एमाले–माके एकतामा संगठन व्यवस्थापन जटिल, माओवादी प्रस्ताव मानेन एमालेले

काठमाडौं, १८ चैत । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीच हुने भनिएको पार्टी एकतामा सांगठनिक व्यवस्थापन जटिल बन्दै गएको छ ।केन्द्रदेखि स्थानीय तहमा कसरी पार्टी एकता गर्ने र संगठन व्यवस्थित गर्ने भन्ने विषयमा दुईं पार्टीबीच एकमत बन्न सकेको छैन ।पार्टी एकतापछि तल्ला समितिसम्म पनि दुई अध्यक्ष राख्ने माओवादी केन्द्रको प्रस्ताव एमालले अस्वीकार गरेको छ । सबै कमिटीमा दुई अध्यक्ष राख्दा दुई पार्टीको अभ्यास हुने एमालेको तर्क छ ।एमालेले प्रदेशमा संयोजक र सहसंयोजक तथा अन्य कमिटीमा अध्यक्ष र सचिव रहनेगरी कमिटि राख्न् प्रस्ताव गरेको छ ।केन्द्रीय कमिटीमा एमाले र माओवादीको बाँडफाँटका विषयमा कुरा नमिलेका कारण तल्ला कमिटिहरु समायोजन गर्ने प्रस्ताव तयार पार्न नसकेको कार्यदल एक सदस्यले बताएका छन् ।माओवादीले भने केन्द्रदेखि तल्लो तहसम्म समानताको सिद्धान्तअनुसार एकीकरण गर्नुपर्ने भएकाले पार्टी एकता संयोजन समितिमा छलफल आवश्यक रहेको बताएको छ ।केन्द्रीय कमिटीको संख्या २ सय ९९ राख्ने सहमति भए पनि त्यसमा एमालेका र माओवादीका कति–कति सदस्य रहने भन्ने टुंगो लागेको छैन ।एमालेले आफ्ना २ सय केन्द्रीय सदस्य र माओवादीका ९९ जना समायोजन गरेर २ सय ९९ सदस्यीय बनाउन राखेको प्रस्ताव माओवादीले अस्वीकार गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?