बाघबारे अनौठा तथ्य : मानिस र बाघको द्वन्द्वदेखि भ्रम र यथार्थसम्म

विश्व बाघ दिवस

विश्व बाघ दिवस आज मनाइँदै छ । नेपालले विसं २०६७ देखि बाघ दिवस मनाउँदै आएको हो ।

नेपाललगायत विश्वका १३ देशमा पाटेबाघ पाइन्छ । विश्वमा बाघ पाइने १३ मुलुकका सरकार तथा राष्ट्र प्रमुखको सेन्टपिटर्सवर्ग सम्मेलनले बाघको संख्यालाई सन् २०२२ सम्ममा दोब्बर बनाउने प्रतिबद्धता गरेको थियो ।

हाल नेपालमा बाघको संख्या २ सय ३५ रहेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको तथ्यांक छ । चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा १६ वटा बाघ रहेका छन् ।

मन्त्रालयले गत वर्ष पछिल्लो राष्ट्रिय बाघ गणना २०१८ को नतिजा सार्वजनिक गरेको थियो । उक्त गणनाअनुुसार नेपालमा बाघको संख्या २ सय ३५ पुगेको छ । तीमध्ये चितवन राष्ट्रिय निकुञ्जमा ९३, बर्दिया राष्ट्रिय निकुञ्जमा ८७, बाँके राष्ट्रिय निकुञ्जमा २१, पर्सा राष्ट्रिय निकुञ्जमा १८ र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एवं मध्यवर्ती र आसपासका वन क्षेत्रमा १६ बाघ भेटिएका थिए ।

विभागले पर्सादेखि कञ्चनपुरसम्मको तराई क्षेत्रमा आधुनिक क्यामेराको प्रयोगले सन् २०१७ डिसेम्बर १ देखि सन् २०१८ अप्रिल ३ सम्म पछिल्लो बाघगणना गरेको थियो । नेपालमा बाघको संख्या सन् १९९५ मा ९८, सन् २००० मा १ सय ९, सन् २००५ मा १ सय २६, सन् २००९ मा १ सय २१, सन् २०१३ मा १ सय ९८ रहेको विभागको तथ्यांक छ । नेपालमा बाघ संरक्षणमा देखिएको सफलता र यसको संख्यामा भएको वृद्धिलाई विश्व समुदाय नै प्रशंसा गरेको छ ।

नेपालको तराई भू-परिधिक्षेत्रमा सर्वेक्षण गरिएको १६ हजार १ सय ६१ वर्गकिमि क्षेत्रमध्ये ११ हजार ५७ वर्ग किमि ९ सय ६८ प्रतिशतमा बाघको उपस्थिति रहेको देखिएको छ । बाघ पाइने संरक्षित क्षेत्रमध्ये ९८ प्रतिशत क्षेत्रमा बाघको उपस्थिति रहेको देखिएको छ । संरक्षित क्षेत्रभन्दा बाहिरको बाघ पाइने क्षेत्रमध्ये ६० प्रतिशत क्षेत्रमा मात्र सो प्रजातिको उपस्थिति रहेको तथ्यांकमा उल्लेख छ ।

बाघबारे केही भ्रम र यथार्थ : 

विश्वभर बाघको संख्या ३ हजार ८ सय ९० रहेको छ । सन् २०१६ को तथ्यांकअनुसार सबैभन्दा बढी भारतमा दुई हजार २ सय २६, सबैभन्दा कम लाओसमा बाघको संख्या दुई छ । इन्डोनेसिया, कम्बोडिया, चीन, थाइल्याण्ड, नेपाल, बंगलादेश, भारत, भुटान, भियतनाम, मलेसिया, म्यान्मा, रसिया र लाओसमा पाटेबाघ पाइन्छ ।

बर्दिया राष्ट्रिय निकुञ्ज कार्यालयका अनुसार निकुञ्ज र आसपासका वन क्षेत्रमा सन् २०१४ मा ५० वटा बाघ रहेकोमा सन् २०१८ मा यो संख्या वृद्धि भएर ८७ पुगेको छ ।

बाघका लागि आहारा र बस्ने ठाउँको व्यवस्थापनसँगै चोरीसिकारी नियन्त्रणमा आएकाले बाघको संख्यामा उल्लेख्य वृद्धि भएको बर्दिया राष्ट्रिय निकुञ्जका सूचना अधिकारी असिम थापाले बताए । थापाका अनुसार बर्दियामा गत आवमा ४ वटा बाघको मृत्यु भएको छ । जसमध्ये ३ वटाको प्राकृतिक मृत्यु भएको र एउटा बाघको भने पासोमा परेर मृत्यु भएको हो । बर्दियामा २०१८ को अनुसार ८७ वटा बाघ रहेका छन् । तर यसको संख्या अहिले बढेको उनी बताउँछन् ।

पछिल्लो समयमा बर्दियामा बाघको आक्रमणका घटना धेरै बढ्नुको कारणमध्ये एक निकुञ्जभित्र पर्ने सडक हो । हामीले जोखिम न्यूनीकरणका लागि बेलुकाको समय दुईपांग्रे सवारी निषेध गरेका छौँ र दिउँसो पनि दुईवटा गाडीको बीचमा मोटरसाइकलहरू पठाउने गरेका छौं ।

बाँके राष्ट्रिय निकुञ्जका वन्यजन्तु सडक दुर्घटनामा पर्ने जोखिम रहेको निकुञ्जले जनाएको छ । निकुञ्ज क्षेत्रमा पूर्व–पश्चिम राजमार्ग ७२ किलोमिटर र कोहलपुर बबई रत्न राजमार्गको ३० किलोमिटर छ । राजमार्गको दूरी लामो भएकाले राति सडक पार गर्ने क्रममा निकुञ्जका बाघलगायतका वन्यजन्तु सडक दुर्घटनामा पर्ने गरेका छन् ।

एक दशकअघिसम्म चोरीसिकारीबाट झण्डै लोप हुने अवस्थामा पुगेको बाघको संख्या पछिल्ला वर्षहरूमा उल्लेख्य बढेको छ । तर, केही वर्षमै बाघको संख्या दोब्बर बनाउने नेपालको प्रतिबद्धताले एउटा प्रश्न समेत उब्जाएको छ ।

एउटा बाघलाई आहारका लागि सातामा एउटा हरिण वा त्यत्रै आकारको जनावर चाहिन्छ । जसअनुसार २५० बाघका लागि वर्षमा कम्तीमा १२ हजार जनावर चाहिन्छ । चितवनमा बर्दियाभन्दा आहारको संख्या कम छ, त्यसैले संरक्षणविद्हरू चितवन राष्ट्रिय निकुञ्जले बाघको ठूलो संख्या थेग्नसक्नेमा आशंका व्यक्त गर्छन् ।

बाघले मानिसलाई किन आक्रमण गर्छ ? लोकपथको यो प्रश्नमा बाघ विशेषज्ञ डा. केपी आचार्य भन्छन्, ‘बाघ मांसाहारी जनावर हो । यदि मानिसहरू बाघको वासस्थान वरपर पुगे वा बाघ बस्ने ठाँउ अतिक्रमण गर्न खोजे भने बाघले आक्रमण गर्ने हो ।’

बाघ घाइते भएको अवस्थामा बाघको वरपर गएमा पनि उसले आक्रमण गर्छ । अर्को कुरा आफ्ना डमरुहरूसँगै भएको बेला बाघ स्वभावैले अलिबढी आक्रामक हुन्छ, जसका कारण आक्रमण गर्नसक्छ भन्दै बाघले प्राय वनभन्दा बाहिरै आएर आक्रमण नगर्ने उनले बताए ।

मानिसहरू विभिन्न प्रयोजनले वनमा प्रवेश गर्छन् । त्यो बेलामा बाघले आक्रमण गर्न सक्छ । कहिलेकाहिँ हामीले समाचारमा देखेसुनेको जस्तो बाघ गाउँ पसेर नै आक्रमण गर्नुको कारणचाहिँ आहाराको खोजी नै । यदि उसले सिकार पनि नपाएको अवस्था र उसलाई मानिसहरूले लखेटे, दुःख दिए, लछारपछार पार्न खोजेमा उसले आफ्नो जीवनरक्षाका लागि अरुलाई आक्रमण गर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?