेस नेतृत्वको सरकारमा पाँच दलीय गठबन्धन रहेको छ ।

कांग्रेसबाहेक अरु चार दल कम्युनिस्ट पृष्ठभूमिका छन् । नेकपा एमालेका अध्यक्ष एवं तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले दुई/दुई पटक प्रतिनिधिसभा विघटन (२०७७ पुस ५ र २०७८ वैशाख ७) गरेपछि कांग्रेससहित नेकपा माओवादी केन्द्र, नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष, जनता समाजवादी पार्टी (जसपा)का उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चाको गठबन्धन बन्यो । अहिले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठबन्धन सरकार छ ।

सरकार बनाउन गठबन्धन गरेका यी दलहरू आगामी निर्वाचनसम्मै सँगै जाने रणनीतिमा छन् । तीमध्ये माओवादी, वरिष्ठ नेता नेपाल पक्ष र जसपाका यादव पक्षबीच पार्टी एकता गरेर जानसक्ने अवस्था पनि सिर्जना हुनसक्ने कतिपय नेताहरूले बताउन थालेका छन् । के यो तत्काल सम्भव छ त ?

जसपाका नेता गंगानारायण श्रेष्ठ भन्छन्, ‘हामी तत्कालीन प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध एकजुट भएर लागेका हौँ । यो पाँच दलीय गठबन्धन आगामी निर्वाचनसम्म सँगै जान्छ । तर पार्टी एकता भने हल्काफुल्का विषय नभएकाले चुनावअघि नभई चुनावपछि कुरा मिलेको खण्डमा त्यसतर्फ पनि हामी लाग्छौँ ।’

यसैबीच सरकारमा रहेका पाँच दलीय गठबन्धन आगामी चुनावसम्म नै सँगै जाने नेपाली कांग्रेसका एक नेताले बताए ।

उता नेकपा एमालेका केन्द्रीय सदस्य एवं वरिष्ठ नेता नेपाल पक्षका नेता प्रेमल खनालले लोकपथसँग भने, ‘हामी एमालेको पार्टी एकताको पक्षमा छौँ, भोलि सिंगो एमाले हुँदा पनि माओवादी र जसपासँग पार्टी एकताको सम्भावना प्रबल छ । समाजवादको उद्देश्य हासिल गर्न हामी सँगै हिँड्न सक्छौँ ।’ तर, तत्कालका लागि भने त्यस्तो एजेण्डा नभएको खनालको भनाइ छ ।

त्यस्तै माओवादी केन्द्रका एक नेताले पनि तत्कालका लागि तीन पार्टीबीच पार्टी एकीकरण भन्दा पनि अहिलेको गठबन्धनलाई चुनावसम्मै लाने र त्यसपछि पार्टी एकता लगायतका विषयमा कुरा हुनसक्ने बताए ।

तत्कालीन प्रधानमन्त्री ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेका कारण प्रतिगमनविरुद्ध कांग्रेसलाई सँगै लिएर हिँडेकाले पहिला यही सरकारमार्फत चुनाव गराउने त्यसपछि अरु कुरामा छलफल गरिने ती नेताको भनाइ छ ।
२०७४ मा आम निर्वाचन भएको थियो । प्रत्येक पाँच वर्षमा हुनुपर्ने आम निर्वाचन अब २०७९ मा हुनुपर्नेछ । त्यो भनेको आगामी वर्ष हो ।

यता राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भने पार्टी एकताभन्दा पनि जनमोर्चा एजेण्डालाई लिएर कार्यगत एकता गरेर जानसक्ने बताए । पार्टी एकता नै गर्ने भन्ने सम्भावना नरहेको उनी बताउँछन् ।

पछिल्लो समय माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा अध्यक्ष यादव, अर्का नेता डा. बाबुराम भट्टराई र एमाले वरिष्ठ नेता नेपालबीच एमाले अध्यक्ष ओली कम्युनिस्ट एकताविपरीत गएकाले उनीविरुद्ध मोर्चाबन्दी गर्नुपर्ने विषयमा छलफल हुनेगरेको एक एमाले नेताले बताए ।

ओलीको प्रतिगमनविरुद्ध खरो रूपमा उत्रिएर आफूहरूलाई साथ दिएको कारण कांग्रेसको साथ नछोड्ने र भोलि निर्वाचनमा जाँदा पनि कसले कहाँ निर्वाचन जित्नसक्छ त्यही आधारमा चुनावी मोर्चा बनाएर जाने पक्षमा गठबन्धन दृढ रहेको गठबन्धनमा सहभागी दलका एक नेताको दाबी छ ।

अहिले दाहाल, नेपाल, यादव र भट्टराईबीच पनि रसायन मिलेको छ । दाहाल, नेपाल र भट्टराई कम्युनिस्ट आन्दोलनबाटै उदाएका नेता हुन् भने यादव पनि पहिला एमालेकै राजनीतिबाट आएका हुनाले पार्टी एकताको सम्भावना रहेको तीनवटै पार्टीका नेताहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?