ओलम्पिक फुटबल: सोचेभन्दा गरिमामय

काठमाडौं। ओलम्पिक फुटबलले फिफा विश्वकप जस्तो महत्व र प्रतिष्ठा कहिल्यै पाउन सकेन। तर, सोचेभन्दा गरिमामय छ यसको इतिहास।

उदाहरणका लागि, गृष्मकालिन ओलम्पिक फुटबलकै महान मध्येका एक रोमारीयोले यसै प्रतियोगिताबाट आफ्नो आगमनको बिगुल फुके। त्यस्तै, फुटबल संसारमा इतिहास रचेका मेस्सी र रोनाल्डिन्हो पनि ओलम्पिकका महत्वपूर्ण पात्र हुन्।

पछिल्लो समयमा ओलम्पिक फुटबलले धेरै राष्ट्रको ध्यानाकर्षण गर्न सकेको छैन। फुटबल शुरुवात भएकै देश तथा सर्वाधिक ओलम्पिक फुटबल विजेता टोली बेलायतले समेत यसलाई गम्भीरतापूर्वक लिएको छैन। तीन पटक ओलम्पिक उपाधि जितेको बेलायतले त्यस पश्चात् ओलम्पिक फुटबललाई खासै वास्ता गरेको पाइएन।

धेरै समयसम्म पूर्वी युरोपेली राष्ट्र ओलम्पिक फुटबल उपाधिमा हावी भए। युरोपमा फुटबलको विकास तिब्र गतिमा भएसँगै ओलम्पिक फुटबलमा पनि युरोपेली राष्ट्रको हैकम जम्यो। एउटै महादेशको दबदबा रोक्न सन् १९८४ मा अन्तर्राष्ट्रिय ओलम्पिक समितिले नयाँ नियम लगायो। ओलम्पिकमा व्यावसायिक खेलाडीले आफ्नो देशको नेतृत्व गर्न पाउने तर विश्वकप खेलिसकेका खेलाडीले भने यस प्रतियोगितामा भाग लिन नपाउने नियम लगाइयो।

क्रमशः विभिन्न नियमहरू परिवर्तन हुँदै सन् १९९२ मा ओलम्पिक फुटबलमा नयाँ नियम लागू गरियो। कुनै पनि राष्ट्रले २३ वर्ष वा मुनिका उमेर समूहका खेलाडी मैदानमा उतार्नु पर्ने नियम। यद्यपि टोलीमा उमेर समूह भन्दा माथिका ३ खेलाडी भने समावेश गर्न पाइने भयो। र त्यही नियम अहिलेसम्म पनि कायमै छ।

धेरैका लागि, ओलम्पिक फुटबल केवल एउटा ‘साइड शो’ भएको छ, विशेषगरी महिला फुटबल। तर धेरैको सोच विपरीत ओलम्पिक फुटबलले निकै ठूलो प्रतिष्ठा र महत्व बोकेको छ।

 

इतिहासकै सबै भन्दा पुरानो फुटबल प्रतियोगिता

हो, इतिहासकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिता हो ओलम्पिक फुटबल।

ओलम्पिक फुटबलको शुरुवात सन् १९०० मा भएको थियो। त्यस बेला विभिन्न क्लबहरुले यस प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए। राष्ट्र-राष्ट्र बिचको प्रतियोगिता भने सन् १९०८ बाट प्रारम्भ भएको थियो।

जबकि फिफा विश्वकप फुटबलको शुरुवात सन् १९३० मा पहिलो पटक भएको थियो। त्यस्तै युरोपियन कप जुन अहिले ‘युईएफए च्याम्पियन्स लिग’को नामले चर्चित छ, मात्र सन् १९५५ मा शुरुवात भयो। अझै युरो कप फुटबल त झन् सन् १९६० मा पहिलो पटक खेलियो।

त्यसमाथि ओलम्पिक फुटबलमा विजेताले पाउने भनेको पदक मात्रै हो। अन्य प्रतियोगिता जस्तो नगद पुरस्कार ओलम्पिकमा दिइँदैन। संसारनै पुरस्कार राशि र प्रायोजकको भारी रकमले चलिरहेको बेला ओलम्पिकको विशेषता अझै पनि ‘ओलम्पिक स्पिरिट’ नै रहेको छ।

 

युवा टोली र खेलाडीले आफूलाई अजमाइस गर्ने थलो

सर्वाधिक ओलम्पिक फुटबल विजेता टोली रहेको छ हंगेरी। फुटबल जगतमा सधैं कम आँकिएको हंगेरीले सर्वाधिक ओलम्पिक स्वर्ण पदक जितेको छ भन्दा धेरैलाई अचम्म लाग्न सक्छ।

तर तीन पटक ओलम्पिक स्वर्ण पदक विजेता हंगेरीलाई कुनै राष्ट्रले उछिन्न सकेको छैन। सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्डले ओलम्पिकमा ग्रेट ब्रिटेनबाट प्रतिस्पर्धा गर्दछ। इङ्ल्यान्ड, स्कटल्यान्ड, वेल्स र नर्थर्न आयरल्यान्ड सम्मिलित ग्रेट ब्रिटेनले पनि ३ पटक नै ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको छ। ओलम्पिक फुटबलको विशेषता नै यही हो। यहाँ युवा टोली र युवा खेलाडी चम्किन्छन्।

ओलम्पिक फुटबलमा धेरै युवा खेलाडीले आफूलाई प्रमाणित गर्ने मौका पाएका छन्। रोमारियो ओलम्पिकका सर्वोत्कृष्ट खेलाडी हुन्। त्यस्तै बेबेटो, टेवेज र क्रेस्पो जस्ता खेलाडीले पनि ओलम्पिक फुटबलबाटै ख्याति कमाएका हुन्।

 

कम आँकिएका देशलाई सुवर्ण अवसर

पछिल्लो समयमा अफ्रिकन फुटबलले तिब्र गतिमा विकास गरीरहेको देख्न सकिन्छ। अहिले संसारकै उत्कृष्ट खेलाडीको सूचीमा पर्ने मोहम्मद सालाह, रियाद माहरेज, साडियो माने, औबामेयाङ जस्ता खेलाडी अफ्रिकन मुलकै हुन्।

यसको श्रेय ओलम्पिक फुटबललाई नै जान्छ। सन् १९९२ मा घानाले ओलम्पिक फुटबलमा काश्य पदक जित्न सफल भयो। त्यसपछि त मानौं, अफ्रिकी राष्ट्रलाई रोक्न असम्भव नै भयो। सन् १९९६ मा नाइजेरियाले स्वर्ण पदक जित्यो। त्यस्तै सन् २००० मा क्यामेरून विजेता घोषित भयो भने सन् २००८ मा नाइजेरियले रजत पदक जित्न सफल भयो।

त्यसै गरी पछिल्लो समयमा इजिप्ट, गाबोन, मोरोक्को, युएई जस्ता राष्ट्रले धेरै ठूला राष्ट्रलाई निराश बनाएको देख्न सकिन्छ।

 

महिला फुटबलको लागि शानदार मञ्च

संयुक्त राज्य अमेरिकाको महिला फुटबल टोली अहिले विश्वकै उत्कृष्ट मध्येको एक टोली हो।

सन् १९९६ मा पहिलो पटक महिला फुटबललाई ओलम्पिक फुटबलमा समावेश गरिएको थियो। र यसले संयुक्त राज्य अमेरिकाको महिला टोलीको विकासलाई निकै ठूलो मद्दत पुर्यायो।

वर्तमान महिला विश्वकप विजेता संयुक्त राज्य अमेरिकाले चार पटक ओलम्पिक स्वर्ण पदक जितिसकेको छ। र क्रिस्टिन राम्पोन, शानोन बोक्स, हेदर मिटस र हेथेर ओ रेली जस्ता खेलाडी पनि विश्वसामु लिएर आउन सफल भएको छ।

 

शून्य भ्रष्टाचार

विश्वका धेरै खेलकुदमा भ्रष्टाचारले जरा गाडिसकेको छ। झन् पछिल्लो समयमा विभिन्न फुटबल निकायहरुमा मौलाएकोे भ्रष्टाचारले धेरै समर्थकलाई निराश बनाएको छ।

ओलम्पिकमा पनि भ्रष्टाचारको आलोचना नभएको भने होइन। तर अहिलेसम्म पुरुष तथा महिला दुवै फुटबलमा भ्रष्टाचार छिरिसकेको छैन। ओलम्पिक फुटबलको स्पिरिट र शुद्धता नै यसको खासियत हो।

 

टोकियो ओलम्पिकमा फुटबल जुलाई २२ देखि अगस्ट ७ सम्म खेलिने तालिका रहेको छ। टोकियोसँगै अन्य पाँच सहरले आयोजना गर्ने ओलम्पिक फुटबलको यो २७औं संस्करण हुनेछ।

(बीआर स्पोर्ट्सको सहयोगमा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?