रामचन्द्र पौडेल : गुट व्यवस्थापन गर्न नसके सभापति पद टाढै

नेपाली कांग्रेसको १४औं महाधिवेशन घोषणा भएदेखि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूको ‘म्याराथन बैठक’ जारी छ ।

मंगलबार पनि कांग्रेस नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा पौडेल पक्षका नेताहरूको बैठक बस्यो । बैठकमा क्रियाशील सदस्यता विवाद र आगामी महाधिवेशनका बारेमा छलफल भएको थियो । महाधिवेशन नजिकिँदै गर्दा कांग्रेस नेताहरू आ–आफ्नो राजनीतिक भविष्य पार्टीमा कसरी सुरक्षित राख्ने भन्ने दबाबमा छन् । कांग्रेसको १४औं महाधिवेशनमा पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर पक्ष र पौडेल पक्षका नेताहरूबीच को के–केमा उम्मेदवारी दिने भन्ने टुंगो लाग्न सकेको छैन ।

सभापतिमा देउवा दोहोरिन चाहेका छन् भने पौडेल पक्षबाट स्वयम् पौडेलले पनि सभापतिमा आकांक्षा देखाएका छन् ।

देउवा पक्षबाट पूर्वउपसभापति गोपालमान श्रेष्ठ र हालका उपसभापति विमलेन्द्र निधिले पनि सभापतिमा उठ्ने बताएका छन् भने पौडेल पक्षबाट पनि महामन्त्री डा. शशांक कोइराला, प्रकाशमान सिंह, डा. शेखर कोइराला, कल्याण गुरुङलगायतले पनि सभापतिमा उम्मेदवारी दिने बताएका छन् । तर दुवै पक्षबाट आधिकारिक रूपमा को उठ्ने भन्ने टुंगो छैन । आफ्ना समकक्षी देउवा पार्टी सभापति र प्रधानमन्त्री भइसक्दा पनि वरिष्ठ नेता पौडेल भने त्यहाँ पुग्न सकेका छैनन् ।

१५औं महाधिवेशनमा वर्ष ८१

कांग्रेसभित्र पौडेल सादगी र सरल नेता मानिन्छन् । समाजवादको व्याख्याता र निष्ठाको राजनीतिमा पौडेल सधैँ कांग्रेस नेता र कार्यकर्तामा लोकप्रिय छन् । प्रतिपक्षलाई जवाफ दिनुपर्दा पनि उनी गतिलैसँग दिने गर्छन् । तर कार्यकर्ताको संरक्षण गर्न नसक्ने, लाभको पदमा तत्कालै लोभ गरिहाल्ने भनेर पनि उनीमाथि आरोप छ ।

देउवा १३औं महाधिवेशनबाट सभापति बने । अहिले पाँचौ पटक प्रधानमन्त्री बनेर मुलुक हाँकिरहेका छन् । तर पौडेल भने तलै छन् । उनी पार्टी सभापति बन्ने ध्याउन्नमा छन् । तर उनकै गुट पनि व्यवस्थापन हुन सकेको छैन । को आधिकारिक उम्मेदवार बन्ने भन्ने टुंगो लाग्न सकेको छैन । पौडेल उमेरले अहिले ७७ वर्ष पुगेका छन् । २०७८ भदौमा हुने भनिएको १४औं महाधिवेशनमा सभापति बनेनन् भने उनका लागि सभापति पद टाढा हुनेछ । पौडेल १५औं महाधिवेशनमा उम्मेदवार हुने भए भने त्यो २०८२ सालपछि नै हुनेछ, त्यतिबेला पौडेल ८१ वर्ष पुग्नेछन् । त्यो उमेरमा पौडेलका लागि सभापति बन्ने सम्भावना निकै कम रहन्छ ।

पौडेल समूह : उपगुटको थुप्रो

वरिष्ठ नेता पौडेलको गुटमा अरु पनि उपगुट छन् ।  प्रकाशमानको गुट, शशांकको गुट, शेखरको गुट आदि । पौडेल गुटकै कल्याण गुरुङ पनि सभापतिका आकांक्षी छन् । पौडेलले गुट त बनाए तर व्यवस्थापन गर्न नै सकेका छैनन् । पौडेल आफैँ सभापतिको उम्मेदवारको आकांक्षी हुँदा प्रकाशमान, शशांक, अर्जुन नरसिंह केसी , डा. रामशरण महत,  शेखर र कल्याणले पनि आकांक्षा देखाएको अवस्थामा त्यसलाई व्यवस्थापन गरेर यो गुटको साझा उम्मेदवार को हो भन्ने टुंगो लगाउन धौधौ परेको छ ।

पौडेल पक्षका एक नेता भन्छन्, ‘महाधिवेशनको टुंगो छैन, यदि महाधिवेशन भदौमा हुने पक्का भएको खण्डमा हाम्रो पक्षको उम्मेदवार टुंगो लाग्छ ।’ तर उनले भनेजस्तो गुट व्यवस्थापनमा त्यति सजिलो भने छैन । सभापतिका अरु आकांक्षीलाई पौडेलले कसरी मिलाउँछन् त्यो नै महत्वपूर्ण हुन्छ । तर अरुले पौडेललाई छोड्ने सम्भावना निकै कम छ ।

‘डेन्जर जोन’ मा पौडेल

कांग्रेसमा अझै पनि सभापति एवं प्रधानमन्त्री देउवा गुट बलियो छ । देउवालाई चुनौती दिन पौडेल गुट एकजुट भएमा मात्रै सम्भव छ । नत्र सम्भव छैन । आगामी निर्वाचनमा देउवाले पौडेललाई प्रधानमन्त्रीमा अघि सारेर आफू सभापति मात्रै बन्ने सम्भावना निकै कम छ । देउवा सभापति र प्रधानमन्त्री दुवै आफैँ हुने दाउमा छन् । यदि कांग्रेसले बहुमत ल्याए वा ठूलो पार्टी बनेमा । देउवाले पौडेललाई सहज रूपमा प्रधानमन्त्री बन्न अघि सार्ने छैनन् । यस कारण पनि पौडेलको राजनीति जोखिममा छ ।

कांग्रेसका एक नेता भन्छन्, ‘अब पौडेलले अभिभावकीय भूमिका निभाएर वरिष्ठ नेताको पद छोडेर सर्वाेच्च नेता बन्नेतर्फ लाग्नुपर्छ । त्यसो भएमा उनलाई कांग्रेसले मात्रै होइन सबैले सम्मान गर्छन्, उहाँ राष्ट्रिय राजनीतिको केन्द्रमा रहनुहुन्छ ।’

गुण पनि दोष पनि

पौडेलका खास गुणहरू पनि छन् । उनी ७७ वर्षको उमेरमा पनि पार्टीमा खटेका छन् । कार्यकर्तालाई नामै सम्झेर बोलाउँछन् । राष्ट्रिय राजनीतिमा पनि सक्रिय छन् ।

कांग्रेस नेता कल्याण गुरुङ पौडेलको जीवनशैली सबैका लागि लोभलाग्दो र प्रेरणादायी रहेको बताउँछन् । गुरुङ भन्छन्, ‘उहाँमा पार्टीको नीति र सिद्धान्तको स्पष्ट रूपमा कार्यकर्तालाई बुझाउन सक्न्े क्षमता छ ।’ त्यसैले पौडेललाई इमान्दार कार्यकर्ताको साथ छ । कांग्रेसका संस्थापक वीपी कोइरालाले अघि सारेको नीति र सिद्धान्तमा पौडेल अडिग छन् ।

पौडेललाई कांग्रेसमा कार्यकर्ताको संरक्षण नगर्ने, सानो चित्त र सानो कुरामा पनि लोभ गर्ने, कसैमाथि पनि विश्वास नगरेर सबैलाई अविश्वासले दृष्टिले हेर्ने नेताका रूपमा लिइन्छ ।

नभए राष्ट्रपति !

विसं २००१ सालमा तनहुँको बाहुन पोखराको किसान परिवारमा जन्मिएका पौडेलले कांग्रेसमा लागेर राजनीति गर्दा जेलनेल भोगेका छन् । उनले १३ वर्ष जेलमा बिताएका छन् । नेपाल विद्यार्थी संघको संस्थापक सदस्य, निरन्तर केन्द्रीय सदस्य, पार्टीको महामन्त्री, उपसभापति र कार्यवाहक सभापति पनि बने ।

पौडेल २०४८ मा कृष्णप्रसाद भट्टराई प्रधानमन्त्री हुँदा शिक्षामन्त्री बनेका थिए । गिरिजाप्रसाद कोइरालाको पालामा उनी उपप्रधानमन्त्री बने, त्यसैगरी २०५१ मा सभामुख, २०५७ मा उपप्रधान तथा गृहमन्त्री, २०६३ मा शान्ति तथा पुनर्निर्माणमन्त्रीजस्ता लाभको पदमा पौडेलले बाजी मारेका छन् ।

२०६५ मा कांग्रेस संसदीय दलको नेता चुनिए पनि पौडेलको भाग्यमा प्रधानमन्त्री पद भने जुरेन । २०६७ मा प्रधानमन्त्री बन्न खोजेका पौडेलले १७औं पटकसम्म पराजय व्यहोरे । त्यस्तै २०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा सभापतिमा देउवासँग हारे । पौडेललाई राजनीतिमा लागेर अरु पद प्राप्त भए पनि पार्टी सभापति र प्रधानमन्त्रीको पद भने अहिलेसम्म प्राप्त हुन सकेको छैन ।

कतिपय उनका समकक्षीले पौडेलमा अरुका लागि भलो चिताउने गुण नभएकै कारण पछिल्लो समय उनी निकट रहेका कांग्रेस कार्यकर्ता उनलाई छोडेर अरु नेतातर्फ लागेका बताउँछन् । कतिपय नेताले पौडेललाई यदि आगामी निर्वाचनमा कांग्रेसले बहुमत ल्याएमा राष्ट्रपति बनाउन सकिने आकलन पनि गर्छन् ।

पार्टी सभापति वा प्रधानमन्त्री हुन नपाएको स्थितिमा राष्ट्रपति पद पौडेलका उपयुक्त हुन्छ । तर त्यो पनि अहिले अलि टाढा नै देखिन्छ । यसैले कांग्रेसको आगामी महाधिवेशनमै सभापति पद जित्न सके मात्र उनको राजनीतिक भविष्य हरियाली हुनेछ । यो पनि तत्काल त्यति सहज देखिँदैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?