नदी कटानले फेरि बनायो सुकुम्बासी

धनगढी । साउनको ४ गते दिउँसो भजनी नगरपालिका–५, लालभोजीका ३७ वर्षीय आशाराम चौधरी घरभित्रका सामान निकाल्दै थिए । घर आँगनमै कान्द्रा नदी पस्न लागेपछि हतार–हतार कपडा, अन्नपात लगायतका सबै सामानहरु अरुको घरमा राखे ।

लगातारको वर्षाका कारण नदीले धार परिवर्तन गर्दा उनी बसेको जग्गानै कटान भयो । बसोबास गर्दै आएको जग्गा नदीले कटान गरेपछि अहिले उनी मामाको घरमा बसिरहेका छन् ।

 ‘आँखा अगाडिनै नदीले जग्गा काट्यो । अहिले त मामाको घरमा आश्रय लिएर बसेको छु । कति सामान सडकमै छन् । कति सामानहरु छिमेकीहरुका घरमा राखेको छु’, आशारामले भने, ‘बस्नका लागि दुई कठ्ठा जग्गा थियो । अब झण्डै चार धुरजति बच्यो होला । अब कहाँ बस्ने होला ? कान्द्रा नदीले फेरी मलाई सुकुम्वासी बनायो ।’

उनलाई २०४९ सालमा सुकुम्बासी आयोगले कित्ताकाटबाट सो जग्गा उपलब्ध गराएको थियो । आशारामको दुई भाइ, श्रीमती, छोरा छोरी र नाती नातिना सो घरमा बस्दै आएका थिए ।

उनको जग्गासँगै जोडिएको बाधुराम चौधरीको जग्गा पनि सोही दिन कटान गर्यो । नदी आफ्नै जग्गामा आएपछि उनको परिवार पनि अहिले आफन्तको घरमा बसिरहेका छन् ।

उनकी श्रीमती गीता चौधरीले भनिन्, ‘पाँच जनाको परिवार छ । भएको जग्गा कान्द्राले लग्यो । अहिले त माइत बसेको छु । कति दिन त्यतै बस्ने होला ।’ उनले बस्नका लागि अब जग्गाको व्यवस्था गर्नुपर्ने बताइन् ।

बाधुराम र आशाराम जस्तै गरी सो बस्तीका कोही न कोही कटानका कारण हरेक वर्ष विस्थापित हुनुपर्ने अवस्था छ ।

सोही बस्तीकी लक्ष्मी चौधरीले भनिन्, ‘कान्द्रा मेरो पनि घर आँगनमै पुगिसकेको छ । कुन दिन जग्गा काट्छ र उठीबास गराउँछ ।’ उनको घरभित्र २० जनाको परिवार सदस्य रहेको छ । घरको बाटो कान्द्रा नदीले कटान गरिरहेको थियो । उनले भनिन्,‘वर्षातको मौसम भरी राम्रोसँग सुत्दैनौं । बेला–बेला कान्द्रा नदीको बहाव हेर्न जान्छौं ।’

सो बस्तीका ६० भन्दा बढी घरपरिवारहरु कान्द्रा नदीको कटानले विस्थापित भइसकेका छन । लक्ष्मीले भनिन्, ‘तटबन्धन कटान भइरहेको क्षेत्रमा गर्दैनन् । सडक भएको क्षेत्रमा गर्छन ।’

आर्थिक वर्ष २०७६/७७ मा हुलाकी सडकलाई कटान हुनबाट रोक्नका लागि २५ लाख बजेट विनियोजन गरिएको थियो । तर, सो सडकमा तटबन्धन हुन सकेन ।

स्थानीय सत्तु चौधरीले भने,‘असारको अन्तिममा तटबन्धनका लागि बजेट दियो । त्यो पनि १० दिनमै काम सक्न भन्यो । त्यो रकम त्यसै फिर्ज भयो । हाम्रो बस्तीका लागि दिएको भए आज मेरो जग्गा बच्थ्यो ।’

लालभोजीका ६५ वर्षीय दरवारी डंगौराले किराना पसल चलाएर बसेका छन्। बर्सेनी भइरहेको कटानले गर्दा उनी उदास देखिन्छन् । आशाभन्दा बढी निराशा बनेका उनले भने, ‘यहाँका राजनीतिक दलनै राम्रा भएनन् । पटक–पटक हामीले तटबन्धनको माग गरेका छौं तर, कसैले पहल गरेनन् ।’ उनले नदीलाई देखाउँदै भने,‘हामीलाई कहाँ पुर्याउने हो अत्तोपत्तो छैन ।’

भगतपुर बस्तीमा पसल गर्दै आइरहेका विपदराम चौधरीले भने, ‘नदीको आवाज आयो भने उठेर बहाव हेर्छौ । थाली वा इसारा गरेर सबैलाई नदीबाट कटान हुन नदिन माटो ल्याएर समसम्याउँछौं ।’ उनलाई पनि कुन दिन नदीले सो बजार कटान गर्ने हो भन्ने चिन्ता थियो ।

उनले भने, ‘हाम्रा पीडा प्रधानमन्त्री, मन्त्री, सांसद, नेताहरु साथसाथै संघ/संस्थाहरुलाई भनेका छौं । डुबानका बेला अनुगमनमा आउँछन । आश्वासन दिन्छन तर, हाम्रा समस्या झन्ण् बढ्दै छ ।’

लालभोजीका ७० वर्षीय जोखराम चौधरीको २३ वर्षअघि कान्द्रा नदीले जग्गा कटान गर्‍यो । अहिले उनीसँग बसोबासका लागि दुई विघाह जग्गामात्र रहेको छ ।

नदीलाई देखाउँदै जोखरामले भने, ‘अहिले मेरो जग्गामा त पानी छैन । तर बालुवामा परिणत भइसकेको छ । त्यहाँ उब्जनी केही हुँदैन त्यसैले बालुवा उत्खननका लागि ठेक्कामा लगाउने गरेको छु ।’

उनले खनजोत गरेर धान उब्जनी गर्ने जग्गा बालुवामा परिणत भएको दुखेसो पोख्दै भने, ‘उब्जनी छैन । ठेक्काबाट एक लाखमात्र वार्षिक रकम आउँछ । यसले कसरी परिवार खर्च चलाउने ?’

उनले कान्द्राको कटान रोक्नका लागि गंगा पुजा, बोका बली लगायतका विभिन्न गतिविधि गरेको स्मरण गर्दै भने, ‘देउता रिसाएर होकी भनी विभिन्न पुजापाठ, भाकल लगायत गर्र्यौ तर, पनि कटान हुने क्रम रोकिएको छैन ।’

उनले कान्द्रा नदीले साविकको गाउँ विकास समितिको कार्यालय, छोटी भन्सार कार्यालय लगायतका कार्यालय, ठूलो बजार पनि विस्थापित गराएको सुनाए ।
भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीका अनुसार भजनी गरपालिकाको वडा नम्बर १, २, ३, ५, ६, ७ र ८ वडामा बर्सेनी बाढी तथा डुबानबाट प्रभावित हुने गरेको छ ।

नगर प्रमुख चौधरीले बाढी आउनुको मुख्य कारण नदीको सतह बढ्नु भए पनि भारतले सीमा नजिक बनाएका बाँधले कैलालीको पूर्वी क्षेत्र बढी डुबान हुने गरेको बताए । ‘भारतले एकलौटी रुपमा निर्माण गरेका बाँधका कारण नदीको बहाव थुनिएर हाम्रो जमिन डुबानमा पर्ने गरेको छ’, उनले भने ।

उनले कैलालीमा निर्माणाधीन ६२ किलोमिटर लामो हुलाकी सडकका कारण पनि भजनी नगरपालिकाको वडा नम्बर ३, ५ र ८ बढी प्रभावित हुने गरेको बताए ।

‘हुलाकी सडकले ड्यामको जस्तो काम गरेको छ’, नगर प्रमुख चौधरीले भने,’ यसले गर्दा बस्तीमा पानी पस्ने र हजारौं घर डुबानमा पर्ने गरेका छन्।’

नगर प्रमुख चौधरीले हरेक वर्ष हुने डुबानको समस्या कम गर्न संघीय सरकारले मोहना र कान्द्रा नदीमा ‘चेक ड्याम’ निर्माण गर्न आवश्यक रहेको बताए ।

उनले भने– नगरपालिकाको बजेटले तटबन्ध र चेकड्याम निर्माण गर्न सक्ने अवस्था छैन । संघीय सरकारले यसमा लगानी गर्न आवश्यक छ ।

‘अहिले कतिपय स्थानमा नगरपालिकाबाट पनि स–साना तटबन्ध बनाइएको छ। त्यसले केही हदसम्म कटान रोके पनि बाढी तथा डुबान भने नियन्त्रण हुन सकेको छैन’, उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?