मन्त्रीमण्डल विस्तार केही दिनपछि मात्रै, को–को बन्दै छन् मन्त्री ?

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवाले अझै मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । देउवाले गत असार २९ गते राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रधानमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए ।

यही असार २८ गते सर्वाेच्च अदालतको परामादेशबाट प्रधानमन्त्री बनेका देउवाले साउन ३ गते प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरिसकेका छन् । देउवाले २९ गते नै ज्ञानेन्द्र कार्की, जनार्दन शर्मा, बालकृष्ण खाँण र पम्फा भुसाललाई मन्त्री बनाएका थिए । कार्की कानुन, शर्मा अर्थ, खाँण गृह र भुसाल ऊर्जा मन्त्री बनेका छन् ।

तर ११ दिन बितिसक्दा पनि देउवाले मन्त्रिपरिषद् विस्तार गर्न सकेका छैनन् । सरकारमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एमाले वरिष्ठ नेता माधव नेपाल पक्ष, जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्ष र राष्ट्रिय जनमोर्चा गरी ५ दलीय गठबन्धन छ । यसमध्ये जनमोर्चाले सरकारमा सहभागी नहुने बताइसकेको छ ।

५ दलीय गठबन्धनको ५ सदस्यीय मन्त्रिपरिषद्ले सरकार सञ्चालन गरिरहेको छ । मन्त्रिपरिषद्लाई पूर्णता दिन नसक्दा सरकारका कामकारबाही समेत प्रभावित भएका छन् । विगतमा भकाभक मन्त्रिपरिषद् विस्तार गरेको भनेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गरेका कांग्रेससहितको गठबन्धन मन्त्रिपरिषद् विस्तार गर्न नसकेकोमा आलोचित बन्न थालेको छ ।

कोरोना महामारीका बेला कामका लागि महत्वपूर्ण मानिएको स्वास्थ्य मन्त्रालय समेत मन्त्रीविहीन छ । ११ दिनदेखि ४ जना मन्त्रीबाट काम भइरहेको छ । धेरै मन्त्रालय खाली छन् ।

किन सकस भयो त मन्त्रिपरिषद्लाई पूर्णता दिन ?

प्रधानमन्त्री देउवा पक्षका एक नेताका अनुसार कांग्रेसको क्रियाशील सदस्यता विवाद टुंगिएपछि मात्रै देउवा मन्त्रिपरिषद्लाई विस्तार गर्ने पक्षमा छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष पनि क्रियाशील सदस्यता विवाद समाधान भएपछि मात्रै मन्त्रिपरिषद् विस्तारको पक्षमा छ । पौडेल पक्षले देउवालाई मन्त्रीका लागि कसैको पनि नाम बुझाएको छैन । पौडेल पक्षका एक नेताले भने, ‘सांसद हुने कसलाई मन्त्री बन्न मन नलाग्ला र ? तर पनि अहिले त्यसबारे छलफल भएको छैन ।’

त्यस्तै जनता समाजवादी पार्टी (जसपा)को आधिकारिकताको टुंगो निर्वाचन आयोगले लगाइसकेको छैन भने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष सरकारमा आउने कि नआउने भन्ने टुंगो लागेको छैन । माओवादी केन्द्रमा भने खासै समस्या नरहेको बताइएको छ । मन्त्री हुनका लागि धेरै आकांक्षी भए पनि भागवण्डामा परेअनुसार माओवादीबाट मन्त्री हुनेछन् । गठबन्धनमा रहेका दलहरूबीच मन्त्रालयको भागवण्डा मिल्नासाथ मन्त्री बन्नेहरूको नाम टुंगो लाग्ने बताइएको छ ।

कांग्रेसबाट को–को बन्दै छन् त मन्त्री ?

संविधानमा २५ जनाभन्दा बढी मन्त्री बनाउन नपाइने व्यवस्था छ । कांग्रेसबाट दुईजना ज्ञानेन्द्र बहादुर कार्की र बालकृष्ण खाँण मन्त्री बनिसकेका छन् । जनमोर्चा सरकारमा नजाने भएपछि उसलाई भाग तत्कालका लागि लगाउनु परेन ।

सम्भवतः यही सरकारले निर्वाचन गराउने भएकाले आकांक्षी धेरै भए पनि देउवा र पौडेलबीच भागवण्डा गरेर सन्तुलन मिलाउनुपर्ने हुँदा सुजाता कोइराला, प्रकाशमान सिंह, डा. मिनेन्द्र रिजाल, डा. नारायण खड्का, पुष्पा भुसाल, मीन बहादुर विश्वकर्मा, प्रमिला राई, प्रकाश स्नेही, तेजुलाल चौधरी, उमाकान्त चौधरी, राजन केसी, प्रमोद यादव, गगन थापा सञ्जय गौतम, मोहन पाण्डे, लालकाजी गुरुङलगायतको नाम चर्चामा ल्याइएको छ । तर, यीमध्ये केही पर्नसक्ने र यीबाहेक अरु पनि मन्त्री बन्न सक्ने एक कांग्रेसका एक केन्द्रीय सदस्यले जानकारी दिए ।

माओवादीबाट को–को छन् आकांक्षी ?

माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई अप्ठ्यारो बेला साथ दिने धेरै नेताहरू भए पनि तीमध्ये छानेर मन्त्री बनाइने एक माओवादी नेताले जानकारी दिए । माओवादीबाट जननार्दन शर्मा र पम्फा भुसाल मन्त्री बनिसकेका छन् ।

माओवादीमा भागवण्डाको अवस्था नरहे पनि भरिसके नयाँ या पहिला अनुभव भएकालाई मन्त्री बनाइने बताइएको छ । मन्त्रीको लाइनमा हरिबोल गजुरेल, देवेन्द्र पौडेल, नारायणकाजी श्रेष्ठ, विना मगर, देव गुरुङ, शिवकुमार मण्डल, अञ्जना विशंखे जयपुरी घर्ती, सन्तकुमार थारु, यशोदा सुवेदी रहेका बताइएको छ ।

जसपामा पनि आकांक्षी धेरै

मन्त्री बन्नका लागि जसपामा पनि धरै आकांक्षी देखिएका छन् । जसपाको आधिकारिकताको विवाद पनि छ । निर्वाचन आयोगले जसपाको विवाद अब केही दिनमा टुंग्याउने बताइएको छ । जसपाका अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरमध्ये कसले आधिकारिकता पाउँछ भन्ने चासो सबैको छ ।

यादव सुरुदेखि नै गठबन्धनमा सामेल छन् । ठाकुरले पनि देउवालाई विश्वासको मत दिएका छन् । जसपाबाट स्वयम् अध्यक्ष यादव, महेन्द्र राय यादव, मोहम्मद इस्तियाक राई, प्रदिप यादव, प्रमोद साह, अमृता अग्रहरी, नरमाया ढकाललगायतले मन्त्रिपरिष्मा जान इच्छा देखाएका छन् । तर, यही नै हो आधिकारिक भन्ने टुंगो भने नलागेको जसपाका एक नेताले बताए ।

के गर्लान् एमाले वरिष्ठ नेता नेपाल ?

फाइल फोटो/वरिष्ठ नेता माधवकुमार नेपाल

नेकपा एमालेको विवाद कहिले समाधानउन्मुख त कहिले जटिलजस्तै बनेको कारण वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष के गर्ने भन्ने टुंगोमा पुगेको छैन । वर्तमान सरकार बनाउन नेपाल पक्षले निर्णायक भूमिका निर्वाह गरेको थियो । प्रधानमन्त्री देउवा भने नेपाल पक्षलाई समेत सरकारमा सामेल गराउने पक्षमा रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?