ओलीको अंहकारका कारण एमालेको आन्तरिक एकता झन् जटिल बन्दै

काठमाडौं । झण्डै दुई तिहाइ बहुमत सहित सरकारको नेतृत्व सम्हालेका एमाले अध्यक्ष एवं निर्वतमान प्रधानमन्त्री केपी शर्मा ओली सरकारबाट बर्हिगमन हुनु पर्दाको आक्रोश वरिष्ठ नेता माधवकुमार नेपालमाथि पोखेका छन् । शुक्रबार बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई‘मुख्य अपराधी’ मात्र भनेनन् ‘पार्टीमा उनलाई कुनै स्थान समेत नभएको घोषणा गर्न भ्याए ।


बालुवाटारबाट बाहिरिएको भोलिपल्ट निर्वतमान प्रधानमन्त्री ओलीले नीजि निवास बालकोट पुगेर नेता नेपालप्रति गम्भीर आरोप लगाए । ओलीले लामो समय आफूलाई साथ र सहयोग गरेका वरिष्ठ नेता नेपाललाई गाली मात्रै गरेनन् उनको राजनीतिक चरित्रमाथि समेत प्रश्न उठाए । वरिष्ठ नेता नेपाललाई राष्ट्रिय गद्दार भएको घोषणा समेत गर्न भ्याए । नेता नेपाल निकट मानिने एक नेताका अनुसार ओलीले पार्टीमा नेपाल नआउन भन्ने चाहेका छन् । “नेपाल नआउँदा ओलीलाई पार्टी झन् स्वेच्छाचारि रुपमा सञ्चालन गर्न सहज हुन्छ ।” उनले भने–“नेपाल बिनाको एमाले ओलीको भजन मण्डली जस्तै हुन्छ । त्यसपछि एमालेमा झनै भद्रगोल हुन्छ ।”

 

ओलीले बालुवाटारबाट बाहिरिएको चौथो दिन शुक्रबार एमाले स्थायी कमिटी बैठक राखे । बैठक स्थगित गर्न माग गर्दै एमालेको एकता कार्यदलमा रहेका नेपाल पक्षका नेताहरु बैठक स्थल पुगे । तर ओलीले बैठक स्थगित गर्न मानेनन् । बैठकमा ओलीले पार्टी एकता विरुद्ध कुनै अप्रिय निर्णय गर्ने हुन कि भन्ने आशंका गरिएको थियो । तर ओलीले शुक्रबार त्यसो गरेनन् । स्थायी कमिटी बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिने, एकताका लागि कार्यदलले दिएको सुझाव अनुमोदन गर्ने र कार्यदललाई भंग गर्नेे लगायतका निर्णय मात्र गर्यो ।

प्राध्यापक एवं राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसी एमालेमा बिग्रह भए ओली र नेपाल दुबैलाई घाटा लाग्ने बताउँछन् । नेपाल पक्षका केन्द्रीय सदस्य प्रेमल खनाल एमाले पार्टी ओलीको बिर्ता नभएको बताउँछन् । “एमाले बनाउन लाखौँ नेता कार्यकर्ताको लगानी र योगदान छ । सत्ताबाट बाहिरिएर आफ्नो घरको बार्दलीमा गएर जे पायो त्यही गाली गरेको सिंगो एमालेका नेता कार्यकर्ताले बुझ्नुपर्छ । ओलीले पार्टी एकता चाहेका छैनन्”–लोकपथसँग कुरा गर्दै खनालले भने–“हामीले उठाएका एजेण्डाको जित भएको छ । ओलीको प्रतिनिधि सभा विघटन गर्ने प्रतिगमनकारी कदम सर्वोच्च अदालतले खारेज गरिदिएको छ । ओली सरकारमा रहँदाको समीक्षा र ओली –नेपाल बीच पावर सेयरिङका कुरा टुंगोमा नपुगीकन कार्यदलको प्रतिवेदन एकतर्फी रुपमा अनुमोदन र कार्यदल भंगकोे पनि कुनै औचित्य छैन ।”
एमालेमा आन्तरिक विवाद चर्किरहेकै बेला गत जेठ २ मा विवाद समाधानका लागि कार्यदल गठन गरिएको थियो । त्यसपछि बीचमा केही निष्क्रिय रहेको कार्यदलले पुनः काम शुरु गरेर केही दिन अगाडि पार्टी एकताका लागि सुझाव प्रतिवेदन तयार पारेको थियो । त्यसलाई शुक्रबार बसेको ओली पक्षीय स्थायी कमिटिले अनुमोदन गरेको हो ।

उता ओली पक्षका नेता एवं एमाले कार्यालय सचिव शेरबहादुर तामाङले लोकपथसँग संक्षिप्त कुराकानी गर्दै कार्यदलको प्रतिवेदन स्वीकार गरेर आउने मात्रै एमाले हुने बताए । उनले भने–“कार्यदलले दिएको सुझाव अस्विकार गर्ने एमाले हुनै सक्दैन, वरिष्ठ नेता नेपाल पनि अब एमाले हुन सक्दैनन् ।”
एमालेमा ओली र नेपाल बीच बढ्दै गएको दूरी कम गरेर आन्तरिक पार्टी एकता बचाइ राख्न दोस्रो तहका नेताहरु लागि परे पनि उपलब्धी भने हात लाग्न सकेको छैन । एक पक्षले अर्को पक्षलाई शब्दमा कुनै सीमा नराखि आरोप प्रत्यारोपमा उत्रिरहँदा नेकपाको एकता के सम्भव छ भन्ने प्रश्न उब्जिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?