काठमाडौंका ‘डेन्टिस्ट’ देवता (भिडियोसहित)

मन्दिरै मन्दिरको शहर काठमाडौं । उपत्यकाका हरेक चोक र गल्लीमा विभिन्न देवीदेवताका मठ मन्दिरहरु छन् । ती सबैको आस्था र विश्वास फरक फरक छन् । हरेक मठ मन्दिरको महत्व बेग्लाबेग्लै छन् ।

आधुनिक चिकित्सा पद्धतीको विकास हुनुअघि यस्तै आस्था र विश्वास नै उपचारको एक मात्रै विकल्प हुन्थ्यो । यस्तै आस्थाको केन्द्र हो, काठमाडौंको बाङ्गेमुढा र चिःकं मुगलमा रहेको वास्या द्यो अर्थात् दाँत दुखाइका देवता ।

काठमाडौंको सबैभन्दा पुरानो असन बजारबाट पश्चिमततर्फ करिव ५ मिनेटको यात्रापछि पुगिन्छ, बाङ्गेमुढा । काठमाडौं महानगरपालिकाको वडा नम्बर २५ मा पर्ने यो चोकलाई थ्यामरु टोल, नग टोल र किलागल पनि भन्ने गरिन्छ ।

पछिल्लो समय बाङ्गेमुढाको नामले चिनिएको यो ठाउँमा काठको एउटा ठूलो र बाङ्गे मुढा छ । यही बाङ्गेमुढाबाट यो ठाउँको नाम रहन गएको हो ।

यो मक्किएको बाङ्गेमुढा यतिधेरै चर्चित हुनुको रहस्य पनि बेग्लै छ । खासमा यो मुढालाई वाःस्या द्यो अर्थात् दाँत दुखाइ निको पार्ने देवता मानिन्छ । तर यहाँ अन्यत्र जस्तो कुनै मूर्ती भने छैन । यहाँ आएर किला र पैसा ठोकेपछि दाँत दुखाइ निको हुने जनविश्वास छ। यही लोकआस्थाकै कारण सयौं वर्षदेखि ठोकिएका किला र पैसाले पूरै मुढा ढाकिएको देखिन्छ । झण्डै ३२ वर्षदेखि यो देवतासँगै जोडिएको घरमा बस्दै आएकी सुशन कसजुसँग अहिले पनि सिक्का पैसा र हम्मर माग्न आउनेहरु उत्तिकै छन् । यो देवतालाई स्थानीयले नाग देवताका रुपमा पुग्ने गरेको उनी बताउँछिन् ।

पूर्व सांसद तथा लेखक मल्ल के सुन्दरका अनुसार यो वास्याःद्यो एउटा विशाल रुखको अवशेष हो । कुनै बेला यो ठाउँमा रहेको ठूलो रुखको काठ प्रयोग गरी थासमण्डप अर्थात् थायमरु निर्माण गरिएको हो । नेपालभाषा टाइम्सका सम्पादक तथा सांस्कृतिक ज्ञाता सुरेश मानन्धरका अनुसार थासमण्डप मरु सत्तल जत्तिकै पुरानो सत्तल हो, जसको नाम अपभ्रंस हुँदै थायमरु हुन पुग्यो । यो मण्डप पनि हजार वर्षभन्दा पुरानो हुन सक्ने मानन्धरको अनुमान छ ।

यसरी मण्डप निर्माण पश्चात बाँकी रहेको र बाङ्गो काठलाई त्यतिकै छोडियो । स्थानीय लाल श्रेष्ठका अनुसार अहिले वास्याः द्यो मानिएको यो काठको मुढा जमिनमूनिबाट असन आसपाससम्म रहेको छ । कतिपयले भने नयाँ घर बनाउने क्रममा काठ काट्ने गरेको उनले बताए ।

विगत ४२ वर्षदेखि सोही स्थानमा नक्कली दाँत बनाउने पेशामा संलग्न स्थानीय राजकुमार श्रेष्ठ अहिले पनि वास्या द्योप्रतिको आस्था उत्तिकै रहेको बताउँछन् । उनी भन्छन्, “अस्ति एकजना अमेरिकामा बस्ने मान्छे त्यहाँ उपचार गर्दा निको भएन भनेर यहाँ पूजा गर्न अभिभावकलाई पठाएका थिए ।”

त्यतिबेला पैसा चढाउँनासाथ बच्चाहरुले टिप्ने गरेकाले एक जनाले आवेशमा पैसा ठोकिदिएको र अहिले त्यो नै परम्परा बनेको उनको धारणा छ । “खासमा यहाँ पैसा चढाउँने चलन थियो र चढाउँन नपाउँदै बच्चाहरुले टिपेपछि एक जनाले आवेशले पैसा नै ठोकि दिए रे, अनि त्यहि बेलादेखि पैसा ठोक्न थालिएको भन्छन्,” उनले आफूले सुनेको कहानी यसरी सुनाए ।

वास्या द्यो प्रतिको आस्था अथाह देखिन्छ । त्यसैले पनि होला यो बाटोबाट ओहोरदोहोर गर्नेहरु पनि ढोगेर हिँड्ने गर्छन् । त्यसो त गत वर्ष यो मुढा चोर्नका लागि तीन पटकसम्म प्रयास भएको रहेछ । तर चोरी सफल भएन । त्यसपछि अहिले उक्त मुढालाई फाइबर प्लास्टिकले छोपेर राखिएको छ । अहिले उक्त मुढामा किला र पैसा ठोक्न मिल्दैन तर त्यसका लागि मुढासँगै अलगै काठ राखिएको छ। अहिले त्यहि काठमा पैसा ठोक्ने गरिएको छ ।

यहाँ अवस्थित वास्याः द्योमा पूजा गर्दा दाँत दुखाइ निको हुने जनविश्वास एकातिर छ । अर्काेतिर यो त्यहि ठाउँ हो जहाँ नेपालमा कृतिम दाँत बनाउने सबैभन्दा पुरानो ठाउँ हो । यहाँ अहिले पनि परम्परागत र आधुनिक विधिबाट दाँत बनाउने दर्जन भन्दा बढी डेन्टिस्ट भेटीन्छन् । यो संयोग हो कि वास्या द्यो कै कारण सिर्जित बजार हो कसैलाई थाहा छैन ।

वास्या द्यो को अझ अनौठो प्रसँग त के छ भने यो देवताको जोडी पनि रहेछ । बाङ्गेमुढाबाट करिब १० मिनेटको दुरीमा रहेको चि ः कं मुगलमा अर्काे वास्याः द्यो छ । यहाँ पनि काठको उस्तै बाङ्गो मुढा छ । यो मुढामा पनि पूरै ढाकिने गरी पैसा ठोकिएका छन् ।

बाङ्गेमुढामा रहेको वास्याः द्यो लाई पुरुष र यहाँ रहेको यो वास्याः द्यो लाई महिला भनिँदो रहेछ । वास्याः द्यो मा पूजा गनृका लागि पाला, चामल, सुपारी, पैसा र किला चाहिने उनले बताए । यहाँको मुढा पनि झण्डै ८ घरसम्म फैलिएको उनको भनाइ छ ।

वास्याः द्यो कै नजिकै अर्काे आस्थाको केन्द्र पनि रहेछ । गणेशको मूर्ती रहेको यो ठाउँमा पूजा गर्न उपत्यकासहित आसपासबाट समेत भक्तजन आउने गर्छन् । रुन्चे लागेका बालबालिका लाई यहाँ ल्याएर पूजापाठ गरेपछि निको हुने जनविश्वास छ ।

काठमाडौंमा यस्ता थुप्रै आस्थाका केन्द्रहरु छन् । धेरैको आस्था र विश्वासको केन्द्रहरुले आम मानिसलाई साँच्चै निरोगी बनाउँछन् कि बनाउँदैनन् त्यो बहस र अनुसन्धानको विषय होला । तर यी नेपालका जगेर्ना गर्नै पर्ने सांस्कृतिक सम्पदा हुन् भन्ने कुरामा भने दुईमत छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?