धितोपत्रमा बेथिति : भ्रष्ट नेतृत्वको बजार सिद्ध्याउने खेल

पछिल्लो समय गृहिणी, विद्यार्थी तथा साना–साना लगानीकर्ताको आम्दानीको आकर्षक केन्द्र बनेको सेयरबजार त्रसित बनेको छ । धितोपत्र बजारका उच्च अधिकारीहरू नै सेयरको कारोबारमा चलखेल गर्न तथा भ्रष्टाचारमा होमिएपछि पूरै धितोपत्र बजार नै त्रसित भएको हो ।

सेयर बजारका नियामक निकाय नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अध्यक्षहरू नै सेयरबजारमा भ्रष्टाचार र परिवार तथा आफन्तका नाममा सेयर खरिद प्रकरणमा मुछिएपछि सेयरबजार सिद्ध्याउन खोजिएको प्रस्ट भएको छ । साना–साना लगानीकर्ताले आम्दानीको मुख्य स्रोत बनाएको सेयरबजारमा नियामक निकायले नै यसरी सिद्ध्याउन खोजेपछि लगानीकर्तामा तनावको अवस्थामा सिर्जना भएको छ ।

पछिल्लो समय लगानीकर्ताहरू सेयरबजारमा लगानी गर्न नै डराएका छन् । भोलि आफ्नो लगानी डुब्ने पो हो कि ? भन्ने त्रास आम लगानीकर्तामा फैलिएको छ । ‘नेतृत्वले गरेको भ्रष्टाचार प्रमाणित भयो भने त्यसले बजार प्रभावित बनाउँछ ।’ नेपाल पुँजीबजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेलले भनिन्, ‘सेयर बजारका नेतृत्वहरूले गरेका यस्ता गतिविधिका कारण तत्काल असर नदेखिए पनि दीर्घकालीन रूपमा धेरै असर गर्छ ।’

 

केही समयअघि मात्रै धितोपत्र बोर्डले सर्वसाधारण लगानीकर्ताको लगानी जोखिममा भएको भन्दै गैरकानुनी रूपमा विभिन्न ५१ वटा कम्पनीको नाम सार्वजनिक गरेको थियो । साथै ती कम्पनीहरूलाई कारबाही समेत गर्ने जनाएको थियो । तर बोर्डकै नेतृत्व भ्रष्टाचारमा मुछिएपछि सेयरबजार त्रसित बनेको हो । यी ५१ वटा कम्पनीको गैरजिम्मेवारपूर्ण ढंगले नाम सार्वजनिक गरेको घटना सेलाउन नपाउँदै नेतृत्व नै भ्रष्टाचारमा मुछिएपछि लगानीकर्ता त्रसित बनेका हुन् ।

बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले १ अर्ब ३८ करोड रुपैयाँ भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरूपयोग अुनसन्धान आयोगमा उजुरी परेको थियो । उनले गत असार १ गते लगानीकर्ताको लगानी जोखिममा भएको भन्दै विभिन्न ५१ वटा कम्पनीहरूको नाम सार्वजनिक गरेका थिए । उनले ती कम्पनीहरूले लगानीकर्ताको लगानीमाथि खेलबाड गरेको भन्दै ती कम्पनीहरूलाई कारबाही गरिछाड्ने बताएका थिए ।

 

अध्यक्ष ढुंगानाले मोटो रकम कमिसन लिएर ती ५१ वटा कम्पनीहरूको नाम सार्वजनिक गरेको फेला परेको छ । उनले सेयरका ठूला लगानीकर्तासँग ३५ करोड रुपैयाँ उठाएको दाबी उजुरीमा गरिएको छ । त्यस्तै, अध्यक्ष ढुंगानाले ब्रोकर कम्पनीहरू प्रत्येकबाट २ करोडका दरले १ अर्ब रुपैयाँ कमिसन खाएका थिए ।

त्यस्तै, नेप्सेका सीईओ चन्द्रसिंह साउदले पनि पदीय मर्यादाको दुरूपयोग गरेको फेला परेको छ । उनले बुक बिल्डिङको माध्यमबाट आईपीओ ल्याउन लागेको सर्वोत्तम सिमेन्टको सेयर श्रीमतीको नाममा खरिद गरेको खुलेको छ । सीईओ साउदले श्रीमती शुसीलाकुमारी बोहराको नाममा १० हजार कित्ता सेयर खरिद गरेका थिए । त्यसका साथै सीईओ साउदले सिभिल लघुवित्तको ५ सय कित्ता सेयर खरिद गर्नलागेको खुलेको छ । सिभिलको प्रतिकित्ता ६ सय ४५ रुपैयाँको दरको सेयर लिलामी माध्ययमबाट किन्न लागेको खुलेको हो ।

 

बोर्डका अध्यक्ष ढुंगाना र नेप्सेका सीईओ साउद मात्रै होइनन्, आफ्ना परिवारका नाममा सेयर खरिद प्रकरणमा बोर्डका सदस्य रहेका उद्योग वाणिज्य महासंघका सदस्य चन्द्र ढकाल पनि मुछिएका छन् । त्यस्तै, महासंघअन्तर्गतको इन्भेष्टमेन्ट फोरमका अध्यक्ष रहेका अम्बिका पौडेल पनि यस प्रकरणमा मुछिएका छन् । यस विषयमा लोकपथले बुझ्न खोज्दा अध्यक्ष पौडेलले कुरै गर्न मानेनन् ।

नियामक निकायले गर्ने यस्ता गलत कार्य सेयरबजारका लागि सकारात्मक नभएको इन्भेष्टर्स फोरमका अध्यक्ष छोटेलाल रौनियार बताउँछन् । ‘अहिले सेयरबजारका विषयमा जे कुरा आएका छन्, ती बजारका लागि पटक्कै राम्रा होइनन् ।’ उनले भने, ‘यी विषयमा सेयरबजारका लागनीकर्ताहरू अन्योलमा परेका छन् ।’

पछिल्लो समय सेयरबजारमा भएका गतिविधिले तत्काल बजारमा असर नदेखिए पनि कालान्तरमा बजार ध्वस्त बनाउन सक्ने आकलन लगानीकर्ताको छ ।

अर्थको लाठी दुवैलाई

धितोपत्र बोर्डका अध्यक्ष ढुंगाना तथा नेप्सेका सीईओ साउद स्वयं भ्रष्टाचारमा मुछिएपछि अर्थ मन्त्रालयले स्पष्टीकरण समेत सोधेको छ । नियामक निकाय स्वयं भ्रष्ट भएपछि पुँजीबजार अव्यवस्थित हुने भन्दै अर्थ मन्त्रालयले बोर्ड तथा नेप्सेका प्रमुखलाई स्पष्टीकरण सोधेको हो । यस विषयमा अर्थ मन्त्रालयले छानबिन गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?