उपचारको क्रमममा आमा गुमाएका बालकले अझै पाएनन् न्याय !

धनगढी । २०७५ चैत ७ मा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा सुत्केरीपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १२ की रेखा थापाको उपचारका क्रममा मृत्यु भयो । उनको मृत्युपछि आफन्त आन्दोलित भए । आन्दोलनमा उत्रिएका आफन्तसँग अस्पताल प्रशासनले वार्ताका माध्यमबाट समस्या समाधानको प्रयास गर्‍यो ।

वार्ताका क्रममा २०७५ चैत ८ मा नवजात शिशुको निःशुल्क उपचार गर्ने, प्रदेश सामाजिक विकास मन्त्रालयले बच्चाको शिक्षादीक्षाको व्यवस्था गर्ने, बच्चाको पालनपोषणका लागि सुदूरपश्चिम पदेश मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने र बच्चा २४ वर्ष हुँदासम्म अस्पतालमा निःशुल्क उपचार गर्नेलगायतका पाँचबुँदे सहमति भएको थियो । तर, सामाजिक विकास मन्त्रालयले गरेको सहमतिअनुसार काम नभएको आफन्तको गुनासो छ ।

सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमराज पाण्डे, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त, धनगढी नगरप्रमुख नृपबहादुर वड र वडा नम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशीलगायतको रोहबरमा सो सहमति भएको थियो । सहमतिपछि आफन्तले मृतक रेखाको अन्त्येष्टि गरेका थिए ।

सहमति भएको साढे दुई वर्ष पुग्न लागेको छ । रेखाका छोरा डेबिट २८ महिनाका भइसके । तर, रेखाका परिवारले अहिलेसम्म सरकारबाट सहमतिअनुसारको कुनै सुविधा पाउन सकेका छैनन् ।

स्वर्गीय रेखाका श्रीमान् जयबहादुर थापाले गुनासो गरे, ‘मेरी श्रीमतीको उपचारकै क्रममा मृत्यु भइसकेको रहेछ । तर, यहाँका चिकित्सकहरूले अघिल्लो दिन सामान्य अवस्था छ भने । अर्को दिन एक्कासि जन्डिस भयो भनेर हामीलाई अल्मल्याउन खोजे । हामीले अन्तयत्र रेफर गर्न भन्यौँ । श्रीमतीलाई नेपालगञ्ज लग्यौंँ, तर उनको यतै सास गइसकेको रहेछ ।’

जयबहादुरले आन्दोलन गरेपछि निष्पक्ष छानबिन गर्ने, बच्चाको निःशुल्क उपचार गर्ने र प्रदेश सरकारले बच्चाको पालनपोषण र शिक्षाको जिम्मेवारी बहन गर्ने भन्नेमा सहमति भएको बताए । उनले भने, ‘तर, अहिलेसम्म न त केसको छानबिन भयो, न पालनपोषणका लागि सामाजिक विकास मन्त्रालयबाट काम नै भयो । हामीलाई त्यतिखेर घर पठाउने काम मात्रै भयो ।’

त्यतिबेला भएको सहमतिपत्र देखाउँदै उनले भने, ‘नगरप्रमुख, सेती अस्पतालका डाक्टर, सामाजिक मन्त्रालयका कर्मचारीहरूको रोहबरमा सहमति भएको छ, तर खै यो सहमतिअनुसार काम भएको ?’ उनले अहिलेसम्म स्वास्थ्य बीमाबाट छोराको उपचार भइरहेको बाहेक अन्य केही पनि नभएको बताए ।

मृतक रेखाका ससुरा मोतिसिंह थापाले पनि नातिको पालनपोषण र पढाइको जिम्मेवारी लिएको सामाजिक विकास मन्त्रालयमा आफूले धेरै दिन धाएको बताए । ‘त्यतिबेलाका स्वास्थ्य महाशाखा प्रमुख दयाकृष्ण पन्त र अस्पताल शाखा प्रमुख डाक्टर चेतराज जोशीले एउटा फायल बनाइदिएका थिए । तर, पन्तको सरुवा र जोशीको महाशाखा फेरिएसँगै फायल नै गायब भयो’, उनले भने, ‘पछि धेरै खोजेपछि बल्ल फायल मिल्यो । फायल त मिल्यो तत्कालीन सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीबाट पनि आश्वासन त पायौँ, तर काम भएन ।’

यसबारे मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख डाक्टर जगदीश जोशीले आफूलाई सोबारे जानकारी नभएको बताए । उनले भने, ‘मन्त्रालयबाट केही भएको जस्तो मलाई लाग्दैन । अस्पतालले सम्झौता गरेकोले अस्पताललाई नै जानकारी होला ।’

स्वास्थ्य महाशाखाका तत्कालीन प्रमुख पन्तले आफूहरूले टिप्पणी उठाएर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएको बताए । उनले भने, ‘हामीहरूले टिप्पणी उठाएर मन्त्रिपरिषद्को कार्यालयमा पठाएका थियौँ । त्यसपछि मेरो सरुवा भयो । त्यसपछि त्यो प्रक्रिया के भयो भन्ने मलाई जानकारी भएन ।’

सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्रसिंह कार्कीले अर्थिक मामिला मन्त्रालयले सहमति नदिएका कारण प्रक्रिया अघि बढ्न नसकेको बताए । उनले भने, ‘सहमति भयो, टिप्पणी पनि उठ्यो, तर कानुन नहुँदा मन्त्रालयले फाइल फिर्ता पठायो ।’

यस्तो थियो घटना
२०७५ चैत्र ७ मा धनगढीको सेती प्रादेशिक अस्पतालमा सुत्केरीपछि धनगढी १२ की रेखा थापाको उपचारकै क्रममा मृत्यु भएको थियो । सामान्य अवस्थामै सुत्केरी भएकी रेखाको उपचारमा चिकित्सकहरूबाट लापरबाही भएको भन्दै उनका आफन्तले अन्यत्र रेफरको माग गरे । उनलाई नेपालगञ्ज रेफर गरिएको थियो । सेती अस्पतालमा नै अन्तिम अवस्थामा पुगिसकेकी रेखालाई नेपालगञ्ज पुर्‍याएपछि त्यहाँको चिकित्सकले उनको मृत्यु भइसकेको बताए ।

सेती प्रादेशिक अस्पतालले मरिसकेको शवलाई रेफर गरेको भन्दै मृतक रेखाका आफन्तहरूले शवलाई सेती अस्पतालमा नै राखेर आन्दोलन सुरु गरे । आन्दोेलनका क्रममा पीडित पक्ष र अस्पताल प्रशासन, सामाजिक विकास मन्त्रालयका अधिकारी, धनगढी नगरप्रमुखबीच भएको वार्ताबाट पाँचबुँदे सहमति भएपछि आफन्तहरूले रेखाको अन्तिम दाहसंस्कार गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?