काठमाडौं । जनता समाजवादी पार्टी(जसपा) मा विवाद उत्कर्षमा पुगेपछि पार्टीको आधिकारिकता छिनोफानोको जिम्मा निर्वाचन आयोगको काँधमा पुगेको थियो । आयोगले उपेन्द्र यादवलाई आधिकारिकता दिएपछि महन्थ ठाकुर जसपामा एक्लिएका छन् ।
आयोगको निर्णयविरुद्ध अन्तरिम आदेश माग गर्दै ठाकुर सर्वाेच्च अदालत पुगे । तर सर्वाेच्चले उनको मागअनुसार अन्तरिम आदेश दिएन । मुद्दा अझै सर्वाेच्चमा विचाराधीन छ । आयोगको निर्णयले ठाकुर पक्षको पदीय हैसियत भने गुमेको छ ।
अब ठाकुरलाई राजनीतिमा आफूभन्दा जुनियर उपेन्द्र यादवसँग आत्मसमर्पण गरेर सँगै हिँड्नुपर्ने या नयाँ पार्टी दर्ता गर्नुपर्ने हुनसक्छ । उनी अहिले नैतिक संकटमा परेका छन् । पार्टीमा विवाद भइरहेका बेला यादव पक्षले सरकारमा नजाने अडान राखे पनि ठाकुर पक्ष एमाले अध्यक्ष एवं तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारमा गयो । ठाकुरको त्यो अपरिपक्व निर्णय भएको जसपाकै एक नेता बताउँछन् । ठाकुर पक्ष सरकारमा गएको १८ दिनमै बाहिरिनुपरेको थियो । तत्कालीन प्रधानमन्त्री ओलीले संविधान संशोधन, नागरिकता, मधेश आन्दोलनका मुद्दालगायतका आफ्ना नेता कार्यकर्ताका मुद्दा फिर्ता लिन पहल गरेको भन्दै पार्टीमा विवादका बाबजुद ठाकुर पक्ष गत जेठ २१ र २७ मा सत्तामा उक्लिएको थियो ।
प्रतिनिधिसभा विघटन गरेपछिको कामचलाउ सरकारले मन्त्रिपरिषद् विस्तार गरेको भन्दै त्यसविरुद्ध परेको रिटमा सर्वाेच्चले असार ८ मा मन्त्रिपरिषद् विस्तार बदर गरिदियो । असार २८ मा सर्वाेच्चले प्रतिनिधिसभा पुनस्र्थापना गर्ने फैसला मात्रै गरेन शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश समेत जारी गर्यो । असार २९ मा देउवा प्रधानमन्त्री बने । यसले ठाकुर पक्षलाई ठूलो झट्का पर्यो । त्यस्तै पार्टी विवाद टुंग्याउँदै साउन ११ मा आयोगले आधिकारिकता यादवलाई दियो । ठाकुर पक्षले ओली सरकारमा रहँदाको १८ दिन निकै उपलब्धिमूलक भएको मान्यो ।
आज देउवा सरकारले सरकारमा सहभागी दलको न्यूनतम साझा कार्यक्रम ल्याएको छ । त्यसमा जसपाले विगतमा उठाउँदै आएका माग समेत समावेश छन् । यसले उपेन्द्र पक्ष थप हौसिएको छ भने ठाकुर पक्ष नैतिक संकटमा परेको छ । तराई मधेशमा अब के मुद्दा बोकेर जाने भन्नेमा ठाकुर पक्ष पक्कै अलमलमा पर्नेछ ।
ठाकुरले राजनीतिमा सादगी, लोभ नभएको नेताको रूपमा परिचय बनाएका थिए । तर ठाकुरलाई प्रयोग गरेर सत्तामा जाने महत्वकांक्षा पालेका नेताहरूका कारण उनको राजनीतिलाई झन् संकटमा धकेलिदिएको ठाकुर निकट एक नेता बताउँछन् । त्यत्रो राजनीतिक हैसियत बनाएका नेतालाई एकाएक पार्टीविहीन बनाउने काम ठाकुर पक्षकै महत्वकांक्षी नेताहरूले गरेका ती नेताको भनाइ छ । उनीहरू ठाकुरलाई एक्लो पार्ने पक्षमा समेत रहेका ती नेता बताउँछन् ।
झण्डै पाएको प्रधानमन्त्री पद पनि फुत्कियो
जसपाको विवादबारे धेरै टाढा जानु पर्दैन । गत जेठ ४ सम्म मात्र पुग्दा हुन्छ । जेठ ४ मा अध्यक्षद्वय ठाकुर र यादवले ८ बुँदे सहमति गरेका थिए । जसमा जसपाकै नेतृत्व वा राष्ट्रिय सहमतिको सरकार बन्ने भए मात्रै सरकारमा जाने नत्र सरकारमा संलग्न नहुने सहमति भयो । अध्यक्षद्वयको यो सहमतिले राष्ट्रिय राजनीतिमा हलचल नै ल्यायो, किनकि जसपाको हातमा सत्ताको साँचो थियो । सिंगो जसपाले जता समर्थन गर्यो राजनीति त्यतैतिर जाने अवस्था थियो । तर सहमतिको २४ घण्टा पनि नबित्दै ठाकुर पक्ष सहमतिबाट पछि हट्यो ।
ठाकुर पक्षका नेता राजेन्द्र महतो संसदीय दलको नेता बनेको पत्र ठाकुर पक्षले संसद सचिवालयमा पठायो । यसले यादव पक्ष बिच्किएन मात्रै आफ्नो पक्षको रणनीति पनि बनाउन भित्रभित्रै लागिपर्यो । यसले दुई पक्षमा स्पष्ट कित्ताकाट देखायो । ठाकुर पक्ष ओलीको समर्थनतिर लाग्यो भने यादव पक्ष कांग्रेस र माओवादीसँगै सरकारविरोधी मोर्चातिर लाग्यो । ठाकुर पक्षमा २० र यादव पक्षमा १२ सांसद देखिए ।
ठाकुर पक्षकै बलमा तत्कालीन प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा विश्वासको मत नलिई एकैचोटी संविधानको धारा ७६ को उपधारा ५ को प्रयोगमा गए । तत्कालीन प्रधानमन्त्री ओलीलाई हटाउन कांग्रेस र माओवादी केन्द्रले ठाकुरलाई प्रधानमन्त्री बन्ने प्रस्ताव समेत गरेका थिए ।
तर ठाकुरले भित्रभित्रै नेता राजेन्द्र महतोको प्रभावमा परेर सरकारमा जाने मौखिक सहमति गरिसकेका थिए । बरु उल्टै कांग्रेस र माओवादीले प्रधानमन्त्रीको प्रस्ताव नल्याएको भन्दै ठाकुर पक्षका नेताहरूले त्यसको वास्ता गरेनन् ।
किनकि ७६ को उपधारा २ बमोजिम सरकार बनाउन कांग्रेस र माओवादीले कसरत गरेका थिए त्यतिबेला । जेठ ७ को मध्यराति ओलीले दोस्रो पटक प्रतिनिधिसभा विघटन गर्दा ठाकुर पक्षले त्यसलाई समर्थन गर्यो । जब कि पुस ५ मा ओलीले पहिलोपटक प्रतिनिधिसभा विघटन गर्दा ठाकुरले विरोध गरेका थिए ।
त्यस्तै अवस्था आइपरेको भए त्यतिबेला ओली पनि ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएको कुरा एक एमाले नेताले लोकपथलाई बताए । तर ठाकुरलाई उनको वरिपरिकाले प्रधानमन्त्री हुनबाट रोके । ठाकुरलाई मधेशमा निकै सम्मानका साथ हेरिने भए पनि उनका पछिल्ला कदमले उनको पछि लाग्नेलाई समेत तत्कालका लागि अप्ठ्यारो अवस्था आइलागेको जसपाकै नेताको भनाइ छ ।
होला त मन मिलन ?
ठाकुर पक्षले समानान्तर गतिविधि सञ्चालन गर्ने, अध्यक्ष यादवविरुद्ध तराईका जिल्लामा भण्डाफोर अभियान सुरु गर्नेजस्ता कुरा गर्न थालेका छन् । अहिले जे भए पनि अब ठाकुरका पार्टी नेता भनेको यादव नै हुन् । तर ठाकुर पक्ष यादवविरुद्ध नै जान थालेपछि तत्कालका लागि मिल्ने सम्भावना टरेको छ ।
ठाकुर पक्षले निरन्तर समानान्तर गतिविधि बढाए पार्टीको हितविपरीत काम गरेको भन्दै अध्यक्ष यादवले कारबाही गर्न सक्छन् । त्यसो भएमा ठाकुर पक्षका नेतालाई झन् समस्या पर्नेछ । अध्यक्ष यादव निकट नेता मोहम्मद इस्तियाक राईले लोकपथसँग भने, ‘बाटो बिराउनेहरूलाई अध्यक्ष यादवले पार्टीमा आउन आह्वान गरिसक्नुभएको छ । पार्टीको हितविपरीत गए कारबाही हुन्छ ।’
को हुन् महन्थ ?
२०६२/६३ को जनआन्दोलनसम्म ठाकुर तराईमा नेपाली कांग्रेसका प्रभावशाली नेता मानिन्थे । कतिपय कांग्रेस नेताहरूले अझै भन्ने गरेका छन्, ‘ठाकुर कांग्रेसमै रहेको भए डा. रामवरण यादवको सट्टामा उनी नै नेपालको पहिलो राष्ट्रपति हुन्थे ।’
ठाकुर कांग्रेसमा रहँदा मन्त्री र उपसभामुख भइसकेका छन् भने उनी कांग्रेसको कोषाध्यक्ष पनि बनेका थिए । कांग्रेस राजनीतिमा उनी कोइराला परिवारका विश्वासिला पात्र थिए । कांग्रेसका एक नेता भन्छन्, ‘ठाकुरलाई गिरिजाप्रसाद कोइरालाले औधी मन पराउँथे ।’ उनी २०१७ देखि कांग्रेस राजनीतिमा लागेका हुन् ।
२०६४ मा कांग्रेस छोडेर तराई मधेश लोकतान्त्रिक पार्टी तमलोपा गठन गरेर मधेशकेन्द्रित राजनीतिमा लागेका हुन् । ७८ वर्षीय ठाकुर महोत्तरीको पिपरास्थित एकहरिया भन्ने स्थानमा जन्मेका हुन् । कांग्रेस पृष्ठभूमिबाट राजनीतिमा उदाएका ठाकुरले मधेशकेन्द्रित राजनीतिमा हेलिँदासम्म आफ्नो पहिचान त्यागी र सादगीको रूपमै चिनाएका छन् ।
उनी ललितपुरको हात्तीवनस्थित छोरीज्वाइँको घरमा बस्छन् । ठाकुरकी श्रीमतीको २०४५ मा स्टोभ पड्किएर मृत्यु भएको थियो । पछि दुर्घटनामा परेर उनका छोराको मृत्यु भयो । २०४८ को आम चुनावमा नेपाली कांग्रेसका तर्फबाट सर्लाही–५ बाट जितेर ठाकुर प्रतिनिधिसभामा आएका थिए । उनी २०५१ सम्म उपसभामुख बने ।
२०५१ को मध्यावधि चुनावमा पनि ठाकुरले सर्लाहीबाट जिते । त्यसपछि उनी कृषिमन्त्री भए । ०५६ पछि उनी कानुनमन्त्री पनि बने । त्यस्तै कांग्रेसमै रहँदा उनी सञ्चार मन्त्री पनि बनेका थिए । २०७४ को निर्वाचनमा कांग्रेसकै सहयोगमा महोत्तरीबाट चुनाव जिते । उनले तमलोपासहितका अन्य ६ वटा पार्टी मिलाएर राष्ट्रिय जनता पार्टी (राजपा) बनाए ।
केपी ओली प्रधानमन्त्री भएकै बेला २०७७ वैशाख १० मा राजपा र उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी मिलेर जनता समाजवादी पार्टी (जसपा) बन्यो । ठाकुर र यादव दुई अध्यक्ष बने । ओलीले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश ल्याएपछि रातारात ओलीले पार्टी फुटाउन लागेका भन्दै राजपा र समाजवादी पार्टी मिलेर जसपा गठन भएको थियो ।
त्यसको एक वर्षपछि फेरि ओलीलाई सरकारमा समर्थन गर्ने कि नगर्ने भन्ने विवाद चुलिँदै जाँदा ठाकुरको राजनीति धरापमा परेको छ । सांसद संख्याको हिसाबले पनि यादव बहुमतमा छन् भने ठाकुरको पक्षमा थोरै सांसद छन् ।
प्रतिनिधिसभा र राष्ट्रियसभामा गरी जसपाका ३७ जना सांसद छन् । देउवा नेतृत्वको सरकारमा सहभागी हुनका लागि यादव पक्ष मन्त्रीको सुची बनाउन लाग्दा ठाकुर भने पार्टीविहीन भएका छन् । यस्तो लाग्छ,उनी नेपाली राजनीतिका एक्ला बृहस्पती हुन् । यसैले उनी मौन छन् । मर्माहत पनि उत्तिकै ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया