महामहिम ओलीदेखि व्यवस्थासम्मलाई दोष !

appharu
130
Shares

काठमाडौं । पुष्पलालको ४३ औँ स्मृति दिवसका अवसरमा एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहदेखि नेत्र विक्रम चन्दको पार्टीका नेताले एउटै मञ्चबाट सम्बोधन गरेका छन् ।

शुक्रबार पुष्पलाल ४३ र्औ स्मृतिका दिवसका अवसरमा पुष्पलाल मित्रता केन्द्रीय कमिटीले आयोजना गरेको कार्यक्रमलाई एमालेका वरिष्ठ नेता नेपाल, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा क्रान्तिकारीका महासचिव मोहन वैध, माओवादीका गणेश साहदेखि विप्लव नेतृत्वको नेकपाका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलासम्मले सम्बोधन गरेका हुन्।

उक्त मञ्चमा केपी शर्मा ओली महामहिम बनेकोदेखि मुलुकले अंगिकार गरेको व्यवस्थासम्मलाई दोष लगाइएको छ । एमालेका वरिष्ठ नेता नेपालले १ सय २१ ठाउँमा जितेको एमाले घट्दा–घट्दा ८३ सांसदमा झरेको बताए ।

साथै पार्टीभित्रको अन्तरविरोधको मूल कारण खोज्न अध्यक्ष ओलीलाई सुझाव समेत दिन भ्याए । अन्तरविरोध कायमै रहेमा पार्टी अझै कति तल झर्छ भन्ने यकिन नभएको उनको भनाइ छ । एमालेको अन्तरविरोध पदको लडाइ नभएको भन्दै नेता नेपालले वैचारिक मान्यता र विचारसँग सम्बन्धित भएको बताए ।

नेता नेपालले भने–‘जसले आफ्नो घर सम्हाल्न सक्दैन, जसले आफ्नो पार्टीलाई व्यवस्थित गर्न सक्दैन । पार्टीको अन्तरविरोध ठीक पहिचान गर्न सक्दैन अनि त्यसले समाजको अन्तरविरोध के समाधान गर्न सक्ला ? पार्टीको अन्तरविरोधको मूल कारण खोजी गर्नुहोस् । यो अन्तरविरोध पद र प्रतिष्ठाको लडाइ होइन ।’

महामहिम ओली

वरिष्ठ नेता नेपालले एमाले अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी ओलीलाई महामहिमको संज्ञा दिएका छन् । अध्यक्ष ओलीले केन्द्रीय कमिटी बैठकमा दिएको अभिव्यक्तितर्फ लक्षित गर्दै नेता नेपाललले त्यस्तो बताएका हुन् । बिहीबार केन्द्रीय कमिटीको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेपाल पक्ष सच्चिएर आए आममाफी दिने बताएका थिए ।

‘हिजो महामहिम श्री ५ महाराजधिराजबाट अभिव्यक्ति आयो, माधव नेपाल लगायत माननीय सदस्यहरुलाई जति पनि स्पष्टीकरण गरिएको छ । त्यसलाई आममाफी दिइन्छ । एमनेस्टी इज ग्रान्टेड ।’–वरिष्ठ नेता नेपालले भने–‘हामी गद्गद भयौं । महाराजधिराज कति खुशी भएछन् । हामीलाई आममाफी मिलेछ । स्पष्टीकरण सोध्नु गल्ती थियो भन्नुपर्नेमा आममाफी दिएको भन्ने । स्पष्टिकरण सोध्न हतार गरे भनेको भए के उचाइ घट्ने थियो र ? ।

पाँच गठबन्धनका कारण व्यवस्था जोगियो
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले पाँच दलको गठबन्धनले संविधान र संसद् जोगाएको बताएका छन् । अहिलेको संविधान जोगिएकाले आगामी दिनमा संशोधन गरेर अझै उत्कृष्ट संविधान बनाउनुपर्नेमा उनको जोड छ । अध्यक्ष केसीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको सरकारले विचित्रको काम गरेको आरोप समेत लगाए । जनता कोरोनाबाट बच्न खोप माग गरिरहेको अवस्थामा तत्कालीन ओली नेतृत्वको सरकारले भोट मागिरहेको उनको भनाइ छ । ‘संसद् कम्तीमा पनि १८ महिना बच्ने भयो, यो फैसला हामीलाई स्वीकार्य छ । तर राष्ट्रपतिको भूमिका अलोकतान्त्रिक देखिन्छ’–उनले भने–‘केपी ओलीको सरकारले विचित्रकै काम गरेको छ । जनता खोप मागिरहेको बेला सरकारले भोट भनिरह्यो ।’

कम्युनिष्ट आन्दोलनबाट आशिंक उपलब्धी
नेकपा क्रान्तिकारीका महासचिव मोहन वैद्यले नेपाली कम्युनिष्ट आन्दोलनले पूर्ण रुपमा उपलब्धि हात पार्न नसकेको बताएका छन् । कम्युनिष्ट आन्दोलनका कारण मुलुकमा संघीयता, लोकतन्त्र र धर्मनिरपेक्षता जस्ता आशिंक उपलब्धि हासिल भए पनि पूर्णरुपमा हात पर्न नसकेको उनको भनाइ छ । समाजमा परिवर्तन देखिए पनि राज्यसत्तामा अनुभूति गर्न नपाइएको उनले बताए ।

व्यवस्था नै दोषी
नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सचिवालय सदस्य धमेन्द्र बास्तोलाले व्यवस्थाकै कारण मुलुकमा भ्रष्टाचार मौलाएको बताए । जनमोचाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार गर्न नसकेका कारण नै लाभको पद हासिल गर्न नसकेको उनको भनाइ छ । उनले भने–‘जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले भ्रष्टाचार गर्न सक्नुभएन । त्यसैले दुधबाट झिँगा फाले जसरी फालिनुभयो । अन्य मुलकमा भ्रष्टाचारीलाई कारबाही गरेर फालिन्छ । हाम्रो देशमा भ्रष्टाचारीलाई कारबाही गर्न खोज्यो भने सरकार फालिन्छ । यो व्यवस्था कै दोष हो ।’

त्यस्तै नेता बास्तोलाले संसदीय व्यवस्था ढाँटको व्यवस्था भएको दाबी गरे । ढाँटको व्यवस्था लोकतान्त्रिक हुनै नसक्ने उनको भनाइ छ । उनले थपे–‘संसदीय व्यवस्था ढाँटको व्यवस्था हो । ढाँटको व्यवस्था पनि लोकतान्त्रिक हुन सक्छ ? नेपालका प्रधानमन्त्री निर्वाचित हुन् ? होइनन् उनी मनोनित हुन । त्यसैले यो ढाँटको व्यवस्था हो । लोकतान्त्रिक हुन सक्दैन ।’

‘नेपाली कम्युनिष्ट आन्दोलनको वर्तमान संकट र आगामी बाटो’ विषयात्मक कार्यक्रममा नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्यले कम्युनिष्ट आन्दोलनलाई जोगाउन सबै भए ठाउँमा उभिनुपर्नेमा जोड दिइन । पछिल्लो समय कम्युनिष्ट पार्टीभित्र विचलन देखिनुमा व्यक्तिगत स्वार्थ र अहंकार कारकतत्व रहेको उनको भनाइ छ ।
त्यस्तैगरी माओवादी केन्द्रका नेता गणेश साहले अहिले मुलुकमा दुई थरी कम्युनिष्ट देखिएको बताए । उनका अनुसार अहिले मुलुकमा सदन र सडकमा कम्यनिष्ट पार्टीहरु रहेका छन् । यी दुई कम्युनिष्ट पार्टी बीच आपसी तालमेल गर्न सकेमा मात्र कम्युनिष्ट आन्दोलन सफल हुन सक्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?