असन: काठमाडौं हेर्ने आँखीझ्याल (भिडियोसहित)

काठमाडौं- नेपालको मुटु काठमाडौँ, अनि काठमाडौँको मुटु असन।

सबैभन्दा पुरानो यो बजारका साहुजीहरू फेरिए, ग्राहकहरू फेरिए । व्यापारका कतिपय सामान फेरिए, भाउ आकासिए । व्यापारको शैली र बजारको स्वरूप फेरिए । तर असनको शान, मान, आत्मसम्मान कहिल्यै फेरिएन । त्यसैले त सदाबहार छ, प्राचीन असन बजार ।

अहिलेको डिपार्टमेन्ट र सुपरमार्केटभन्दा ब्रान्डेड असन बजारमा नुनदेखि सुनसम्मका सामग्रीहरू सहजै किनबेच हुन्छ । असनमा त्यस्ता सामानहरू पनि पाइन्छन् जुन अन्यत्र पाइँदैनन्।

पाइन्न केही प्रभु, दुःख छ कष्ट नाना,
भाउ बस्यो असनमा पनि तीन माना ।।

बजारभाउ आकासिएपछि एक जना कविले सरकारसामु यसरी नै बिन्ती बिसाएको ऐतिहासिक दस्ताबेजहरूमा उल्लेख छ ।
असनको ऐतिहासिक महत्व जति अथाह छ, हो, उत्तिकै महत्व छ यो बजारको पनि ।

यो बजारका व्यापारीहरू पुस्तानान्तरण हुँदै आएका छन् । जिजु हजुरबुवा (६ पुस्ता)ले सुरु गरेको व्यापार अहिले नातिपनातिहरूले सम्हालिरहेका छन् । तिनैमध्येका एक हुन्, अमुलकाजी तुलाधर ।

असन बजार अहिले निकै फेरिएको उनी बताउँछन् । कुनै बेला वस्तु विनिमयको बजार समेत रहेको भन्दै उनी भन्छन्, ‘गाउँबाट अन्न लिएर आएका सर्वसाधारणले यहाँ कपडा पसलेलाई बेच्थे अनि कपडा लिएर जान्थे ।’ असनमा गुणस्तरीय सामान पाइने भएकाले नै सर्वसाधारणमाझ लोकप्रिय बन्न सकेको उनी बताउँछन् ।

विगतमा ग्राहकहरू निकै विश्वासिला, आत्मीय हुनेगरेको उनले बताए । समयसँगै ग्राहकहरूमा चेतना हुनु स्वभाविक भएको भन्दै उनले तितो टिप्पणी गरे–‘डेट एक्सपायर सामान लगेर नयाँ मिति हालेर ल्याउँछन्, मिति हेर्न जानेर के गर्नु र ?’

यही असन टोलमा जन्मिएर हुर्किएका यक्षरत्न तुलाधर असन सेवा समितिका संस्थापक अध्यक्ष हुन् । यही असनमा साइकलको टायर गुडाएर खेल्दै उनको बाल्यकाल बित्यो । उनका अनुसार त्यतिबेला असनमा प्रायः झिँगटीका घरहरू थिए । २०४७ अगाडि दिनभर नै तरकारी पसलहरू हुन्थे असनमा । व्यापारीहरूले घामपानीबाट जोगिन माथिबाट पाल टाँगेका हुन्थे ।

तुलाधर भन्छन्, ‘माथिबाट हेर्दा बजार होइन झुपडपट्टी (झुप्रो)जस्तो देखिन्थ्यो ।’ यही कारण सुरु भयो असन बजार व्यवस्थापनको काम । त्यसका लागि २०४७ मा उनकै नेतृत्वमा असन सेवा समिति गठन भयो । यो समितिले अहिले बजारको व्यवस्थापन, मठ मन्दिरको सरसफाइलगायतका काम गर्दै आएको छ ।

आफ्नो पुस्ताले चलाउँदै आएको मसला पसल धान्दै आएका धनबहादुर महर्जन भने असनको व्यापार खस्किएको बताउँछन् । अहिलेभन्दा पहिले व्यापार गर्न सजिलो भएको महर्जनको अनुभव छ ।

असनमा प्रायः अन्नको व्यापार हुँदै आएको छ । असन बजारलाई वैज्ञानिक तवरले बनाइएको बजार पनि मानिन्छ । यहाँ पुग्ने विभिन्न ६ वटा बाटाहरू छन् ।

काभ्रेबाट विगत २७ वर्षअघि काठमाडौँ आएका जनार्जन खनाल बिहान ७ बजेदेखि राति ८ बजेसम्म असन बजारको व्यवस्थापनमा खट्छन् । फुटपाथ व्यवसायी, पार्किङ व्यवस्थापनदेखि आफूू मातहतका कर्मचारीलाई निर्देशन दिँदादिँदै उनको दैनिकी बित्छ।

आफूु पहिलोपटक असन आउँदा एक रुपैयाँ गिलासमा चिया पिएको उनले स्मरण गरे । त्यतिबेला गल्लीमा पस्न भूत आउला कि भन्ने डर थियो, अहिले भीडले थिचिएला कि भन्ने अवस्था आएको उनी बताउँछन् । बजार व्यवस्थापनमा पनि निकै गाह्रो हुनथालेको उनको अनुभव छ ।

झट्ट हेर्दा अस्तव्यस्त देखिने असन बजार नियालेर हेर्ने हो भने उत्तिकै व्यवस्थित पनि देखिन्छ । तर, यो बजारले जुन गति लिनुपर्ने हो त्यो भने हुनसकेको छैन । यहाँ पार्किङको अभाव छ।

असनको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व त अझ गर्विलो छ । त्यसैले त भनिन्छ नि, ‘काठमाडौँ चिन्न असन पुग्नैपर्छ ।’

तस्वीर: राजेश विक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?