फेरि सल्बलाउँदै ह्याकर: असुरक्षित बन्दै बैंकिङ प्रणाली

काठमाडौं- पछिल्लो समय ह्याकरहरु पुनः सल्बलाउन थालेका छन् । केही समय सुस्ताएका ह्याकरहरु पुनःसल्बलाउन थालेका हुन् ।

नेपाली बैंकहरुको कमजोर सुरक्षा प्रणालीको फाइदा उठाउँदै ह्याकरहरुले नेपाली बैंकलाई निसाना बनाउँदै आएका छन् । पछिल्लो समय नेपाल राष्ट्र बैंकसहित विभिन्न १५ वटा वाणिज्य बैंकहरुको प्रणाली ह्याक गरेर पैसा चोर्ने धम्की आएको थियो ।

बुधवार दिउँसो साढे ३ बजे ह्याकरको इमेलमार्फत ह्याकरले राष्ट्र बैंक सहित कुमारी बैंक, नेपाल बैंक, नबिल बैंक, राष्ट्रिय बाणिज्य बैंक, माछापुच्छ्रे बैंक, एनएमबि बैंक, एनआइसी एसिया बैंक, बैंक अफ काठमाण्डू, सिटिजन्स इन्टरनेशनल बैंक, सानिमा बैंक, नेपाल एसबीआइ, एभरेष्ट, नेपाल इन्भेष्टमेन्ट र हिमालय बैंक ह्याक गरी पैसा चोर्ने धम्की दिएको छ । ह्याकरले २४ घण्टाभित्र अफलाइन तथा अनलाइन दुबै तरिकाबाट पैसा चोरी गर्ने जनाएको थियो।

त्यसैगरी, केही समय अघि मात्रै सिद्धार्थ बैंकबाट पूर्व व्रिटिश लाहुरेले करिब ३५ लाख बराबरको रकम झिकेका थिए । त्यस्तै, ०७६ भदौ १४ गते शनिवार चिनियाँ ह्याकरहरुले नेपालका विभिन्न बैंकका एटीएम बुथ कब्जा गरी ठूलो रकम चोरी गरेका थिए ।

उनीहरुले विभिन्न ७ वटा बैंकका एटिएम कार्ड प्रयोग गरी १७ बैंकका ६८ वटा एटीएमबाट १ करोड ८९ लाख ४४ हजार ५ सय रुपैयाँ निकालेका थिए । सोही समूहले भारतमा पनि नेपालका ६ वाणिज्य बैंकका कार्ड प्रयोग गरी २४ बैंकका १ सय ३२ एटीएमबाट पनि १ करोड ५ लाख ८७ हजार २ सय रुपैयाँ चोरी गरेका थिए ।

त्यस्तै, २०७४ कात्तिक ३ गते तिहारको बिदाका दिन एनआईसी एसिया बैंकको स्विफ्ट ह्याक गरी साढे ४६ करोड रुपैयाँ चोरी गरिएको थियो । एनआईसी बैंकको सो पैसा जापान, हङकङ, चीन, जर्मन, लन्डन, टर्की र अमेरिका लगायत देशका विभिन्न बैंक खातामा ट्रान्सफर गरिएको थियो । एनआईसी बैंकको स्विफ्ट कोडका ह्याकर उत्तर कोरियाली नागरिक लजारुस थिए।

त्यसैगरी, अघिल्लो वर्ष कृषि विकास बैंकको प्रणाली ह्याक गरी विदेशी नागरिक ‘काले’ भन्ने पिटरले बैंकको लहान शाखाबाट ४ करोड ७३ लाख रुपैयाँ विभिन्न व्यक्तिको खातमा सारिएको थियो । पिटर लामो समयदेखि भारतको मुम्बईमा बसी नेपालका बैंक तथा वित्तीय संस्थाको सफ्टवेयर ह्याक गरी रकम निकाल्दै आएको प्रहरी अनुसन्धानले देखाएको थियो।

यस्तो छ प्रहरीको तथ्यांक

प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पनि बैंकिङ कसुर तथा एटीएमसम्बन्धी अपराधका घटनाहरुको अनुसन्धान गर्दै आइरहेको छ । सीआईबीको तथ्याङ्कअनुसार हालसम्म एटीएमको दुरुपयोग गरी ३ करोड २१ लाख ६२ हजार ९ सय ३१ रुपैँया विगो दाबी गरेको छ। सीआइबीले एटिएमको दुरुपयोग गरी रकम चोरी गर्ने ६ जना नेपाली र १८ जना विदेशी गरी २४ जनालाई पक्राउ गरेको छ।

फेरिंदैछ चोरीको शैली

पछिल्लो समय बैंकिङ कसुरको शैली फेरिएको सीआइबीका प्रवक्ता श्यामकुमार महतोले बताए । प्रहरीका अनुसार सङ्गठितरुपमा प्रणाली नै ह्याक गरेर चोरी गर्ने बढेकाले सबैको चासो बढेको छ। राष्ट्रसँग ह्याक गर्ने भनेर आएको सूचनाका विषयमा छलफल भएको प्रवक्ता महतोले बताए । तर औपचारीक रुपमा राष्ट्र बैंकबाट जानकारी नआएको प्रवक्ता महतोको भनाइ छ।

विश्वमा नयाँ नयाँ प्रविधी भित्रिएका छन् । ती प्रविधिमा भएका कमी कमजोरीलाई औल्याउँदै ह्याकरहरुले बैैंकिङ क्षेत्रमा अर्बौं रुपैँया चोरी गरिरहेका छन् । प्रणाली नै ह्याक गरेर कुनै पनि मुलुकको कुनै एक कुनामा बसेर नेपालबाट पैसा चोर्न सकिने अवस्था छ।

केही वर्ष पहिलासम्म ठगी गर्नेहरुले डिभाइसबाट ग्राहकको कार्डको पिन नम्बर चोरी गरी अर्काे कार्डमा राखेर एटीएम बुथबाट पैसा चोरी गर्ने गर्थे । यसरी चोरी गर्दा ग्राहकहरुलाई प्रत्यक्ष असर पर्ने गर्थ्यो । तर पछिल्लो समय भने प्रणाली ह्याक गर्दा आफू पनि सुरक्षित रहने भएकाले त्यसतर्फ आकर्षित भएको प्रहरीको भनाइ छ।

कति सुरक्षित छन् हाम्रा बैंकहरु ?

पछिल्लो समय बढ्दै गएको साइबर हमलाका कारण नेपाल उच्च जोखिमा रहेको देखिएको सूचना प्रविधि विशेषज्ञहरूको भनाइ छ।‘‘ अझै पनि नेपाली बैंकहरु ‘रिस्क’ मै छन् ।’’ कम्प्युटर एशोसियशन अफ नेपाल (क्यान महासंघ) का सचिव चिरन्जीबि अधिकारीले भने।

राष्ट्र बैंकले हरेक वर्ष वाणिज्य बैंकहरुलाई आफ्नो प्रविधी ‘अप्डेट’ गर्नुपर्छ भनेर निर्देशन दिइरहेको छ । तर अन्य वित्तीय संस्थाहरुको हकमा त्यस्तो नभएकाले बैंकिङ प्रणाली सुरक्षित नभएको उनको भनाइ छ । अझै पनि केही बैंकहरुले राष्ट्र बैंकलाई रिपोर्ट बुझाउन मात्रै ‘सेक्युरिटी  अडिट’ गर्ने गरेका छन् । जसले गर्दा साइवर सुरक्षाका हिसावले चुनौतीपूर्ण मानिने र बैंकिङ प्रणाली सुरक्षित रहने अवस्था नभएको सचिव अधिकारीको भनाइ छ।

इमेलमा यस्ता सूचनाहरु कुनै बैंकका एक मात्रै कमचारीले ‘क्लिक’ गरे भने पनि,  प्रणालीलाई जतिसुकै सुरक्षित बनाउँछु भनेपनि सानो गल्तीका कारण पुरै बैंकको प्रणाली असुरक्षित हुन सक्ने संभावना हुने सचिव अधिकारीको भनाइ छ । साइबर हमलाको जोखिम न्युनिकरण गर्न नयाँ र सुरक्षित प्रविधीको प्रयोग गर्नुपर्नेमा उनको जोड छ ।

यसो भन्छ बैंकर्स संघ

राष्ट्र बैंकमा नेपालका विभिन्न १५ वटा बैंकहरु ह्याक गर्ने सूचना आएपछि नेपालका सबै बैंकहरुले आफ्नो प्रणाली चेक गरिसकेका छन् । ह्याकरहरुले तर्साउन पनि यस्ता सूचना दिन सक्ने नेपाल बैंकर्स संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले बताए । तर त्यसो भन्दैमा आफ्नो प्रणालीलाई सुरक्षित चाँही बनाउनुपर्नेमा उनको जोड थियो ।

के गर्दैछ राष्ट्र बैंक ?

पछिल्लो समयको १५ वटा बैंक ह्याक गर्ने सूचनाले नेपालको बैंकिङ क्षेत्र तरंगित बनेको छ । तीब्र रुपमा साइबर अपराध फैलिरहेकाले बैंकिङ क्षेत्र सुरक्षित राख्नु नै राष्ट्र बैंकका लागि ठूलो चुनौती बनेको छ ।

राष्ट्र बैंकमा राष्ट्र सहित विभिन्न १५ वटा वाणिज्य बैंकको प्रणाली ह्याक गरी पैसा चोर्ने धम्कीपूर्ण सूचना आएपछि राष्ट्र बैंकले आफ्नो सहित ह्याक गर्ने भनिएका बैंकको प्रणाली परिक्षण गरिसकेको छ। त्यसका साथै राष्ट्र बैंकले आफ्नो आइटी विभागलाई सक्रिय बनाएको छ।‘‘

बैंकिङ प्रणाली मजबुत छ, डराउनुपर्ने अवस्था छैन ।’’ राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेलले भने।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?