पारस खड्का : क्याप्टेन, लिडर र लेजेन्ड पनि

काठमाडौं । अगस्ट ३, २०२१, नेपाली क्रिकेट तथा यसका समर्थकका लागि भावुक दिन बन्न पुगेको छ । करिब १७ वर्षसम्म नेपाली क्रिकेटको मेरुदण्ड बनेर बसेका पारस खड्काले आज अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने निर्णय गरेका छन्।

पछिल्लो समयमा नेपाली खेलकुदसम्बन्धी विभिन्न राम्रा नराम्रा कुराले सामाजिक सञ्जालमा हैकम मच्चाएको अवस्था छ । मंगलबार बिहान एकाएक सामाजिक सञ्जालमा अर्काे नेपाली खेलाडीको स्टाटस अपडेट भयो । तर यो स्टाटस राम्रो नराम्रोको तुलनाभन्दा धेरै पर र अप्रत्याशित थियो । नेपाली क्रिकेटका महारथी, नेपाली क्रिकेटका सबैभन्दा सफल तथा लामो समयसम्म कप्तान रहेका पारस खड्काले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने घोषणा गरेका रहेछन् ।

३३ वर्षीय पारसलाई कुन्नि के लागेछ, सायद नेपाली क्रिकेटलाई उनले दिन सक्ने सबै कुरा उनले दिइसकेको महसुस भएको हुनुपर्दछ । तर नेपाली क्रिकेटलाई पारस खड्काको देन कहिल्यै पनि पुग्नेछैन । नेपाली क्रिकेटको सुखदुःखका साथी मात्र होइनन् पारस, उनी नेपाली क्रिकेटको महानायक हुन् । नेपाली क्रिकेटले अर्काे पारस खड्का पाउनेछैन, उनको पूर्ति कसैले गर्न सक्दैन । उनको बयान शब्दमा गर्न सम्भव पनि छैन । उनी नेपाली क्रिकेटका लेजेन्ड हन् ।

सन् २००४ मा नेपाली क्रिकेटले विश्वसनीय राइट ह्यान्डेड ब्याट्सम्यान पायो । ब्याटिङमा सधैँजसो कमजोर मानिने नेपाली क्रिकेट टोलीको मिडल अर्डर सम्हाल्न आए पारस । सन् २००४, २००६ र २००८ मा गरी तीन वटा अन्डर-१९ वर्ल्ड कप खेलेका पारस राष्ट्रिय टोलीमा पनि नियमित पात्र बन्न सफल भइसकेका थिए । आफूलाई प्रमाणित गर्न उनलाई धेरै समय पनि लागेन । सायद हुने बिरुवाको चिल्लो पात भनेको यही नै हो ।

कसैले धेरै विधामा राम्रो काम गर्दा उसलाई अलराउन्डर भनिन्छ नि, पारस पनि अलराउन्डर हन् । उनले त्यो कुरा क्रिकेट मैदानमै देखाए । उनी एक विश्वसनीय ब्याट्सम्यान मात्र नभई एक उत्कृष्ट बलर पनि हुन सफल भए । उनको फिल्डिङ देख्दा लाग्थ्यो, नेपालमा पनि जोन्टी रोड्स छन् है । सन् २००९ देखि सन् २०१९ सम्म नेपालका कप्तान रहेका पारसले त्यस दौरानमा राष्ट्रिय टोलीको मेरुदण्डको भूमिका निर्वाह गरे ।

उनको कप्तानीमा नेपालले सन् २०१० मा आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–५ को उपाधि उचाल्न सफल भएको थियो । त्यहाँदेखि सुरु भएको हो नेपाली क्रिकेटको सुनौलो अध्याय । उनकै कप्तानीमा नेपालले सन् २०१२ मा मलेसियामा आयोजना भएको आईसीसी वर्ल्ड क्रिकेट डिभिजन–४ को उपाधि पनि जित्न सफल भएको थियो । त्यसै वर्ष यूएईमा आयोजना भएको एसीसी ट्रफी इलाइटको उपाधि पनि नेपालले नै उचाल्यो ।

सन् २०१३ पनि नेपाली क्रिकेटको लागि शानदार रहन पुग्यो । बर्मुडामा आयोजित आईसीसी वर्ल्ड क्रिकेट लिग डिभिजन–३ पनि पारसकै कप्तानीमा नेपालले जितेको थियो । सन् २०१४ त झन् नेपाली क्रिकेट इतिहासको लागि ऐतिहासिक वर्ष हुनपुग्यो । त्यो वर्ष नेपालले मलेसियामा आयोजित आईसीसी क्रिकेट लिग डिभिजन–३ उपाधि मात्र जितेन, बंगलादेशमा आयोजित आईसीसी वर्ल्ड टी–ट्वान्टी समेत खेल्यो । अन्ततः नेपालले आईसीसीबाट अन्तर्राष्ट्रिय टी–ट्वान्टी स्टाटस पनि पायो ।

नेपाली क्रिकेट इतिहासकै पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलको सुरुवाती ११ मा पनि पारस सामिल थिए । सन् २०१८ मा नेदरल्यान्ड्सविरुद्धको सो खेल नेपालले पारसकै कप्तानीमा खेलेको थियो । सन् २०१९ जानुवरी २८ मा पारसले युएईविरुद्धको अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा शतक प्रहार गरे । सन् २०१९ सेप्टेम्बर २८ मा उनले सिंगापुरविद्धको अन्तर्राष्ट्रिय टी–ट्वान्टी खेलमा पनि शतक प्रहार गरे । नेपाली क्रिकेटको लागि यो दुवै खेल ऐतिहासिक तथा अविस्मरणीय बन्न पुग्यो । पारसभन्दा पहिले कुनै पनि नेपाली ब्याट्सम्यानले अन्तर्राष्ट्रिय एकदिवसीय तथा टी–ट्वान्टी खेलमा शतक प्रहार गरेका थिएनन् ।

सिंगापुरविरुद्धको खेलमा उनको ब्याटबाट बनेको अविजित १०६ रनको योगदनले विश्व क्रिकेटमा अर्काे इतिहास रच्यो । लक्ष्य पछ्याउने क्रममा कुनै पनि देशको कप्तानले शतकीय पारी खेलेको त्यो पहिलो टी–ट्वान्टी खेल थियो । यसअघि विश्व क्रिकेटका धुरन्धर कप्तान महेन्द्र सिंह धोनी, विराट कोहली, एबी डेभिलियर्स, क्रिस गेलजस्ता खेलाडीले पनि यस्तो गर्न सकेका थिएनन् । त्यसबेला सबै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मिडियाको एउटै नारा थियो, ‘पारस इज द म्यान फर प्रेसर सिचुएसन’ ।

सन् २०१९ मा पारसले नेपाली क्रिकेटको कप्तानी छाडे । लामो समयदेखि नेपाली क्रिकेटका उपकप्तान भएर पारससँग साझेदारी गर्दै आएका ज्ञानेन्द्र मल्लले कप्तानी जिम्मेवारी सम्हाले । त्यसैबेला नेपाली समर्थकले अड्कल काटिसकेका थिए, पारसबाट सन्यासको दिन पनि छिट्टै आउन सक्छ, र त्यो भयो पनि । सन् २००२ मा नेपाल अण्डर-१५ उमेर समूहबाट सुरु भएको यात्रामा झण्डै दुई दशकपछि पूर्णविराम लागेको छ । नेपाली क्रिकेटका सुपरस्टारले आफ्नो पारी अन्त्य गर्ने निर्णय गरेका छन् ।

आज सारा नेपाल भावुक छ । अब नेपालले क्रिकेट खेल्दा जर्सी नम्बर ७७ मा पारस देखिने छैनन् । सायद जर्सी नम्बर ७७ नै देखिने छैन । नेपाली क्रिकेटले हिँड्न सिकेदेखि दौडिँदासम्मको सारथि बनेका पारसले ‘दिस इज इट’ भनेका छन् । किट ब्याग प्याक गरेका छन् ।

 

पारसको करियर तथ्याङ्कमा

ब्याटिङ तथा फिल्डिङ

बलिङ

धन्यवाद, पारस !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?