बीमामा मनोमानी : कोरोना बीमा गर्न अघि सरेका बीमकहरू किन चुके भुक्तानीमा ?

‘लोभले लाभ, लाभले विलाप’ भन्ने नेपाली उखान अहिले निर्जीवन बीमा कम्पनीहरूमा चरितार्थ भएको छ ।

कोरोना भित्रिएसँगै निर्जीवन बीमा कम्पनीहरू एकाएक हौसिएर बीमा गरे । तर पछिल्लो समय भने बढी दाबी परेको भन्दै भुक्तानी रोकेका छन् । जब कि कोरोना बीमा गरेबापत बीमा शुल्क उठाएपछि अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने हुन्छ । बीमा शुल्क उठाएपछि भुक्तानी दिन्नँ भनेर कुनै पनि बहानामा उम्किन पाइँदैन । तर यतिबेला भने बीमा कम्पनीहरू उम्किने बाटोमा लागेका छन् । कोरोना सुरु हुँदा भविष्यमा के हुन्छ भन्ने दीर्घकालीन सोच नराखी बीमा गर्न हौसिएका कम्पनीहरूले अहिले कोरोना बढेसँगै दाबी बढेको भन्दै भुक्तानीमा रोक लगाएका छन् ।

अघिल्लो फागुनदेखि कोरोना भाइरस भित्रिएसँगै बीमा कम्पनीहरूको नियामक निकाय बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई कोरोनो बीमालेख जारी गर्न निर्देशन दिएको थियो । त्यससँगै सञ्चालनमा रहेका २० वटा निर्जीवन बीमा कम्पनीहरूले धमाधम कोरोना बीमा गरे । त्यसबेला व्यक्तिगतदेखि संस्थागत रूपमा बीमा कम्पनीहरूले धमाधम बीमा गरे । बीमा कम्पनीहरूले एक लाख रुपैयाँ र ५० हजार रुपैयाँबराबरका बीमालेख जारी गरे । जसमा बीमा गर्ने तीव्ररूपले बढे ।

केही समयअघि निर्बाधरूपमा भुक्तानी भइरहेको भए पनि पछिल्लो समय भुक्तानी रोकिएको छ । सरकारले आफूमा पर्ने दायित्वको रकम भुक्तान नगरेका कारण भुक्तानी गर्न नसकेको बीमक संघले जनाएको छ । ‘सरकारले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी नगरेकाले हामीले भुक्तानी गर्न सकिरहेका छैनौँ ।’ संघका महासचिव चंकी क्षेत्रीले भने ।

बीमा कम्पनीहरूले आफ्नो दायित्व रहेसम्म पूरा गरेको उनले बताए । बीमा कम्पनीहरूको दायित्वभन्दा बढी दाबी परेकाले अब सरकारको दायित्व भएको समेत उनले बताए । बीमा कम्पनीहरू भुक्तानी नै गर्न नसक्ने अवस्थामा पुगेको महासचिव क्षेत्रीको भनाइ छ । उनले भने, ‘सरकारले आफ्नो दायित्वमा पर्ने रकम निकासा नगरेसम्म हामी भुक्तानी गर्नसक्ने अवस्थामा छैनौँ ।’

भुक्तानी दिन अर्थलाई समितिको पत्र

कोरोना बीमाको भुक्तानी रोकिएपछि सरकारको दायित्वमा पर्ने रकम भुक्तानीका लागि समितिले अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । ‘हामीले आफ्नो दायित्वमा पर्ने रकम भुक्तानी गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरेका छौँ ।’ समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले भने, ‘अर्थ मन्त्रालयलाई पत्राचार गरिसकेकाले भुक्तानी हुनेमा समिति ढुक्क छ ।’

बीमा गरेर बीमा शुल्क संकलन गरिसकेपछि अनिवार्य रूपमा भुक्तानी गर्नुपर्ने उनको भनाइ छ । कार्यकारी निर्देशक पौडेलले लोकपथसँग भने, ‘बीमा शुल्क संकलन गरिसकेपछि भुक्तानी गर्दिनँ भन्न कुनै पनि हालतमा मिल्दैन ।’ अहिले रोकिएको कोरोना बीमाको भुक्तानी हुने भएकाले सबैलाई ढुक्क हुन उनले आग्रह गरे ।

यस्तो छ कोरोना बीमाको मापदण्ड

नेपालमा कोरोना भित्रिएर यसको बीमा गर्न सुरु भएपछि बीमा समितिले कोरोना बीमासम्बन्धी मापदण्ड बनायो । जुन मापदण्डअनुसार बीमा कम्पनीहरूले पहिलो १ अर्ब रुपैयाँसम्मको दाबी भुक्तानी गर्नुसपर्र्ने व्यवस्था छ । त्यस्तै, पुनर्बीमा कम्पनीहरूले १ अर्बभन्दा माथि २ अर्ब रुपैयाँसम्म र बीमा कम्पनीहरूको महाविपत्ति पुलबाट २ अर्बभन्दा माथि २ अर्ब ५० करोड रुपैयाँसम्म भुक्तानी दिने भन्ने व्यवस्था छ ।

त्यस्तै बीमा समितिले २ अर्ब ५० करोडमाथि ३ अर्ब ५० करोड रुपैयाँसम्मको दायित्व बेहोर्नुपर्ने हुन्छ भने ३ अर्ब ५० करोड रुपैयाँभन्दा बढी दाबी परे सरकारले बेहोर्ने भन्ने कोरोना बीमा निर्देशिका २०७७ मा व्यवस्था गरिएको छ ।

भुक्तानी दिन सरकारको आनाकानी

बीमा कम्पनीहरूले आफ्नो दायित्व पूरा गरेपछि कोरोना बीमाबापतको रकम भुक्तानीमा समस्या आउन थालेपछि अर्थ मन्त्रालयलाई पटक–पटक जानकारी गरएका थिए । तर सरकारले भने कोरोना बीमाको भुक्तानीमा चासो देखाएको छैन । कहिलेसम्म गर्छ त सरकारले कोरोना बीमाबापतको भुक्तानी ? अर्थ मन्त्रालयले यसतर्फ ध्यान नै दिन सकेको छैन । ‘अहिले यस विषयमा कुनै छफफल नै भएको छैन ।’ अर्थ मन्त्रालयका प्रवक्ता महेश आचार्यले भने । सरकारले निर्णय गरेपछि जानकारी गराउने भन्दै प्रवक्ता आचार्य पनि उम्किए ।

पूर्वअर्थमन्त्री युवराज खतिवडाले बजेटमा सरकारी कर्मचारीलाई शतप्रतिशत तथा सर्वसाधारणलाई सामूहिक कोरोना बीमा गराउँदा ५० प्रतिशत प्रिमियममा अनुदान दिने व्यवस्था गरेका थिए । त्यस्तै, निर्वमान अर्थमन्त्री विष्णु पौडेलले एक साताभित्र भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिएका थिए । साथै त्यसबापतको रकम भुक्तान गर्न पनि मन्त्रालयका कर्मचारीलाई आदेश दिएका थिए । तर मन्त्रालयको ढिलासुस्तीले सो रकम भुक्तानी हुन सकेन । बीमा कम्पनीहरूले निवर्तमान अर्थमन्त्री पौडेल मन्त्रालयमा छँदै सरकारको दायित्वमा पर्ने रकम भुक्तान गर्न पत्र समेत पठाएका थिए । तर पनि सो रकम भुक्तानी भएन ।

अहिले अर्थमन्त्रीका रूपमा जनार्दन शमाले पनि कोरोना बीमालाई ध्यान दिन सकेका छैनन् । अर्थमन्त्री शर्मा अघिल्लो सरकारले ल्याएको बजेट संशोधनमा लागेकाले त्यसतर्फ ध्यान पु¥याउन सकिरहेका छैनन् । जसले गर्दा बीमा दाबी भुक्तानी अझै प्रभावित हुने देखिन्छ ।

समितिलाई बीमक संघको ज्ञापनपत्र

बीमा कम्पनीहरूले कोरोना बीमाको आफ्नो दायित्व पूरा भएको र अब भुक्तानी गर्न नसक्ने भन्दै बीमा समितिको सरणमा पुगेका छन् । सञ्चालनमा रहेका २० वटै निर्जीवन बीमा कम्पनीहरूले कोरोना बीमाको दाबी भुक्तानी गर्न नसक्ने बताउँदै समितिलाई ज्ञापनपत्र समेत बुझाएका छन् । सो ज्ञापनपत्रमा सबै निर्जीवन बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरूले हस्ताक्षर गरेका छन् ।

यस्तो छ तथ्यांकमा कोरोना बीमा

बीमक संघको तथ्यांकअनुसार हालसम्म १ लाख ३७ हजार ७ सय ५४ दाबी परेको छ । त्यसबापत १३ अर्बभन्दा बढीको दाबी परेकोे छ । हालसम्म बीमा कम्पनीहरूले कोरोना बीमा दाबीको ४ अर्बभन्दा बढी भुक्तानी गरिसकेका छन् । जबकि बीमा कम्पनीहको दायित्व नै साढे ३ अर्ब रुपैयाँ हो । अब भुक्तानी गर्न बाँकी ९ अर्ब रुपैयाँबराबरको रकम छ ।

 

२०७७ चैत्र महिनादेखि सुरु भएको कोरोना बीमा दुई महिना नबित्दै बन्द भएको थियो । पछि बीमामा पर्ने दायित्वको बाँडफाँड भएपछि पुनः २०७७ जेठ २३ गते कोरोना बीमालेख जारी गर्न सुरु गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?