कांग्रेसले बिर्सिए पनि मुलुकले सम्झिएका वीपी

वीपी स्मृती दिवस

कांग्रेस नेता डाक्टर मिनेन्द्र रिजालले साउन ३ गते प्रतिनिधिसभामा प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा विश्वासको मत माग्दै भने, ‘हामी वीपी कोइरालाका पार्टीका मान्छे हौँ, जसरी वीपी कोइरालाले सबैलाई साथ लिएर हिँड्नुभयो, हामी त्यो विशिष्ट परम्परालाई बिर्सिँदैनौँं, देउवा पनि त्यही विशिष्ट परम्पराको उत्तराधिकारी हुन् ।’

आज वीपी (विश्वेश्वर प्रसाद कोइराला)को ३९औँ स्मृति दिवस । विसं १९७१ सालमा जन्मिएका वीपीको २०३९ साउन ६ गते निधन भएको थियो । नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका वीपी नेपालको प्रजातान्त्रिक आन्दोलका शिखर पुरुष थिए । नेपालमा प्रजातान्त्रिक चेतनाको बीजारोपण, त्यसको विस्तार र प्रजातान्त्रिक समाजको आधारशीला निर्माणमा वीपीको महतवपूर्ण भूमिका रह्यो ।

जहानियाँ राणा शासनविरुद्ध आन्दोलन गरेर २००७ सालको क्रान्ति सफल पारेर नेपालमा प्रजातन्त्रको स्थापना गर्ने काम वीपीकै नेतृत्वमा भयो । मेलमिलाप, राष्ट्रियता, सामाजिक न्याय, विधिको शासनजस्ता कुरालाई वीपीले सधैँ आत्मसात् गरे ।

कांग्रेस नेता रिजालले प्रतिनिधिसभामा वीपीको आदर्श र सिद्धान्तलाई आत्मसात् गरेर अघि बढिरहेको दाबी गरिरहँदा के कांग्रेस अहिले वीपीको बाटोमा हिँडेको छ त ? तर कांग्रेसमा अहिले विचार र राजनीतिभन्दा स्वार्थप्रेरित गुट झाङ्गिदो छ । भागबण्डाको राजनीतिले कांग्रेस कमजोर बनेको छ । कांग्रेस पुराना नेता विपिन कोइरालाले लोकपथसँग कांग्रेस अहिले वीपीले देखाएको बाटोबाट विमुख भएको बताए । कांग्रेसले वीपीले देखाएका संसदीय प्रजातन्त्रको बाटो मात्रै जोगाएको छ । अरु सबै बिर्सिएको कोइराला बताउँछन् ।

वीपीले मेलमिलाप र राजासहितको प्रजातन्त्र भनेका थिए । कम्युनिस्टसँग मिल्नु भनेका थिएनन् । गरिब निमुखाको जीवनस्तर माथि उकास्ने वीपीको नीति थियो । त्यसलाई अहिले चटक्कै बिर्सेर कांग्रेसले ठूलाबडालाई पोस्ने काम गरेको छ । ठूला उद्योगधन्दा, कलकारखाना सरकार मातहत हुनुपर्छ भन्ने वीपीको सिद्धान्त थियो । तर कांग्रेसले त्यसलाई बिर्सिएको कोइरालाको भनाइ छ ।

२०१५ सालको आम निर्वाचनमा कांग्रेसले दुई तिहाइ बहुमत प्राप्त गरेपछि वीपी प्रथम जननिर्वाचित प्रधानमन्त्री बनेका थिए । उनले प्रधानमन्त्री भएको समयमा बिर्ता उन्मूलन र ‘जग्गा जोत्नेको हुनुपर्छ’ भन्ने भूमिसुधार कार्यक्रम अगाडि बढाएका थिए ।

वीपी अन्तर्राष्ट्रिय प्रतिष्ठा आर्जन गरेका पहिलो नेपाली समाजवादी नेता थिए । नेपालको आधुनिकीकरण र प्रजातन्त्र प्रजातन्त्र स्थापनाका लागि उनको स्पष्ट दृष्टिकोण र विचार थियो ।

कांग्रेसका नेता एवं पूर्वउपसभापति गोमालमान श्रेष्ठ भने कांग्रेस अझै पनि वीपीकै विचार र सिद्धान्तमा अघि बढेको दाबी गर्छन् । उनी भन्छन्, ‘तर पहिले र अहिले परिस्थिति बेग्लै छ त्यति मात्रै फरक हो । कांग्रेसले वीपीको विचार बोकेको छैन भन्ने कुरा गलत हो ।’ अहिलेको नेपाली राजनीतिमा पनि वीपीले अघि सारेका राष्ट्र, राष्ट्रिय एकता र मेलमिलापको नीतिको आवश्यकता छ ।

२०१७ पुस १ गते तत्कालीन राजा महेन्द्रले वीपीको नेतृत्वको जननिर्वाचित सरकार अपदस्त गरेपछि निरंकुश पञ्चायती व्यवस्था लागू गरे । वीपीललगायत नेतालाई सिंहदरबारमा बन्दी बनाइयो । त्यसको एक महिनापछि वीपीलाई सुन्दरीजल जेलमा सारिएको थियो ।

२०२५ मा स्वास्थ्य परीक्षणका लागि जेलमुक्त भएका वीपीले त्यसपछि आठ वर्षसम्म भारतमा निर्वासित जीवन बिताएका थिए । भारतमा निर्वासित भएकै अवस्थामा नेपाली राष्ट्रियता कमजोर भएको विश्लेषण गरी आफूमाथि पञ्चायती शासकले लगाएका मुद्दाको पर्वाह नगरी उनी २०३३ पुस १६ गते राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई फर्किएका थिए ।

२०४६ सालमा प्रजातन्त्र पुनः प्राप्तिका लागि कांग्रेसले नेपाली कम्युनिस्ट पार्टीहरूलाई समेत सामेल गराएर जनआन्दोलनको नेतृत्व ग¥यो । २०४६ पछि कांग्रेसमा निकै उतारचढाव आयो । कांग्रेस नेताहरूमा आन्तरिक मनमुटाव बढ्न थाल्यो ।

२०६२/६३ सालको जनआन्दोलनको समेत नेतृत्व गरेको कांग्रेस संविधानसभाको पहिलो चुनावबाट प्रतिपक्षमा सीमित बन्न पुग्यो । दोस्रो संविधानसभाको निर्वाचनमा पनि कांग्रेसले बहुमत ल्याउन सकेन । गणतन्त्र प्राप्तिपछि २०७२ मा संविधानसभाबाट संविधान जारी भयो । २०७४ मा नयाँ संविधानबमोजिम स्थानीय, प्रदेश र संघीय संसद्को गरी कांग्रेसकै नेतृत्वमा तीन तहको निर्वाचन भयो । मुलुकमा तीन तहका सरकार बने तर तीनवटै सरकारमा कांग्रेस खुम्चियो । एमाले र माओवादी केन्द्रले मिलेर बहुमत ल्याए । कांग्रेस प्रतिपक्षमै सीमित भयो ।

एमालेभित्रको आन्तरिक कलहले फेरि अहिले कांग्रेस सरकारमा पुगेको छ । कांग्रेस ५ राजनीतिक दलको गठबन्धनसहित अहिले सरकारमा छ । सबैलाई मिलाएर लैजान उसलाई चुनौती पनि छ । राजनीतिक विश्लेषक पुरञ्जन आचार्य कांग्रेसका केही नेताहरूले वीपीको सिद्धान्त र आदर्श बुझ्न र बुझाउन छोडे पनि मुलुकले भने वीपीले देखाएको सिद्धान्त नछोडेको बताउँछन् । नेपालका कम्युनिस्टहरूले संसदीय व्यवस्था अंगालेर लोकतान्त्रिक परिपाटीमा आएका छन् । संविधानमा पनि वीपीको भावना प्रतिबिम्बित भएको कुरा आचार्य बताउँछन् ।

वीपीले विश्वका कम्युनिस्टहरूको पतन हेर्न पाउनुभएन्, उहाँको पालामा र अहिलेको अवस्था निकै फेरिएको छ । अहिले उदार लोकतन्त्र र अर्थतन्त्रको विकास भएको छ । वीपीले आत्मसात् गरेको विधिको शासन, लोककल्याणकारी राज्य, आर्थिक विकास, देशबाट गरिबी निर्मूल पार्नेजस्ता विषयलाई भने अझै कांग्रेसले अघि बढाउन नसकेको आचार्यको भनाइ छ ।

‘मानिस ठूलो होइन, असल बन्नुपर्छ’ भन्ने वीपीको विचार थियो । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी त्यतिबेला कार्यगत एकता गरेर अघि बढौँं भन्दा वीपीले नमानेको बताउँछन् । तर अहिले परिस्थिति फरक छ । एजेण्डा मिल्नेहरू मिलेर जानुपर्छ भन्ने केसीको भनाइ छ ।
वीपी कोइरालाले नेपाली राजनीतिमा मात्रै नभएर साहित्यमा पनि ठूलो योगदान पु-याएका छन् । वीपीलाई साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तकका रूपमा पनि स्मरण गरिन्छ । उनका डेढ दर्जन कृति प्रकाशित छन् । ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, श्वेत भैरवी’ ‘दोषी चश्मा’ जस्ता कृतिहरू प्रकाशित छन् ।

विसं २००३ सालमा वीपीको नेतृत्वमा नेपाल राष्ट्रिय कांग्रेसको स्थापना भएको थियो, जसलाई विसं २००६ सालमा नेपाल प्रजातान्त्रिक कांग्रेससँग एकीकरण गरिएपछि सो पार्टीको नाम नेपाली कांग्रेस रह्यो । पार्टीको स्थापनापश्चात् तत्कालै वीपीलगायत अन्य नेताहरूले राणा शासनविरुद्ध सशस्त्र क्रान्तिको घोषणा गरेका थिए । विसं २००७ सालको क्रान्ति ऐतिहासिक रूपमा सफल भयो । जहानियाँ राणा शासनको अन्त्य भएर २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र प्राप्त भयो ।

नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारीले समेत आफूलाई मनपर्ने नेताहरूको सूचीमा वीपी कोइरालाको नाम पहिलो नम्बरमा राखेका थिए । यसरी नेपाली राजनीति र साहित्यका उच्च व्यक्तित्व जननायक वीपी कोरालाको निधन घाँटीको क्यान्सर भएर ६ साउन ०३९ मा काठमाडौंमा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?