यातायातमा मौलाउँदो बेथिति : सवारीमा हरियो स्टिकरको तथ्यांक नै छैन

प्रदूषणरहित सवारीसाधनमा हरियो स्टिकर टाँस्ने काम प्रभावकारी रूपमा हुन सकिरहेको छैन ।

यातायात व्यवस्था विभागको ढिलासुस्ती र लापरवाहीका कारण हरियो स्टिकर टाँस्ने काम प्रभावकारी रूपमा हुन नसकेको हो । सरकारले प्रदूषणको मात्रा न्यूनीकरण गर्न सार्वजनिक र निजी सवारीसाधनलाई प्रदूषण जाँच गरी हरियो स्टिकर टाँस्ने काम सुरु गरेको थियो । सरकाले यस कार्यलाई तीव्रताका साथ अगाडि बढाउन राष्ट्रिय प्रदूषण मापदण्ड २०५६ समेत निर्माण गरेर प्रदूषणरहित सवारीसाधनमा हरियो स्टिकर लगाउने कामको सुरुवात गरेको थियोे ।

सरकारको सो व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र गुड्ने निजी तथा भाडाका सवारीसाधनहरूको प्रदूषण जाँच गरिँदै आइएको छ । जाँचमा पास हुने सवारीसाधनलाई हरियो स्टिकर दिइने र पास नहुने सवारीसाधनलाई प्रदूषण कम गर्न लगाइँदै आएको विभागले जनाएको छ । तर, रमाइलो कुरा त के छ भने अहिलेसम्म यातायात कार्यालयले कति सवारीसाधनहरूमा हरियो स्टिकर टाँस्यो तथा दैनिक रूपमा कति स्टिकर टाँस्दै आएको छ भन्ने कुराको तथ्यांक नै छैन ।

‘हामीसँग तपाईंलाई दिने ठ्याक्कै एकिन तथ्यांक छैन ।’ यातायात व्यवस्था विभागका प्राविधिक तर्फका निर्देशक रामचन्द्र पौडेलले भने  । ‘कार्यालयको तथ्यांक प्रणाली अनलाइनमा नगएकाले एकिन तथ्यांक निकाल्न समस्या भएको हो ।’ उनले भने, ‘तथ्यांक अझै पनि ढड्डा प्रणालीमै छ, त्यसो हुँदा समस्या भएको छ ।’

यातायात कार्यालयको यतिसम्म लापरवाही छ कि कार्यालयमा भएका सवारीसाधन जाँच गर्ने मेसिन पनि काम गर्ने अवस्थामा छैनन् । प्रदूषण जाँच्ने केही मेसिनहरू बिग्रिएर स्टोरमा थन्किएर बसे पनि बनाएर प्रयोग गर्ने चासो समेत नदेखाएको कार्यालय स्रोतले जनाएको छ । यातायात कार्यालयले चाह्यो भने सवारीसाधनमा टाँसिएको हरियो स्टिकरको तथ्यांक निकाल्न सक्ने भए पनि त्यसतर्फ कसैले चासो नदिएको स्रोत बताउँछ ।

वातावरण विभागले प्रदूषणको मात्रा बुझ्न एक अध्ययन समेत गरेको थियो । विभागको सो अध्ययनले काठमाडौँ उपत्यकामा वायु प्रदूषण हुनुमा कुन क्षेत्रको कति भूमिका छ भन्ने उल्लेख गरेको थियो । जसमा ४० प्रतिशत गाडी, १८ प्रतिशत कृषि र कृषिजन्य वस्तु तथा ११ प्रतिशत इँटाभट्टाबाट निस्कने धुवाँ र धुलोका कारण वायु प्रदूषण भएको निष्कर्ष निकालेको थियो ।

त्यस्तै, अर्काे रमाइलो कुरा भनेको प्रदूषण जाँच गरेर हरियो स्टिकर नलगाएका कति सवारीलाई कारबाही भयो भन्ने कुराको समेत तथ्यांक छैन यातायात कार्यालयसँग । उल्टै ट्राफिक प्रहरीलाई देखाउँदै  निर्देशक पौडेलले भने, ‘हरियो स्टिकर टाँसे\नटाँसेको ट्राफिक प्रहरीले हेर्छ ।’ ट्राफिक प्रहरीले अनुगमन गर्ने भएकाले यसको तथ्यांक उनीहरूसँग भएको दाबी यातायात कार्यालयको छ ।

उता ट्राफिक कार्यालयले भने सवारीसाधनमा हरियो स्टिकर टाँसे/नटाँसेको हेर्ने जिम्मा आफ्नो नभएको जनाएको छ । ‘त्यो काम हाम्रो होइन, यातायातको हो, त्यसैले हामीसँग कुनै तथ्यांक छैन ।’ ट्राफिक प्रहरी प्रवक्ता सञ्जिव शर्मा दासले लोकपथसँग भने । यस विषयमा यातायात विभाग तथा कार्यालयसँग कुनै समन्वयन समेत नभएको उनले प्रस्ट पारे ।

काठमाडौं उपत्यकामा प्रदूषणको मात्रा तीव्ररूपमा बढ्दै गएपछि त्यसको न्यूनीकरणका लागि सरकारले २० वर्ष पुराना सवारीसाधन हटाउने समेत निर्णय गरेको थियो । सरकारले २०७१ सालमा यस्तो निर्णय गर्दै पुराना सवारी जसले बढी प्रदूषण निकाल्ने काम गर्छ, त्यस्ता सवारी हटाउने निर्णय गरेको थियो । तर त्यस कार्यले पनि अझै पूर्णता पाउन सकेको छैन । सरकारले प्रदूषण कम गर्ने प्रयास गरिरहे पनि आम जनताले भने प्रदूषणमुक्त वातावरणको आभाष पाएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?