अझै अन्योलमा कांग्रेस महाधिवेशन

क्रियाशील सदस्यता विवाद टुंगो नलाग्दा कांग्रेस महाधिवेशनप्रति प्रश्न उठ्न थालेको छ ।

कांग्रेसको १४औँ महाधिवेशन आउँदो भदौ १६ गतेदेखि १९ गतेसम्म काठमाडौंमा हुँदैछ । महाधिवेशन आउँदै गर्दा कांग्रेस नेताहरू पार्टीमा आफ्नो राजनीति कसरी सुरक्षित बनाउने भन्ने रणनीतिमा केन्द्रित भएका छन् । नेतृत्वमा स्थापित हुन यतिबेला पार्टीका शीर्ष नेताहरू तीव्र दौडधुपमा छन् । असार मसान्तसम्म सकिने भनेको क्रियाशील सदस्यता विवाद सुल्झिनुको सट्टा झन् बल्झिँदै गएको छ । तर, क्रियाशील सदस्यता छानबिन समितिका सदस्य कल्याण गुरुङ क्रियाशील सदस्यताका कारण महाधिवेशन नरोकिने भन्दै एक÷दुई दिनभित्रै विवाद टुंगो लगाउने प्रयासमा आफूहरू लागेको बताउँछन् ।

कांग्रेसमा क्रियाशील सदस्यताको विवाद पहाडी जिल्लामा भन्दा पनि तराईका जिल्लामा बढी छ । कसैको नाम फरक परेको, कसैको वडा फरक परेको, कतिपयले सदस्यताका लागि दिएका निवेदनहरू कार्यान्वयन नभएको र अरु पार्टीबाट कांग्रेस प्रवेश गरेकाहरूलाई पनि क्रियाशील लिन सकस भइरहेको जस्ता विवाद रहेका छन् । क्रियाशील सदस्यताकै विषयलाई लिएर विभिन्न जिल्लाका कार्यकर्ता कांग्रेस केन्द्रीय कार्यालयमा अनशन समेत बसेका छन् ।

कांग्रेसको १३औँ महाधिवेशन २०७२ फागुन तेस्रो साता काठमाडौँमा सम्पन्न भएको थियो । यस हिसाबले कांग्रेसको १४औँ महाधिवेशन २०७६ फागुनमा सम्पन्न भइसक्नुपर्ने थियो । तर त्यतिबेला महाधिवेशन हुन नसकेपछि पार्टी विधानबमोजिम एक वर्ष पर धकेलियो अर्थात् २०७७ फागुनमा कांग्रेसले महाधिवेशन गर्ने निर्णय गर्यो । तर कोरोना महामारीका कारण वडा तहदेखिका अधिवेशन हुन नसकेपछि २०७७ फागुनमा पनि महाधिवेशन हुनसकेन र कांग्रेसले राजनीतिक दलसम्बन्धी प्रावधान रहेको संविधानको घारा २६९ को उपधारा ४ (ख) बमोजिम ६ महिना पर सारेर २०७८ भदौमा महाधिवेशन गर्ने निर्णय गरेको हो । पार्टीको विधानले चार र राजनीतिक दलसम्बन्धी ऐनले पाँच वर्षभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने व्यवस्था गरेकोमा त्यो समयभित्र पनि महाधिवेशन गर्न नसकेपछि कांग्रेसले संविधानको राजनीतिक दलसम्बन्धी व्यवस्थाको सहारा लिएको हो ।

कोरोनाका कारण क्रियाशील सदस्यता वितरण कार्य प्रभावित हुनु, पार्टीका तल्ला तहका अधिवेशन हुन नसक्नुजस्ता कारणले कांग्रेसले भदौमा महाधिवेशन गर्न लागेको हो । तर कोरोना महामारी अहिले पनि नियन्त्रणमा आइहालेको चाहिँ छैन । कांग्रेस केन्द्रीय सदस्य धनराज गुरुङ स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन गर्न केही फरक नपर्ने बताउँछन् । कम भीड र भौतिक दूूरी कायम गर्न पनि सकिन्छ ।

उदाहरणका लागि वडालगायत सबै तहमा ५ सय जनाको लागि १० वटा मतदान केन्द्र बनाउँदा एउटा केन्द्रमा ५० जनाको दरले उपस्थित हुँदा सजिलो हुने र भौतिक दूूरी पनि कायम गर्न सहज हुने उनको भनाइ छ ।

कांग्रेसले साउन १२ गतेबाट वडा अधिवेशन सुुरु गर्ने भने पनि क्रियाशील नटुंगिएपछि पछि सर्ने देखिएको छ । क्रियाशील छानबिन समितिका सदस्य गुरुङ पनि यसलाई स्वीकार्छन् । तर महाधिवेशन भने प्रभावित नहुने उनको दाबी छ । कांग्रेसको क्रियाशील सदस्य महाधिवेशनका लागि प्रारम्भिक मतदाता हुन् । क्रियाशील सदस्यताका बारेमा कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा र उनीइतर समूहबीच पनि विवाद छ । देउवाले फेरि पार्टी सभापति बन्न जथाभाबी सदस्यता बाँडेको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको आरोप छ । किनकि देउवाले फेरि पार्टी सभापतिमा दोहोरिनका लागि उम्मेदवार बन्ने बताइसकेका छन् । उता पौडेलको पनि पार्टी सभापति बन्ने आकांक्षा छ । कांग्रेसका दोस्रो पुस्ताका नेताहरूले पनि सभापतिमा दाबी गर्ने बताइरहेका छन् ।

महाधिवेशनको चटारोसँगै कांग्रेसमा पुराना गुट उपगुट ब्युँताउने र नयाँ समीकरण बनाउने कसरतमा नेताहरू लागेका छन् । संस्थापन र इतरका नेताहरू आ–आफ्नो आन्तरिक राजनीति जोगाइराख्न क्रियाशील भएका छन् । तर दुवै पक्षबाट आफ्ना साझा उम्मेदवार भने टुंगो लागेको छैन । क्रियाशील सदस्यताकै विषयलाई लिएर भइरहेको विवादप्रति कांग्रेस नेताहरू डा. चन्द्र भण्डारी, धनराज गरुङ, कमला पन्त, रत्ना शेरचन, गगन थापा, बद्री पाण्डे, गुरुराज घिमिरे, सरिता प्रसाईं, रामकृष्ण यादव र किरण यादवलगायतले असन्तुष्टि जनाएका छन् । उनीहरूले क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद र दबावमूलक कार्यक्रम भइरहेको प्रति लक्षित गर्दै पार्टीभित्र न्यायका लागि धर्ना दिनुपर्ने र अनशन बस्नुपर्ने अवस्थाको अन्त्य गर्न नेतृत्वको ध्यानाकर्षण गराएका छन् । उनीहरूले क्रियाशील सदस्यता विवादले समयमै महाधिवेशन हुनेमा शंका जन्माएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?