काठमाडौँ, २१ चैत – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आज दिवंगत एमाले नेता जागृतप्रसाद भेटवालप्रति श्रद्धाञ्जलि दिनुभएको छ ।प्रधानमन्त्री ओलीले पार्टी कार्यालयमा पुगेर उहाँप्रति श्रद्धाञ्जलि दिनुभएको हो । प्रधानमन्त्री ओलीले पार्टीका नेता भेटवालको निधनमा उहाँको परिवारमा समवेदना पनि व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले आज शोक सन्देश दिँदै सिद्धान्तनिष्ठ, प्रखर र जुझारु नेताको छवि बनाउनुभएका एमाले केन्द्रीय लेखा आयोगका सदस्य भेटवालको निधनले वाम आन्दोलनले एक योद्धा गुमाएको उल्लेख गर्नुभएको छ । एमाले नेता माधवकुमार नेपालले पनि प्रेस वक्तव्य जारी गर्दै उहाँ प्रजातान्त्रिक आन्दोलनका लागि संघर्षशील नेता हुनुभएको र उहाँको निधनले मुलुकले निष्ठावान् राजनीतिज्ञ गुमाएको बताउनुभएको छ । आजै बसेको एमाले स्थायी समिति बैठकले पनि भेटवालको निधनमा शोक व्यक्त गरेको छ ।अर्बुद रोगबाट पीडित ६५ वर्षीय नेता भेटवालको उपचारका क्रममा वीर अस्पतालमा आज अपराह्न निधन भएपछि श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय धूम्रबाराहीमा शव राखिएको थियो । उहाँका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।पाँच दशक लामो वामपन्थी राजनीतिमा संलग्न भेटवाल प्रजातान्त्रिक संघर्षकै क्रममा पञ्चायतकालमा जनपक्षीय उम्मेदवारका रुपमा निर्वाचित हुनुभएको थियो । विसं २०४८ र २०५१ को निर्वाचनमा चितवनबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भेटवाल पार्टीका विभिन्न जिम्मेवारीमा रहनुभएको थियो । पछिल्लो समय उहाँ अनुशासन आयोगका सदस्यसमेत हुनुहुन्थ्यो । सोही आयोगका सदस्य दिलु पन्तले उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको जानकारी दिनुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया