चाँगु म्युजियम : गौलोचनदेखि बन्चरो चट्याङसम्म (भिडियोसहित)

काठमाडौं उपत्यकाका सातवटा विश्व सम्पदामध्येका एक चाँगुनारायण मन्दिर, भक्तपुरको चाँगुनारायण नगरपालिकामा अवस्थित छ । नेपालको प्रसिद्ध तीर्थस्थल मानिने यो मन्दिर प्राचीन कलाले सुसजित छ । मन्दिरको कलात्मक संरचनाले त्यहाँ पुग्ने जो-कोहीलाई पनि चाँगुनारायणको इतिहास जान्ने चाहना हुन्छ।

आम सर्वसाधारणको यही चाहना र जिज्ञासा मेट्न विगत २१ वर्षदेखि क्रियाशील छन्, स्थानीय वैष्णभराज श्रेष्ठ । उनले आफ्नो एकल पहलमा सन् २००० देखि चाँगु म्युजियम सञ्चालन गरिरहेका छन् । किन त ? ‘गुनारायणको इतिहास बुझाउन मैले म्युजियम सञ्चालन गरेको हुँ ।’ उनले भने।

तर म्युजियममा चाँगुनारायणको इतिहास मात्रै छैन नेपालकै इतिहास समेट्ने कोसिस गरेका छन्, श्रेष्ठले । संग्रहालयमा ऐतिहासिक सम्पदा मात्रै होइन दुर्लभ सामग्रीहरु समेत सुरक्षित तवरले राखिएका छन्।

म्युजियम भएको यो घर श्रेष्ठकै हो । घरको सबै तलामा विभिन्न ऐतिहासिक सम्पदाहरु व्यवस्थित तरिकाले सजाएर राखिएका छन् । घरको पहिलो तलामा चाँगुनारायणको इतिहास र विभिन्न समयमा बजाइने बाजाहरु अवलोकन गर्न सकिन्छ।

यस्तै दोस्रो तलामा नेपालका दुर्लभ पैसाहरुको संकलन गरिएको छ । संग्रहालयमा विश्वकै सानो पैसादेखि नेपालका विभिन्न राजाहरुका पालामा आएका रुपैयाँ पैसाहरु पनि राखिएका छन् ।

यस्तै नेपालीको घरमा प्रयोग हुने हातहतियारदेखि लडाइँमा प्रयोग हुने हतियारसमेत अवलोकनको लागि व्यवस्था गरिएको छ। यस संग्रहालयमा तन्त्रमन्त्रका पुस्तकदेखि सयौं वर्ष पुरानो मार्सीधान समेत राखिएका छन्।

संग्रहालयमा दुर्लभ बञ्चरो चट्याङ, बज्र चट्याङदेखि अमूल्य गौलोचन समेत राखिएका छन् । यति मात्र होइन कछुवाको हड्डी, गैंडाको सिङ, कागले लेखेको अक्षर समेत देख्न पाइन्छ ।

संग्रहालयमा भएको अर्को महत्वपूर्ण वस्तु हो माटोले लेखेको थान्का, ताडपत्र, मृगको नाइटो र शदियौं पुरानो शंख । यी दुर्लभ र अमूल्य सम्पदा नियाल्न भने संग्रहालय नै पुग्नुपर्छ किनकि यी वस्तुहरु क्यामेरामा कैद गर्न मनाही छ ।

नेवार समुदायमा सबैभन्दा माथिल्लो तलालाई बुँइगल भनिन्छ । जहाँ भान्छाकोठा बनाउने चलन छ। भान्छा नजिकै देवता स्थापना गरी पूजा गर्ने परम्परा पनि छ । यो कोठामा भान्छामा प्रयोग हुने सामानहरु सजाइएको छ।

श्रेष्ठले संग्रहालय मात्रै संचालन गरेका छैनन् । संग्रहालय अवलोकनका लागि पुग्ने हरेक पर्यटकहरुको हरेक जिज्ञासा मेट्ने गरेका छन् । संग्रहालय अवलोकनका लागि पुगेका पर्यटकहरु आफ्नो सोचेभन्दा पुराना सामग्रीहरु देख्न र तिनको बारेमा जान्न पाएकोमा दंग छन् ।

ऐतिहासिक खुराकहरुको अध्ययन अवलोकनले सोचमग्न तपाईको मनलाई शीतलता दिनेछ कौसीमा बहने सिरसिर हावाले । यहाँबाट देखिने मनोरम दृश्यले जोकोहीलाई मोहित पार्छ।

यति मात्रै होइन विभिन्न कृषि औजार र मौलिक चित्रहरुको म्युजियम बनाउने तयारीमा छन्, श्रेष्ठ ।

कसरी पुग्ने ?

भक्तपुरको सूर्यविनायकबाट उत्तरतर्फ करिब ५ मिनेटको यात्रापछि पुगिन्छ देकोचा चोक । दायाबाया हरियाली धानखेत र रुखबिरुवा अनि बीचमा सडक । यिनै हरियाली दृश्यहरुलाई आँखामा कैद गर्दै करिब १० मिनेटको उकालो यात्रापछि पुगिन्छ, चाँगुनारायण बसपार्क।

बसपार्कबाट करिब २ मिनेटको पैदल यात्रापछि बाटोमा एउटा सानो बोर्डमा चाँगु म्युजियम लेखेको देखिन्छ । त्यहाँबाट दाँयातर्फ हेर्दा देखिन्छ टायलले छाएको चार तले कलात्मक घर । घरको भित्तामा सिक्का पैसाको प्रयोग गरि लेखिएको छ, चाँगु म्युजियम।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?