जीवन देवकोटा : जसले २० वर्षदेखि ढुङ्गाबाटै सपना पूरा गरिरहेछन्

आय आर्जनको नयाँ-नयाँ बाटोहरु खोज्दै जाँदा स्वरोजगार बन्ने आशा र विदेशको तातो घाममा बगाउने पसिनालाई आफ्नै देश सिञ्चित गर्ने सपना बोकेर हिँड्दा जीवन देवकोटाको यात्रामा नसोचेका बाधा अड्चनहरु आए ।

आफूले गरेको काम सफल हुन्छ कि हुँदैन ? ऋणमा चुर्लुम्म डुबिने पो हो कि ! भन्ने संशयले उनको निद्रा धेरै रात लुट्यो । तर उनको भित्री मनले ‘काम नगरी कसरी थाहा हुन्छ ? कसरी अघि बढ्न सकिन्छ ? एक चोटी कोसिस त गरेर हेर्नैपर्छ ।’ भनिरह्यो ।

हुन्छ कि हुँदैन ? गरौँ कि नगरौँ ? जस्ता अनेक विचारहरुको द्वन्द्वमा चेपिएका उनले ‘गर या मर’को खतरामा बाँधिएर व्यवसाय सुरु गर्ने निधो गरे।  नगरुन् पनि कसरी ? बुवा आमा, आफ्नो परिवार धान्नेदेखि घर व्यवहार चलाउने जिम्मेवारीले रन्थनिएको बेला उनको मनमा आएको उपाय थियो – ढुङ्गा व्यापार ।

No description available.

सुन्दा सामान्य लाग्छ, तर यही निर्णयबाट आज युवाको लागि गतिलो उदाहरण बनेका छन् – जीवन देवकोटा (३९) ।

उनले सञ्चालन गरिरहेका छन् – ढुङ्गा बिक्री केन्द्र ।

No description available.

उनले बिक्री गरिरहेको ढुंगा घरको आँगन, करेसाबारी सवारी पार्किङ गर्ने ठाँउमा प्रयोग गरिन्छ ।

सुन्दा सामान्य शब्द लागे पनि ढुङ्गाको धेरै महत्वपुर्ण प्रयोगहरु छन् ।  धेरैलाई यति मात्रै थाहा छ कि, गाउँघरमा घर बनाउनको लागि ढुङ्गा प्रयोग गरिन्छ । त्यसको सट्टामा शहरमा इँटाको प्रयोग गरिन्छ । यति मात्र नभएर वस्तुभाउको गोठ वर्षाको समयमा हिलो हुँदा ढुङ्गा बिछ्याइदिने गरिन्छ ।  जसले वस्तुको गोठ अलिक कम हिलो हुने र गाईवस्तुको गोबर सोहोर्न सजिलो हुन्छ । तर भिमफेदी, मकवानपुरका स्थायी बासिन्दा देवकोटाले काठमाडौं आएपछिका २० वर्षमा ढुंगाबाटै आफ्ना सपना पूरा गरे । ढुंगाबाट सुन बनाए । कसरी ? जवाफका लागि २० वर्षअघि पुग्नुपर्छ।

देवकोटाले ढुङ्गा बिक्री केन्द्रमा काम गर्न थालेको २० वर्ष भयो । उनी ढुङ्गा बिक्री केन्द्रका व्यवस्थापक हुुन् । यस ढुङ्गा बिक्री केन्द्रका साहु निरबहादुर राउतले आफ्नो व्यवसायलाई जीवन देवकोटाकै जिम्मामा छोडेका छन् । निरबहादुर बेला बेला मात्र निरीक्षणका लागि आउने गरेको उनले बताए । जीवनले प्रायजसो सिन्धुपाल्चोक, दोलखा, रामेछाप, रुपन्देहीबाट ढुङ्गाहरु ल्याउने गरेका छन् । उनले थपे, ‘उताबाट ल्याउँदा कच्चा नै हुन्छ, ढुङ्गा सबै यहाँ ल्याएर नै कटिङ गरेर बनाउने हो ।’

चारपाटे सलक्क मिलेका ढुङ्गाहरु ।

खातमाथि खात ।

यो हो, जीवनको ढुंगा घर ।

No description available.

उनको बिक्री घरमा कटिङ मेसिनको प्रयोगबाट आवश्यकता अनुसार ढुङ्गा काटिन्छ । विशेषगरी सवारी पार्किङ, घरको आँगन, घरको भित्तामा यस्ता ढुङ्गाको प्रयोग हुने गरेको उनले बताए।

जीवनले ढुङ्गा बिक्री गर्दा स्क्वायर फिटको मापनअनुसार बिक्री गर्नेगरेका छन् तर मूल्य भने ढुङ्गा हेरेर फरक-फरक हुने गरेको उनले बताए । ‘यति ढुङ्गा, यस्तो खालको बनाइदिनू भनेर अर्डर आउँछ अनि त्यहीअनुसार ढुङ्गा तयार गर्नेगरेको छौँ ।’ उनले बताए ।

No description available.

कोटेश्वरबाट जडीबुटी हुँदै लोकन्थली जाने बाटोमा ट्राफिक बिट छ, ‘त्यसको नजिकै खाली जग्गामा एउटा सानो घरमा लेखिएको छ – ढुङ्गा बिक्री घर ।

No description available.

उनीहरुले त्यो जग्गा भाडामा लिएर व्यवसाय सुरु गरेका हुन् । जग्गाको लागि उनीहरुले महिना महिनामा आनाको हिसाबले भाडा तिर्दै आएका छन् लगभग १० आनामा उनीहरुले यो काम गरिरहेका छन् । ‘ठेकेदारहरुले लिएर आउँछन् अनि हामीले खरिद गर्ने हो त्यसपछि कटिङ गरेर १०/१५ नाफा राखेर बेच्ने हो । बनाएको ज्याला र जग्गा भाडा राखेर बेच्ने गरेका छौँ ‘ उनले भने ।

जीवन देवकोटाले ढुङ्गा बिक्री केन्द्रमा धेरै लामो अनुभव बटुलिसकेका छन् । उनले यही कामबाट पाएको पारिश्रमिकबाट नै आफ्नो घर खर्च चलाउँदै आइरहेका छन् । ‘आफ्नो देशमा नै रोजगारी, चाडपर्व, दुखबिराम हुँदा परिवारसँगै सुखदुख साट्न पाएको छु त्योभन्दा मलाई के चाहियो ? मसँगैका कति साथीहरु विदेश गएका छन् । परिवार छिन्नभिन्न छ । दुख छ । रात दिन नभनी काम गरेर पनि धेरै जना दिदीबहिनी दाजुभाई खाली हात स्वदेश फर्केका छन् । कति अंङ्गभङ्ग भएर फर्केका छन् कति कफनमा । साहुको ऋणको ब्याज बढेर स्वदेशमा समेत बिल्लीबाठ भएका कथा तराई पहाडका अधिकांश गाउँमा छन् । दुख लाग्छ यो सबै कुरा देख्दा । कम्तीमा मैले आफ्नै देशमा मिहिनेत गरेर परिवारसँग बस्न पाएको छु ।’ उनी निर्धक्क सुनिन्छन् ।

ढुङ्गा बिक्री केन्द्रबाट महिनामा ५ देखि ७ लाखसम्म व्यापार हुनेगरेको उनले बताए । उनले एउटा स्क्वायर फिटको ढुङ्गा हेरी ५० / ६० /७० ले बेच्ने गरेका छन् । ‘लकडाउनले गर्दा धेरै घाटा बेहोर्नुपर्यो । करिब ६ महिना काम भएन अहिले पनि लकडाउनको असर पूर्णरुपमा सकिएको छैन । बिस्तारै पहिलाको अवस्थामा आउँछ भन्ने सोचेका छौँ ।’  उनले थपे ।

यसरी नै केही न केही व्यवसाय गरेर नेपालमा नै मिहिनेत गर्न युवाहरुलाई उनले पटक-पटक आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?