‘म देउवासँगैको नेता हुँ, उनले मलाई सभापति दिएर काँध फेर्नुपर्छ’ (भिडियोसहित)

लोकपथ
9.3k
Shares

नेपाली कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ देखि १९ सम्म हुँदै छ । साउन १२ बाट हुने भनिएको वडा तहको अधिवेशन स्थगित भएकाले कांग्रेसको महाधिवेशन तोकिएको समयमै हुने कुरामा शंका पनि छ । कांग्रेस अहिले सत्तामा छ । सरकार र पार्टीका कामका प्राथमिकता के–के हुनुपर्छ ? यी यस्तै विषयमा केन्द्रित रहेर लोकपथका लागि रामेश्वर सापकोटाले पूर्वउपप्रधानमन्त्री एवं कांग्रेसका पूर्वउपसभापति गोपालमान श्रेष्ठसँग गरेको कुराकानीको सम्पादित अंशः

कांग्रेसको महाधिवेशन तोकिएकै समयमा होला ? पछिल्ला घटनाक्रमले त संशय पैदा गरायो, साउन १२ बाट हुने भनिएको वडा अधिवेशन नै स्थगित भयो त !

महाधिवेशन समयमै गर्ने भनेर प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले प्रतिबद्वता व्यक्त गरिसक्नुभएको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पनि समयमै महाधिवेशन हुनुपर्छ भन्नेमै हुनुहुन्छ । तर पनि कोरोना संक्रमण बढ्दो छ । बर्खाको समय भएकोले बाढी, पहिरो अनि डुबानको जोखिम त्यत्तिकै छ । क्रियाशील सदस्यता विवाद समाधान गर्न पनि नेताहरू मिहिनेत गरिरहेका छन् समाधान भने भइसकेको छैन । त्यसकारण महाधिवेशन तोकिएकै समयमा हुन्छ भन्नेमा आशंकाचाहिँ छ ।

महाधिवेशन भएन भने त कांग्रेसलाई संवैधानिक संकट पनि आइलाग्ला, आगामी भदौभित्र महाधिवेशन गर्नुपर्ने संवैधानिक बाध्यता छैन र ?

त्यस्तो केही हुँदैन । सर्वाेच्च अदालतले समेत लकडाउन र निषेधाज्ञाको कोरोना काललाई शून्य समय मानेको हुनाले त्यसलाई आधार मानेर महाधिवेशन केही महिना यताउता हुँदा फरक पर्दैन । यो विशेष परिस्थिति हो । कोरोना महामारी भन्ने कुरा त हामीले निम्त्याएको होइन नि ।

कांग्रेसको क्रियाशील सदस्यताबारे किन यति धेरै विवाद अनि विवाद टुंग्याउन पनि महाभारत ? कोही पार्टी कार्यालय सानेपामा अनशन बसेका छन् । कसैले सदस्यताबारे असन्तुष्टि पोखेका छन्, समस्या के हो ?

सबैको उद्देश्य मेरोजस्तो हुँदैन । मेरो जिल्ला स्याङ्जामा त केही पनि विवाद छैन । कसैले कसैलाई महाधिवेशनमा हराउनुपर्छ भनेर बदमासी गर्ने उद्देश्य राखेर पनि समस्या खडा गर्छन् । त्यसका लागि क्रियाशील विवाद समाधान गर्ने छानबिन समितिले काम गरिरहेको छ । त्यसमा हामीले सहमतिका लागि मापदण्ड बनाएका छौँ ।
प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले सभापतिमा फेरि जित्नका लागि आफूअनुकूल क्रियाशील बाँड्न लागेको भन्ने आरोप छ । तपाईं पनि देउवा पक्षकै नेता हुनुहुन्छ, के हो खास कुरा ?

त्यो होइन, देउवाबाट त्यस्तो काम भएकै छैन । म त गुटभन्दा माथि उठ्न चाहेको व्यक्ति हुँ । तर कुरा केचाहिँ हो भने देउवालाई १३औँ महाधिवेशनमा बहुमतका साथ सभापतिमा जित्ने अवसर मिल्यो । देउवाले त्यसको सदुपयोगचाहिँ गर्न सक्नुभएन । अनि हार्ने पक्षबाट पनि देउवालाई भागवण्डा खोजेर काम गर्न दिइएन ।

तपाईं पनि सभापतिमा उठ्छु भन्नुभएको छ । यो अन्य कुनै पदका लागि बार्गेनिङ मात्रै हो कि ?
त्यस्ता कुरा गर्नेले मलाई नबुझेका हुन् । देउवालाई १०औँ देखि १३औँ महाधिवेशनसम्म आफूले सकेसम्म सहयोग गरेँ। यसअघि म कहिल्यै सभापतिको उम्मेदवार बनिनँ । अब त मेरो पालो आयो नि । १४औँ महाधिवेशनपछि म फेरि उम्मेदवार नबन्न पनि सक्छु । मलाई सर्वसम्मत सभापति बनाइयोस् भन्ने पक्षमा छु ।

सभापतिमा जित्ने आधार तपाईंसँग के ? तपाईं देउवा गुटको मान्छे, यही गुटबाट अहिलेका उपसभापति विमलेन्द्र निधि पनि सभापतिमा उठ्दै छन् ।

मेरो जित्ने आधार भनेको मुलुकभरका कांग्रेसका नेता कार्यकर्ता हुन् । देउवापछि त मै हो नि । म देउवासँगैको नेता हुँ । देउवाले मलाई सभापति दिएर काँध फेर्नुपर्छ । देउवाले मलाई सधैँ झोला बोक भन्नुभएन नि ! रामचन्द्रजीले पनि मलाई सहयोग गर्नुपर्छ । विमलेन्द्रले त १५औँ महाधिवेशनमा उठे भैहाल्यो नि । देउवा अहिले मुलुकको प्रधानमन्त्री, एउटै व्यक्तिले प्रधानमन्त्री र पार्टी सभापतिको जिम्मेवारी धान्न सक्दैन । देवाले मैले छोड्नुपर्दा तपाईं नै हो सभापति भनेर भनिसक्नुभएको छ ।

शेरबहादुर देउवा नेतृत्वमा रहेको कांग्रेसको कसरी मूल्यांकन गर्नुहुन्छ ? छातीमा हात राखेर भन्नुस् न ।

देउवालाई कमीकमजोरी सच्याउने मौका छ । उहाँ महाधिवेशन नभएसम्म सभापति नै हुनुहुन्छ । आफ्नो सभापतिकालमा केही कमीकमजोरी भए उहाँले सच्याउनुपर्छ । देशको जटिल अवस्थामा प्रधानमन्त्री भएकाले उहाँले गर्नुपर्ने काम धेरै छन् । त्यसैले उहाँले त्यतातिर ध्यान दिनुपर्छ ।

प्रसङ्ग बदलौँ, तपाईंहरू वीपी कोइरालाको आदर्श र सिद्धान्त मान्ने नेता हुनुहुन्छ, वीपीले त कहिले पनि कम्युनिस्टसँग गठबन्धन बनाउन रुचाउनुभएन । यसपटक त तपाईंहरूले एमाले वरिष्ठ नेता माधव नेपाल, माओवादी केन्द्र र जनमोर्चासहित तीनवटा कम्युनिस्ट घटकसँग मिलेर सरकार बनाउनुभयो त !

वीपी कोइरालाको पालामा परिस्थिति फरक थियो । उहाँले कम्युनिस्टसँग सहकार्य गर्न हुँदैन भनेर भन्नुभएको छैन । उहाँको मेलमिलापको सन्देश नै आवश्यकताअनुसार सबै मिलेर जानुपर्छ भन्ने हो । २०४६ मा पनि कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहको नेतृत्वमा कम्युनिस्टसहितको गठबन्धनका कारण नै पुनः प्रजातन्त्र प्राप्त भयो । अहिले पनि राष्ट्रिय एकताका लागि हामी एकठाउँमा आएका हौँ । यो परिस्थितिको उपज हो । यो राष्ट्रिय सरकार हो ।

यो गठबन्धन चुनावसम्मै हो कि के हो ?

आवश्यकता पर्दा हामी सँगै अघि बढ्दछौँ । केपी शर्मा ओलीले पटक–पटक प्रतिनिधिसभा विघटन गरेपछि हामी त्यसविरुद्ध एकजुट भयौँ । यो संविधानको धारा ७६ को उपधारा ५ को सरकार हो । हामी मिलेर जान्छौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको पनि ठूलो साथ र सहयोग छ । अर्का अध्यक्ष महन्थ ठाकुरले पनि हामीलाई विश्वासको मत दिनुभएको छ ।

चुनावमा कसरी जानुहुन्छ, कम्युनिस्टहरू बिग्रिए हामीलाई मत देऊ भन्नुहुछ कि अरु केही एजेन्डा छन् कांग्रेससँग ?

हामीसँग धेरै एजेन्डा छन् । कांग्रेस सधैँ नेपाली जनताको पक्षमा लड्दै आएको पार्टी हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?