एकातिर भ्याक्सिनमा भद्रगोल अर्कोतिर तेस्रो लहरको त्रास, तयारी के छ ?

केही साताअघि सामाजिक सञ्जालमा काठमाडौंको मिनभवनस्थित निजामति अस्पतालको एउटा भिडियो क्लिप भाइरल बन्यो । कोरोना भाइरसविरुद्धको खोप लगाउन अस्पतालको प्रांगणमा ठेलमठेल लाइन थियो । तर अस्पतालको पछाडितर्फको भर्‍याङबाट पुग्ने कोठामा भने सोर्सफोर्सका आधारमा धमाधम खोप लगाइरहेका थिए ।

गत शनिबार काठमाडौंको टोखा नगरपालिका स्वास्थ्य शाखामा कार्यरत स्वास्थ्यकर्मी वसन्त गैरे खोप लगाउन ग्राण्डी अस्पताल पुगेका स्थानीयबाट कुटिए । भीड व्यवस्थापनमा खटिएका गैरेमाथि कुटपिट भएपछि स्थगित भएको खोप कार्यक्रम मंगलबार मात्रै सुचारु भयो ।

गत शुक्रबार विर्तामोडको टाइमलेस होटलबाट १०३ भाइल भेरोसिल खोप स्थानीयले नियन्त्रणमा लिए । प्रहरीले उक्त खोपसहित स्वास्थ्य शाखाका फोकल पर्सन ओमबहादुर खड्कालाई नियन्त्रणमा लिएर जिल्ला स्वास्थ्य कार्यालय झापामा बुझाएको थियो ।

शक्तिको आडको खोपको दुरूपयोग गरेको आरोपमा विभिन्न दलका नेता कार्यकर्ताहरू आलोचित बने । यसरी आलोचित हुनेमा प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, एमालेको प्रदेश १ सचिव विनोद ढकाल, कांग्रेसको प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्की, विराटनगर महानगरपालिकाका मेयर भीम पराजुली, माओवादी केन्द्रका प्रतिनिधिसभा सदस्य अमनलाल मोदी, हेटौंडा उपमहानगरपालिका मीना लामालगायत रहेका छन् ।

हेटौंडा उपमहानगरपालिका मीना लामाको कार्यकक्षमा खोप लगाउनेको भीड

यी त केवल प्रतिनिधिमूलक घटना मात्रै हुन् । कतै पावर त कतै पैसामा खोप बिकीरहँदा लक्षितवर्ग भने मारमा परेका छन् । काठमाडौं उपत्यकाका अधिकांश खोप केन्द्रहरूमा कम्तीमा ४ देखि ७ घण्टासम्म लाइन लाग्नुपर्ने अवस्था छ । कतिपयले त तातो घाममा घण्टौँ लाइन लाग्दा समेत खोप लगाउन पाएका छैनन् । कतिपय खोपकेन्द्रहरूमा त प्रहरीले लाठीचार्ज समेत गरेका थिए ।

खोप केन्द्रको ठेलमठेल भीडले उल्टै संक्रमणको जोखिम बढाएको छ । भीड धेरै भएको भन्दै कतिपय वडा कार्यालयले स्थायी बासिन्दालाई मात्रै खोप दिन थालेका छन् । काठमाडौंमा गत १४ साउनबाट सुरु भएको खोप कार्यक्रम मौज्दात सकिएको भन्दै स्थगित गरिएको छ ।

आश्वासन एकातिर, अवस्था अर्कोतिर

प्रधानमन्त्री शेरबहादुर देउवाले पदभार ग्रहण गर्दै आफ्नो पहिलो प्राथमिकता सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउनु रहेको बताएका थिए । सरकारले आगामी चैत मसान्तसम्ममा सबै नेपालीलाई कोरोनाविरुद्धको खोप लगाउने बाचा गरेको छ । आगामी असोजभित्र एक तिहाइ जनसंख्यालाई खोप लगाइसक्ने सरकारको तयारी छ ।

यसअघि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले गत माघ १४ गते कोरोनाविरुद्धको खोप अभियान शुभारम्भ समारोहलाई सम्बोधन गर्दै तीन महिनाभित्र सबै नागरिकलाई निःशुल्क खोप उपलब्ध गराउने बताएका थिए । ओलीले भनेका थिए, ‘करिब तीन महिनाभित्र हामीले सम्पूणर् नेपालीलाई खोप उपलब्त्रध गराइसक्ने छौँ । मेरो विचारमा तीन महिना लाग्न सक्छ जस्तो छ ।’ यसपछि प्रधानमन्त्री ओलीले गत असार ८ गते नेपाल बाल संगठनको केन्द्रीय सभालाई सम्बोधन गर्दै सन् २०२१ भित्र सबै नागरिकलाई खोप लगाउने बताए ।

निवर्तमान प्रधानमन्त्री ओलीले मिति सारेजस्तै प्रधानमन्त्री देउवाले पनि मिति सार्ने हो कि भन्ने आशंका चौतर्फी छ । यद्यपि चैत मसान्तसम्मका सबै नागरिकलाई खोप लगाउने भन्दै सरकारले एक करोड ५० लाख डोज खोप खरिद गर्दै छ ।

मोडर्ना र फाइजर ४०, ४० लाख जोन्सन एन्ड जोन्सनको ५० लाख र अस्ट्राजेनेकाको २० लाख डोज खोप किन्न सम्झौता समेत भइसकेको छ । यस्तै चिनियाँ कम्पनी सिनोफार्मबाट थप ६० लाख डोज खोप खरिदको तयारी भइरहेको छ ।

विभिन्न देशबाट असोजभित्र एक करोड ८३ लाख ८२ हजार ८५० डोज खोप नेपाल आइपुग्ने स्वास्थ्य मन्त्रालयको आकलन छ । खोप खरिदका लागि सरकार र एसियाली विकास बैंकबीच एक अर्ब ६५ करोड रुपैयाँको ऋण सहायता स्वीकृतिको चरणमा छ ।

कोभिसिल्ड लगाएकाहरूलाई खोइ दोस्रो डोज खोप ?

कोरानाविरुद्धको भारतीय खोप कोभिसिल्डको पहिलो डोज लगाएकाहरूले तीन महिना बितिसक्दा समेत दोस्रो डोज लगाउन पाएका छैनन् । खोपका लागि नेपालले भुक्तानी दिइसकेको भए पनि भारतले खोप उपलब्ध नगराएपछि कोभिसिल्डको पहिलो डोज लगाएकाहरू अन्यौलमा छन् ।

नेपालमा गत फागुन २३ गते खोप अभियान सुरु भएको थियो । फागुनदेखि वैशाखसम्म सञ्चालित कोभिसिल्ड खोप अभियानमा सहभागी भएकामध्ये १३ लाख ४८ हजार नागरिक दोस्रो डोजको पर्खाइमा छन् । उनीहरूलाई जापानबाट आउने एस्ट्राजेनेका खोप दिने सरकारको तयारी छ । जापानबाट १६ लाख डोज एस्ट्रोजेनेका खोप तीन दिनभित्र आउने स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको दाबी छ ।

कुन खोप कति आयो, कतिले लगाए ?

नेपालमा अहिलेसम्म ९७ लाख ८२ हजार डोज खोप प्राप्त भएको छ । जसमा भारतबाट २४ लाख ४८ हजार डोज कोभिसिल्ड खोप भित्रिएको छ भने ५८ लाख डोज चिनियाँ भेरोसेल खोप प्राप्त भएको छ । यस्तै १५ लाख ३४ हजार डोज जोन्सन एन्ड जोन्सन खोप अमेरिकाले दिएको छ ।

नेपालमा अहिले यिनै तीन थरी खोपहरू लगाउने क्रम जारी छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबारसम्ममा २० लाख २ हजार ७०३ जनाले दुवै डोज खोप लगाएका छन् भने ४२ लाख ५४ हजार ५५० जनाले पहिलो डोज लगाएका छन् । सोमबार मात्रै एक लाख ८१ हजार २५ जनाले खोप लगाएका छन् । मनाङ जिल्लामा भने १८ वर्षमाथिका सबैले खोप लगाइसकेका छन् ।

मंगलबार लगाइएको खोपको विवरण

कोभिसिल्ड र भेरोसेल खोप दुई पटक लगाउनुपर्ने हुन्छ भने जोन्सन एन्ड जोन्सन एक डोज लगाए पुग्ने खोप हो ।

सरकारले कोरोना भाइरसविरुद्ध अग्रपंक्तिमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकारसहित ज्येष्ठ नागरिक, प्राध्यापक, शिक्षक र कर्मचारी, सार्वजनिक यातायातमा कार्यरत चालक, सहचालक, अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरू, विदेशन जाने नागरिकलगायतलाई प्राथमिकतामा राखेर खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।

खोपको प्रमाणपत्र लिन पनि उत्तिकै सास्ती

खोप लगाउन मात्रै होइन खोप लगाएको प्रमाणपत्र लिन पनि उत्तिकै सास्ती बेहोर्नुपरेको सर्वसाधारणको गुनासो छ । विशेषतः वैदेशिक रोजगारीमा जानेहरूलाई कोरोनाविरुद्धको खोप लगाएको प्रमाणपत्र अनिवार्य छ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा खोपको प्रमाणपत्र लिनका लागि बिहान ४ बजेदेखि नै लाइन लाग्ने गरेको छ ।


वैदेशिक रोजगारीमा जानेहरुका लागि साउदी अरब, कुवेतलगायतका देशले ‘क्यूआर कोड’ भएको प्रमाणपत्र मागेको छ । कोरोना खोप लगाएको ‘क्यूआर कोड’सहितको प्रमाणपत्र माग्दै गत आइतबार काठमाडौंको भद्रकालीमा प्रदर्शन समेत भयो । उनीहरूले ‘क्यूआर कोड’सहितको प्रमाणपत्रबिना वैदेशिक रोजगारमा जान नपाएको भन्दै प्रदर्शन गरेका थिए ।

सरकारले खोप लगाएको प्रमाणपत्र प्रमाणित गर्न शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु, पाटन अस्पताल, सशस्त्र प्रहरी अस्पताल र निजामती कर्मचारी अस्पताललााई तोकेको छ । यद्यपि कतिपय अस्पतालले यस्तो प्रमाणपत्र उपलब्ध गराउन समेत शुल्क लिनगरेको पाइएको छ ।

त्यसो त कोभिड-१९ विरुद्धको खोप लगाएको प्रमाणपत्र दिँदा कुनै शुल्क नलिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालहरूलाई निर्देशन दिएको छ । मन्त्रालयले एक सूचना जारी गर्दै सरकारले खोप लगाएको प्रमाणीकरण निःशुल्क गर्ने निर्देशन दिएकोमा केही अस्पतालहरूबाट शुल्क लिएको पाइएको भन्दै कुनै प्रकारका अतिरिक्त शुल्क नलिन निर्देशन दिएको हो ।

यता स्वास्थ्य सेवा विभागले ५० शय्याभन्दा माथिका सबै सरकारी अस्पताललाई व्यक्तिले खोप लगाएको प्रमाणीकरण गर्न निर्देशन दिएको छ । विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहले सातै प्रदेशका स्वास्थ्य निर्देशनालय र ७७ वटै जिल्लाका जिल्ला स्वास्थ्य कार्यलयलाई पत्राचार गर्दै यस्तो निर्देशन दिएका हुन् । विभागले आगामी भदौ १ गतेदेखि विदेश जाने नागरिकहरूका लागि लागि सूचना प्रमाणीकरण अग्रीम दर्ता गराएर मात्र खोप लगाउने र अन्य नागरिकको पनि सोही व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ ।

तेस्रो लहरको त्रास

नेपालमा पनि कोरोनाको नयाँ-नयाँ भेरियन्टहरू देखा पर्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो साताको कोरोना संक्रमणको दर १ मशमलव ५ रहेको छ । तर निको हुने दर भने घटेको देखिन्छ । गत सोमबार ९४.५ प्रतिशत रहेको निको हुने दर हिजो मंगलबार ९४ प्रतिशतमा झरेको छ ।

त्यसो त कोरोनाको तेस्रो लहर फैलिने त्रास पनि बढेको छ । जिल्ला प्रशासन कार्यालयले तेस्रो लहर आउन सक्ने भन्दै भीडभाड नगर्न र स्वास्थ्य मापदण्ड अपनाउन आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले एक सूचना जारी गर्दै संक्रमणको उच्च जोखिम यथावत रहेकाले सभा, सम्मेलन, धर्ना, जुलुस, गोष्ठी, र्‍यालीजस्ता गतिविधि नगर्न आग्रह गरेका हुन् । यता पहिलेकै नियम कडाइका साथ पालना गराउन भन्दै थप सात दिन निषेधाज्ञा लागू गरेको छ ।

पहिलोभन्दा दोस्रो भेरिन्टको संक्रमण दर बढी देखिएको भन्दै जनस्वास्थ्यविद् डा. सागर राजभण्डारीले कोरोनाका तेस्रो भेरिन्टको संक्रमण दर बढी हुनसक्ने बताए् । भेरियन्ट भन्दैमा संक्रमण दर बढी हुन्छ भनेर ठोकुवा गर्न नसकिने उनी बताउँछन् ।

खोप लगाउनु र जनस्वास्थ्यको मापदण्ड पालना गर्नु नै कोरोनाबाट जोगिने उपाय भएको उनको भनाइ छ । कोरोनाबाट जोगिन खोपको प्रयोगलाई ब्यापक बनाउनुपर्ने डा. राजभण्डारीको तर्क छ । ‘१२ वर्षभन्दा माथिका सबैलाई खोप लगाउनुपर्‍यो, खोपबाट कसैलाई पनि वचित गर्नु भएन ।’ उनले भने ।

पीसीआर परीक्षण शहरकेन्द्रित भएको भन्दै उनले समुदायस्तरमा परीक्षण गर्नुपर्ने बताए । ‘लक्षण देखिएका र सास फेर्न गाह्रो भएकालाई मात्रै परीक्षण गरेर हुँदैन, समुदायस्तरमा परीक्षण गर्नुपर्छ ।’ डा. राजभण्डारीले भने, ‘गाउँ-गाउँमा भाइरस फैलिरहँदा स्थानीय निकायले खरिद गरेको पीसीआर मेसिनहरू त्यतिकै थन्किएर बस्नु विडम्वनापूणर् भएको छ ।’

जनस्वास्थ्यविद् डा. रविन्द्र पाण्डे पनि खोप लगाउन र खोपको प्रमाणपत्र लिनेक्रममा देखिएको भीडले तेस्रो लहरको जोखिम बढेको बताउँछन् । उनले भने, ‘खोप लगाउन र खोपको प्रमाणपत्र लिनेक्रममा देखिएको भीडले तेस्रो लहरको जोखिम बढाएको छ, यसको सही ब्यवस्थापनको खाँचो छ ।’

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमित बिरामीको चाप बढेपछि कोरोनाविरुद्धको खोप कार्यक्रम स्थगित गरिएको छ । अस्पतालका सूचना अधिकारी नवराज अधिकारीले पछिल्लो ४ दिनयता बिरामीको संख्या उल्लेखय रूपमा बढेको बताए । ‘पछिल्लो समय बिरामी बढेपछि हामीले दोस्रो वेभपछि हटाएका बेडहरू फेरि थपेका छौँ’, उनले भने ।

अस्पतालमा मंगलबारसम्म आईसीयूका सबै २४ बेड बिरामीले भरिएका छन् भने ४० बेड रहेको एचडीयूमा ३५ जना बिरामी छन् । यस्तै क्याबिन ९ जना र इमर्जेन्सीमा १२ जना बिरामी रहेको प्रवक्ता अधिकारीले जानकारी दिए । टेकु अस्पतालमा अहिले अक्सिजन चाहिने बिरामीलाई मात्रै भर्ना गर्ने गरिएको छ ।

तेस्रो लहरको सामना गर्न अस्पताल तयारी अवस्थामा रहेको अधिकारीको भनाइ छ । अस्पतालले अहिले थप अक्सिजन प्लान्ट पनि सञ्चालनमा ल्याएको छ ।

कोरोनाको तेस्रो लहरको सामना गर्न स्वास्थ्य मन्त्रालयले पनि तयारी थालेको छ । मन्त्रालयले आगामी २३ गतेदेखि २९ गतेसम्म स्थानीय तहमा मास्क वितरण गर्ने कार्यक्रम छ । यस्तै प्रत्येक प्रदेशमा कोभिड १९ कमाण्ड अस्पतालको अनुगमन र सुपरिवेक्षण गर्ने तथा भारतसँग्को सीमा क्षेत्रमा होल्डिङ सेन्टर स्थापना गर्ने कार्ययोजना छ ।

खोप केन्द्रबाटै कोरोना फैलियो, सरकारले जिम्मा लिनुपर्छ : विज्ञ

पछिल्लो समय कोरोनाविरुद्धको खोप केन्द्रहरूबाटै कोरोना फैलिन थालेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनी पछिल्लो समय खोप लगाएको ५/६ दिनमा नै ज्वरो आएको भन्दै बिरामीहरू आउन थालेको बताउँछन् । खोप केन्द्र र यसको प्रमाणपत्र वितरण गर्ने ठाउँहरूको भीडभाडले तेस्रो लहरको जोखिम बढाएको डा. मरासिनीको भनाइ छ ।

जनस्वास्थ्यविद्हरू डा. रविन्द्र पाण्डे पनि पछिल्लो समय खोप लगाउनासाथ कोरोना संक्रमण भएको केसहरू आउन थालेको बताउँछन् । डा. पाण्डेले भने, ‘खोप लगाएको ४/५ दिनमै कोरोना संक्रमण भएको केसहरू देखिन थालेका छन्, यो भनेको खोप केन्द्रबाटै सरेको हो ।’ खोप लगाउनलाई अहिले सरकारले अपनाइरहेको तरिका सही नभएको उनको बुझाइ छ । हरेक वडा, शिक्षण संस्था र अन्य निजी संघसस्थाहरूहरू सहकार्य गरेर खोप वितरण गरेको भए व्यवस्थित हुने डा. पाण्डे बताउँछन् ।

केन्द्रमा खोप थुप्रिने र स्थानीय लक्षित वर्गसम्म खोप नपुगेको भन्दै उनले नेपालमा आएको खोपको सही सदुपयोग गर्नुपर्ने बताए । सरकारको अव्यवस्थित कार्यशैलीका कारण लक्षितवर्ग खोप पाउनबाट वञ्चित भएको उनको भनाइ छ । ‘स्वास्थ्य मन्त्रालयले व्यवस्थापकीय कौशलता देखाउन खोप केन्द्रहरूको निरीक्षण र अनुगमन गर्नुपर्छ’, उनले भने ।

इपिडिमियिोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक तथा स्वास्थ्य विज्ञ डा. मरासिनी पनि पछिल्लो समय सरकार आफैँले कोरोना फैलाइरहेको बताउँछन् । उनी भन्छन्, ‘खोप केन्द्र र प्रमाणपत्रको भीड लगाएर सरकार आफैँले कोरोना फैलाइरहेको छ, यसको जिम्मा सरकारले लिनुपर्छ ।’

एउटा खोप लगाउन कति समय लाग्ने, एक जनाले दैनिक कति जनालाई खोप लगाइदिन सक्ने खोप केन्द्र र जनशक्तिको अवस्था के छ ? लगायतका विषयमा अध्ययन गरेर कार्यक्रम सञ्चालन गर्ने हो भने खासै ठूलो समस्या नहुने डा. मरासिनीको तर्क छ । टुँडिखेल र सानो गौचरणजस्ता ठाउँमा धेरै जना जनशक्ति परिचालन गरेर खोप अभियान सञ्चालन गर्न सकिने उनको भनाइ छ ।

खोप लगाएकै दिनमा यसको प्रमाणपत्र दिनुपर्ने भन्दै डा. मरासिनीले भने, ‘अहिलेजस्तो जथाभाबी प्रमाणपत्र वितरण गर्‍यो भने नेपालप्रति अर्को दुर्भाग्य निम्तिन सक्छ । विदेश गएर नेपालीले कोरोना फैलायो भने के हुन्छ ?’ अन्तर्राष्ट्रिय स्वास्थ्य विधान २००५ मा खोप लगाउने विषयमा विस्तृत विवरण उल्लेख भएको भन्दै उनले जनशक्ति करारमा लिएर भए पनि खोपको व्यवस्थापन सहज ढंगले गर्नुपर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?