काठमाडौँ, १८ चैत – नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काँग्रेस नेता खुमबहादुर खड्काको निधन मुलुकको राजनीतिकै लागि क्षति भएको बताउनुभएको छ ।दिवंगत नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले नेताको खड्काको असमायिक निधनले काँग्रेसलाई मात्र नभई देशलाई नै ठूलो क्षति बताउनुभयो । सभापति देउवाले भन्नुभयो, “नेता खड्का काँग्रेसको महान् योद्धा र देशको महान् सपूत हो । उहाँले प्रजातन्त्रका लागि आजीवन संघर्ष गर्नुभयो ।” सभापति देउवाले यस दुःखद् घडीमा नेता खड्काको आत्माले शान्ति पाओस् भन्दै परिवारजनमा समवेदना व्यक्त गर्नुभयो ।पार्टी केन्द्रीय सदस्य, पूर्वमहामन्त्री तथा पूर्वमन्त्री खड्काको उपचारका क्रममा शुक्रबार भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा ६७ वर्षको उमेरमा निधन भएको थियो । उहाँ मिर्गौला र छातीको संक्रमणबाट पीडित हुनुहुन्थ्यो ।उहाँको पार्थिव शरीरलाई शनिबार राति नेपाल ल्याई ललितपुर, सानेपास्थित उहाँकै निवासमा राखिएको छ । उहाँको पार्थिव शरीरलाई आज दिउँसो ३ बजेदेखि ४ बजेसम्म श्रद्धाञ्जलिका लागि पार्टी केन्द्रीय कार्यालय सानेपामा राखिएको थियो ।काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले नेता खड्काप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँ नेपालको लकेतान्त्रिक आन्दोलनको सबल योद्धा र काँग्रेसको लागि सशक्त खम्बाका रुपमा रहनुभएको बताउनुभयो ।“उहाँबाट युवाले ठूलो प्रेरणा पाएका थिए, उहाँको निधन काँग्रेसको लागि मात्र होइन मुलकको लोकतान्त्रिक आन्दोलनका लागि अपूरणीय क्षति हो”–वरिष्ठ नेता पौडेलले भन्नुभयो । नेता खड्काको अनुपस्थितिको अभाव र रिक्तता सधैँ खड्किने बताउँदै वरिष्ठ नेता पौडेलले उहाँको सपना साकार पार्न अघि बढ्न सबैलाई आग्रह गर्नुभयो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया