भोक मेट्न भारतकै भर

धनगढी । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ३ का अम्मरबहादुर न्यौपाने भारतमा चौकीदारी गर्छन । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि जारी लकडाउनमा उनी स्वदेश फर्किएका थिए ।

भारत जानका लागि उनी कैलालीको धनगढीसँग जोडिएको गौरिफण्टा नाकामा थिए । लामो लाइनमा पालो पर्खिरहेका उनले भने,”पहिला कोरोनाको डरले घर आइँयो । अहिले घरमा पैसाको समस्या भयो । कमाउन जाँदै छु ।”

उनले परिवारको जोहोका लागि भारतकै भर पर्नु परेको बताए । उनको घरमा सात सदस्य रहेका छन् । घरका सबै सदस्य उनको आम्दानीमै निर्भर रहेका छन्।

कोरोनाको दोस्रो लहरको महामारी फैलिएपछि वैशाख महिना यता सुदूरपश्चिम प्रदेशको गौरीफण्टा र गड्डाचौकी नाका भएर असारसम्म ८३ हजार पाँच सय ८२ जना नेपाल प्रवेश गरेका थिए । भारतमा कोरोना संक्रमण बढिरहँदा रोगको डर र काम गुमाएका कारण फर्कनेहरूको लस्कर नै थियो ।

अहिले फेरि त्यस्तै लस्कर सीमा नाकामा देखिन थालेको छ, जुन भारततिर सोझिएको छ । सीमापारी कोरोना संक्रमण अनियन्त्रित रहेकै अवस्थामा रोजगारीका लागि फेरि भारत जाने युवाहरूको ताँती लाग्न थालेको छ ।

बैतडीका प्रकाश सिंह राठोर हातमा झोला भिरेर रोजगारीका लागि भारत जाने तयारीमा थिए । सीमाको भीडभाडमा भेटिएका उनी आफनो बाध्यताप्रति उदास थिए ।

“पहिलो चरणको कोरोना महामारीमा भारतमा लकडाउन भएपछि स्वदेश आए । केही महिनापछि शान्त भएलगत्तै पुनः रोजगारीका लागि भारत पसे”, उनले भने ,”दोस्रो चरणको कोरोना महामारीमा पनि भारतमा लकडाउन भएपछि स्वदेश आए । अहिले घरमा खान बस्न समस्या भएपछि भारतकै भर पर्नु परेको छ ।” उनले सरकारले स्वदेशमै रोजगारी सृजना गर्नु पर्ने बताए ।

उनले भने,”स्वदेशमा रोजगारीका लागि अवसर छैन । घर परिवारको गुजारा गर्न आम्दानीका लागि भारत जानुपर्ने बाध्यता छ ।” उनीसंगै रहेका साथीहरु पनि रोजगारीका लागि भारत जानु बाध्यता रहेको प्रतिक्रिया दिएका थिए ।

नेपालमा निषेधाज्ञाका कारण आर्थिक क्रियाकलाप सुस्ताउँदा रोजगारी पाउने छेकछन्द नदेखेपछि युवाहरू फेरि भारत जाने क्रम शुरू भएको हो । कैलालीका मानबहादुर बुढाले भने,”भारत प्रवेश गरे कुनै न कुनै ठाउँ रोजगारी गर्न मिलिहाल्छ । ज्यालामा चित्त नबुझे पनि परिवार भोकै त बस्दैनन् । यहाँ त एक छाँक टार्नलाई पनि काम पाइँदैन ।”

कञ्चनपुर जिल्ला प्रशासनको तथ्यांकअनुसार पछिल्लो समय दैनिक दुई हजारभन्दा बढी नेपालीहरु भारत जाने गरेका छन् । जिल्ला प्रशासन कार्यालयका अनुसार कञ्चनपुरको गौरिफण्टा नाकाबाट असारसम्म ५५ हजार पाँच सय ८३ जना भित्रिएका थिए भने ७७ हजार सात सय ४५ जना भारत प्रवेश गरेको तथ्यांकमा उल्लेख छ ।

गड्डाचौकी नाकाबाट असारसम्म २७ हजार नौ सय ९९ जना भित्रिएका थिए भने १६ हजार छ सय ७० जना भारत प्रवेश गरेका छन । सो अवधिमा पाँच हजार छ सय सात जना बालबालिका प्रवेश गरेका छन् । नाकाबाट सुदूरपश्चिमका पहाडी जिल्लासँगै सुर्खेत, कालिकोट, प्युठान, बर्दिया र पाल्पाबाट समेत भारत जाने गरेका छन् ।

पछिल्लो ६ दिनको तथ्यांक हेर्दा भारतबाट फर्कने भन्दा जानेको संख्या बढिरहेको छ । यो अवधिमा १७ हजार चार सय पाँच जना भारत प्रवेश गरेको जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । दुई नाकाबाट छ दिनमा तीन हजार चार सय १३ जना प्रवेश गरेको उल्लेख छ ।

सुदूरपश्चिम प्रदेश सभा सदस्यहरुले प्रदेश सरकारले प्रदेशमै कोरोनाबाट प्रभावित युवाहरुका लागि स्वरोजगार र आत्मनिर्भर बनाउने कार्यक्रम ल्याउन सदनमा माग गरिहेका छन्। तर, प्रदेश सरकारले प्रभावकारी कार्यक्रम नल्याउँदा अझै प्रदेशका लाखौं प्रदेशवासी भारतकै भर पर्नुपर्ने बाध्यता रहेको छ ।

स्थानीय र प्रदेश सरकारहरुले कृषि, उद्यम, स्वरोजगार, पुर्वाधार विकास लगायतका क्षेत्रमा रोजगारी दिने गरी योजना ल्याएका छन । अहिले यी कार्यक्रम कार्यान्वयन हुन नपाउँदै रोजगारीका लागि भारत जान लागेको सुदूरपश्चिम प्रदेश सभा सदस्य भरत खडकाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?