टोकियो ओलम्पिक: स्वर्ण, रजत र काश्य जित्ने खेलाडीले कति रकम कमाउँछन् त ?

काठमाडौं । जारी टोकियो ओलम्पिक २०२० मा ११ हजार भन्दा बढी प्रतिस्पर्धीले ३३९ स्पर्धामा १ हजार १७ पदकका लागि प्रतिस्पर्धा गरेका छन्।

३२औं ओलम्पियाडको आज १३औं दिनसम्म आइपुग्दा कतिपय स्पर्धा अन्त्य भइसकेका छन् भने एथलेटिक्स, कराँते लगायतका अन्य धेरै विधा अझै बाँकी नै रहेका छन्। खेलकुदको महाकुम्भ भनेर चिनिने ओलम्पिक विश्वव्यापी रूपमा टेलिभिजनको पर्दामा ल्याउँदासम्म अकल्पनीय खर्च लाग्ने गर्दछ। अन्तराष्ट्रिय ओलम्पिक कमिटीले विभिन्न टेलिभिजन अधिकारबाट मात्र कम्तीमा ३ देखि ४ बिलियन अमेरिकी डलर कमाउने निश्चित देखिन्छ।

कुल १५.४ बिलियन अमेरिकी डलरको कारोबार भएको यस टोकियो ओलम्पिक २०२० बाट ११ हजार प्रतिस्पर्धीले भने कुनै पनि पुरस्कार राशी प्राप्त गर्ने छैनन्। ओलम्पिकमा स्वर्ण, रजत तथा काश्य पदक जित्नु चानचुने कुरा होइन। कुनै पनि खेलाडीको करियरको शिखर हो ओलम्पिक पदक। यसको लागि खेलाडीले गरेको मेहेनत, तपस्या र बलिदान अतुलनिय हुने गर्दछ। हामीले टेलिभिजनमा हेर्दा देखिने त मात्र एक झलक हो। त्यस क्षणको लागि गरिएको पर्दा पछाडिको कडा परिश्रमको पीडा मात्र एक खेलाडीले महसुस गर्न सक्दछ।

मेहेनतको फल स्वरूप खेलाडीले पाउने भनेको पदक मात्र हो। खरबौंको लगानी तथा आम्दानी भए पनि अन्तराष्ट्रिय ओलम्पिक कमिटीले विजेता तथा प्रतसिपर्धी कसैलाई पनि पुरस्कार राशी वितरण गर्दैन। गर्छ त विजेतालाई पदक र शीर्ष आठमा रहेका प्रतिस्पर्धीलाई ‘ओलम्पिक डिप्लोमा’। यद्यपि धेरै जसो ओलम्पिक पदक विजेतालाई स्वदेशी ओलम्पिक कमिटीले पुरस्कार स्वरुप नगद पुरस्कार वितरण गर्ने गर्दछ। विभिन्न देशले आफ्नै ढाँचा अनुसार पुरस्कार रकम दिँदै आएको छ।

संयुक्त राज्य अमेरिका कुनै पनि ओलम्पिकको संस्करणमा सर्वाधिक पदक जित्ने राष्ट्रमा पर्दछ। उसले ओलम्पिक र प्यारालम्पीक गरी आफ्ना पदकधारी खेलाडीलाई दिने नगद पुरस्कार यस्तो रहेको छ।

स्वर्ण पदक विजेता: ३७ हजार ५ सय अमेरिकी डलर
रजत पदक विजेता: २२ हजार ५ सय अमेरिकी डलर
काश्य पदक विजेता: १५ हजार अमेरिकी डलर

त्यस्तै जुन राष्ट्रले अरु राष्ट्रको तुलनामा कम पदक जित्ने गर्दछन्, ती राष्ट्रहरुले त झन् आफ्ना पदकधारी खेलाडीलाई दिल खोलेर नगद पुरस्कार दिने गरेका छन्।

सिंगापुर

स्वर्ण पदक विजेता: ७४४ हजार अमेरिकी डलर
रजत पदक विजेता: ३७२ हजार अमेरिकी डलर
काश्य पदक विजेता: २८६ हजार अमेरिकी डलर

 

हङकङ

स्वर्ण पदक विजेता: ६४४ हजार अमेरिकी डलर
रजत पदक विजेता: ३२२ हजार अमेरिकी डलर
काश्य पदक विजेता: १६१ हजार अमेरिकी डलर

 

मलेसिया

स्वर्ण पदक विजेता: २४१ हजार अमेरिकी डलर
रजत पदक विजेता: ७२ हजार २ सय अमेरिकी डलर
काश्य पदक विजेता: २४ हजार १ सय अमेरिकी डलर

माथि उल्लेखित पुरस्कार राशीसँगै मलेसियाले आफ्नो पदक विजेता खेलाडीलाई आजीवन मासिक तलब पनि दिने गर्दछ। जसमा स्वर्ण, रजत तथा कास्य पदक विजेताको मासिक तलब क्रमशः १ हजार १८२, ७०८ तथा ४७३ अमेरिकी डलर रहेको छ।

ग्रेट ब्रिटेनले भने आफ्ना पदक विजेतालाई पुरस्कार राशी प्रदान गर्दैन। तर उसले आफ्ना खेलाडीलाई ट्रेनिङको लागि भनेर वार्षिक छात्रवृत्ति प्रदान गर्ने गर्दछ। बेलायत सरकारले आफ्नो ओलम्पिक तथा प्यारालाम्पिक खेलाडीलाई समर्थन गर्न वार्षिक रूपमा १२५ मिलियन पाउण्ड बराबरको रकम विनियोजन गर्ने गरेको छ।

ओलम्पिकमा खेलाडीको आयस्रोतको मुख्य आधार प्रायोजक हुन्। हरेक खेलाडीलाई विभिन्न प्रायोजकको साथ हुने गर्दछ र ओलम्पिक विश्वव्यापी रूपमा हेरिने प्रतियोगिता भएको कारणले खेलाडीलाई प्रायोजकले अत्याधिक रकम दिने गर्दछन्। उदाहरणको लागि उसेन बोल्टले आफ्नो समयमा प्रायोजकबाट मात्र वार्षिक ३० मिलियन अमेरिकी डलरको आय-आर्जन गर्ने गर्दथे।

अन्ततः अहिलेको समयमा ओलम्पिक मात्र यस्तो प्रतियोगिता हो जसमा खेलाडीहरू पैसाको लागि नभई आफ्नो देशको पदकको लागि खेल्ने गर्दछन्। यो नै ओलम्पिकको विशेषता हो। यहाँ आफ्नो राष्ट्रको गरिमाको लागि प्रतिस्पर्धा गरिन्छ।

(इन्डिपेन्डेन्टको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?