श्रीमान् र छोरा गुमाएपछि सुरु भयो कमलाको दुःख : मकै बेचेर मुस्किलले चल्छ गुजारा

बेलुकाको करिब साढे सात बजेको हुँदो हो । बर्खाको समय । अँध्यारोले आफ्नो आधिपत्य जमाउँदै थियो । मानिसहरू आफ्नो बासस्थानतर्फ लम्किरहेका छन् । सिमसिम वर्षा हुँदै छ । सडकमा छाडा छोडिएका गाइवस्तु चिसोबाट बच्नको लागि सटरको छेउ खोजिरहेका जस्तो देखिन्थ्यो ।

पानी प-यो अब घर जान्छु भन्ने छुट छैन उनीसँग । दिनभरजस्तो परेको पानी र उखरमाउलो घामका कारण घरी पसिनाले लपक्कै त घरी पानीले निथु्रक्कै हुन्छिन् उनी । तर बेलुकाको छाक कसरी टार्ने भन्ने तनावमा रहेकोले उनलाई यी कुराको पर्बाह छैन । उनले बाटोछेउमा पोलेको मकै बिक्री भए मात्र बेलुकी उनको पेट भरिन्छ । यो उनको विवशता हो ।

साँझको समय, एकातिर पानी परिरहेको छ, अर्कातिर ठाउँसम्म पु-याएको सामान बेचिसक्ने बाध्यता । उनी आगो फुकिरहेकी छिन् । मधुरो उज्यालोमा उनको आधा शरीर पानीले र आधा पसिनाले भिजेको प्रस्ट देखिन्छ । भुंग्रोमा मकै घुमाइरहेकी छिन् । लाग्छ मकैसँगै आफू पनि घुमिरहेकी छिन् । मकै पोलिसकेर खोस्टामा बेरेपछि उनका नजर यताउता घुम्छन् । कसैले एक पुड्को मकै किनिदिन्छन् कि भन्ने आशामा फ्याँकिएका उनका आँखामा निकैबेर निराशा छाइरह्यो ।

हातमुख चाउरी परेका, उमेरले ६० काटिसकेजस्तो देखिन्थिन् उनी । एकछिन नियाल्दा उनलाई जिम्मेवारीको भारीले ढपक्कै ढाकेको बुझ्न कठिन छैन ।
नाम : कमला माझी
उमेर : ५६ वर्ष
स्थायी ठेगाना : उदयपुर, जलजले ।

‘बेलुकाको छाक यही मकै बेचेर आएको पैसाले चलाउँछौ नानी !’ उनले नजिकै उभिएकी छोरीलाई हेर्दै भनिन् ।

No description available.

घरीघरी तन्किँदै यताउता ग्राहक खोज्न नजर ठोक्काउँदै कुरा सुरु गरिन् उनले । ‘बर्खाको समय, मकै पोल्दापौल्दै पानीले सबै आगो निभाइदिन्छ’ छेउमा भएको बिरकेटबाट मकै निकालेर नङ्ग्याउँदै उनले दुःखको पोको फुकाइन् ।

उदयपुर, जलजलेकी स्थायी बासिन्दा उनी हाल भक्तपुरको रामनगरमा बस्छिन् । उमेर ५५/५६ हो कि ! उनले अनुमान गरिन् । ‘मेरो ५ जनाको परिवार थियो तर अहिले हामी दुई आमाछोरी मात्र बस्छाँै । एउटी छोरीको बिहे भइसक्यो । कान्छी छोरी मसँगै छे ।

‘श्रीमान्को ८ वर्षअघि नै निधन भयो । दमको रोग थियो । उहाँको उपचार गर्दागर्दै हामी गरिब भयौँ ।’ उनको आँखामा आँसु टिलपिलाउँदै थिए । भएको जायजेथा र सम्पत्ति उहाँकै उपचारको लागि खर्च ग¥यौँ तर उहाँ रहनुभएन । न ज्यान बच्यो न त सम्पत्ति नै ।’ उनले आँसु रोक्न सकिनन् ।

No description available.
आफू र परिवारकै भरोसा आफ्नो जीवनसाथी गुमाउनुपरेपछि उनकै काँधमा सम्पूर्ण जिम्मेवारी आइलागेको छ । खाने, बस्ने र छोरीको पढाइ खर्च समेत उनको एक्लो काँधमा आइपरेपछि भोक मेट्न भए पनि केही गर्नुपर्छ भनेर उनले मकै पोलेर बेच्ने थालिन् ।

कमला माझीले मकै पोलेर बेच्न थालेको पोहोरको लकडाउनपछि हो । त्योभन्दा पहिला कहिले तरकारी बेचेर त कहिले अरुको घरको काम गर्दै जीवन चलाउँदै आएकी थिइन् । ‘अहिले त छोरीको पनि काम छैन । जसोतसो गरेर १२ कक्षासम्म पढाएँ । नतिजा पनि राम्रै आयो तर स्नातक तह पढाउने खर्च नभएर कलेज भर्ना गरेको छैन । एउटा छोरो थियो, श्रीमान्को मृत्युपछि बुढेसकालको साहारा बन्छ भन्ने आश थियो । तर त्यो पनि २ वर्षअघि नै दैवले खोसिदिए’ उनले भनिन् ।

२४ वर्षको उमेरमा उनको छोराको क्यान्सर भएर मृत्यु भएको रहेछ । ‘सामान्य पेटको रोग थियो, समय बित्दै गयो । हामीसँग पैसा थिएन । चाहेर पनि केही गर्न सकेनौँ, उसलाई त अल्सर भएछ । अल्सरबाट क्यान्सर । त्यसले नै मेरो छोराको ज्यान लियो । त्यही एउटा साहारा पनि हराएर गयो ।’ फेरि उनको आँखामा आँशु भरिए । उनलाई लाग्छ, आफूसँगै छोरीलाई पनि यो सबै कुराले नकरात्मक असर गरिरहेको छ । उनी थपिछन्, ‘न उसले आफ्नो इच्छा पूरा गर्न सकेकी छे न त पढ्न नै पाएकी छे ।’ छोरीको भविष्यको चिन्ताले धेरै रात अनिदो बिताएको उनले बताइन् ।

No description available.

सिमसिम पानी परिरहेकै छ । सडकमा सवारीसाधन पातलिँदै छन् । साँझ अँधेरी रातमा परिणत हुँदै छ । वरिपरिका सटरहरू बन्द हुने क्रममा छन् । फाट्टफुट्ट मान्छे आएर मकै पोलिदिन अनुरोध गर्दै छन् ।
‘गाउँबाट ल्याएर थोरै मार्जिन राखेर मकै बेच्ने गरेका छौँ । एउटा मकैबाट ४÷५ रुपैयाँ आउँछ ।’ उनले एक दिनमा साँवा राखेर तीनदेखि चार सयसम्म आम्दानी हुनेगरेको बताइन् । उनले सुनाइन्, ‘कृश्चियन धर्म मानेका कारण चर्चबाट ३ महिनाको लागि भनेर कोठा खोजिदिएका थिए ।

अब यो महिनाबाट कहाँ बस्ने, के गर्ने केही थाहा छैन ।’ छोरा बिरामी भएको कारणले २ वर्षसम्म उनले काम पनि गर्न पाएकी थिइनन् । अस्पताल धाउँदाधाउँदै श्रीमान्को मृत्युपछि रहेको जायजेथा पनि सकियो । उनी थप्छिन्, ‘अहिले आमाछोरीको भोक मेटाउने र घरखर्चको काम यही मकै बेचेर नै टार्दै छौँ ।’

No description available.
श्रीमान्को साथ जीवनभरको लागि छुट्नु र आफूले दुःख गरेर हुर्काएको सन्तान गुमाउनुको पीडाले उनी बेलाबेला बेसुरका कुरा समेत गर्छिन् । आफू र एउटी छोरीको भोक मेटाउन कमलाले गरेको संघर्षको कथा कहाँ गएर फूल्ने हो कि यसै ओइलाउने हो थाहा छैन । हामी यति भन्न सक्छौँ– कमलाको जिन्दगीमा घाम लागोस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?