इनरुवा, २० चैत – सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ ।जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् ।स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्यालाई मध्यनजर गर्दै विकास निर्माणको कामलाई अगाडि बढाएपछि स्थानीयबासी खुशी भएको स्थानीय दनालाल यादवले बताए ।कोशी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष हीरालाल यादवले आफ्नो वडामा रहेका बाटोघाटोको समस्यालाई समाधान गर्नका लागि काम थालेपछि स्थानीय उत्साहित भएका हुन् ।अध्यक्ष यादवले आफ्नो पहल र प्रयासमा हीरालाल यादवको घरदेखि पूर्व र दक्षिण बौवालाल यादवको घरसम्म आरसिसी ढलान, राजदेवी एकेडेमीदेखि खुनियाधारसम्म माटो पुरी ग्राभेल गर्नुका साथै आसपासका विभिन्न सडकमा माटो पुरी ग्राभेललगायतका विकास निर्माणको काम शुरु गरेपछि स्थानीय उत्साहित भएका हुन् ।वडा कार्यालयले विकास निर्माण तथा बाटोघाटोका काम कतै शुरु गरेको छ भने कतै कामलाई तीव्रगतिमा अगाडि बढाइरहेको वडा कार्यालयका सचिव श्यामकिशोर मण्डलले जानकारी दिए । यसरी वडाध्यक्षले गरेको विकास निर्माणको कामलाई स्थानीयले स्वागत गरेका छन् ।कोशीका अग्निपीडितलाई राहतयसैबीच, सुनसरी कोशी गाउँपालिका–६ का अग्निपीडितलाई जिल्ला जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट सोमबार राहत रकम हस्तान्तरण गरिएको छ ।आइतबार भएको आगलागीमा परी घरबारविहीन भएका कोशी गाउँपालिका–६ का अग्निपीडित परिवारलाई सोमबार जिल्ला विपत् व्यवस्थापन समितिका तर्फबाट राहत रकम हस्तान्तरण गरिएको हो ।समितिले घर निर्माण गर्नका लागि प्रतिपरिवार रु १० हजारको दरले राहत रकम हस्तान्तरण गरेको जिल्ला विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिए ।त्यसैगरी, कोशी गाउँपालिका–६ ले समेत अग्निपीडित परिवारलाई राहत वितरण गरेको छ । वडा कार्यालयका तर्फबाट प्रतिपरिवार एकथान त्रिपाल, भुजा, चाउचाउ, च्युरालगायतका सामग्री वितरण गरेको वडाध्यक्ष इन्द्रदेव यादवले जानकारी दिए ।आइतबार मध्याह्न गहुँ दाउनी गर्ने क्रममा थ्रेसरबाट सल्केर भएको आगलागीमा नौ परिवारका १६ वटा घर जलेर नष्ट हुँदा करीब रु एक करोड बराबरको क्षति भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया