मुन्ना अचेल मुस्कुराउँदैनन् !

मुन्ना शाह (४२) दुखी छन् । कोरोना महामारीले निम्त्याएको अत्यासलाग्दो अवस्था उनको दुखको कारण हो । कोरोनाबाट जोगिनको लागि पटक – पटक सरकारले सावधानीस्वरुप भन्दै जारी गरेका लकडाउन र निषेधाज्ञाको कारण उनको लोभलाग्दो मुस्कान मुर्झाएको हो ।

हुन त कोरोना कहरका कारण सिंगो विश्व आक्रान्त बनेको छ । सबै क्षेत्रमा उत्तिकै प्रभाव पारेको छ । त्यसबाट नेपाल आक्रान्त भएको १५ महिना बित्यो । कोरोनाको जोखिम कम गर्नका लागि भन्दै सरकारले लागू गरेको निषेधाज्ञा र लकडाउन का कारण मुन्ना शाहको मिठाइ पसलमा उनको भाषामा ‘सुख्खा लागेको’ लामो समय भईसक्यो । पोहोरको लामो समयको लकडाउनको कारण मुन्ना मानसिक तनावमा समेत रहे । यसपटक पनि दोस्रो लहर अझ खतरनाक भएको चेतावनी सहित सबै क्षेत्र बन्द हुँदा मुन्नाको पसल ठप्पै भयो । केहि समयपछि समय छुट्टयाएर प्रशासनले पसल खोल्न दिएतापनि मानिसहरु बाहिर निस्कन नपाएका कारण मुन्नाको काम दिनभरी पसल रुँगेर बस्नेबाहेक अर्थोक हुन सकेको छैन ।

ठिमी, भक्तपुरमा बसोबास गर्दै आएका मुन्ना शाहले भक्तपुर ठिमीमा मिठाइ पसल खोलेको करीब १३ वर्ष भयो । उनको स्थायी घर विरगञ्ज हो । परिवार सँग पसलसँगै रहेको घरमा कोठा भाडामा बस्दै आइरहेका मुन्नाको ९ जनाको परीवार यहि मिठाई पसलले धानेको छ । ९ जनाको भन्छा धान्नको लागि पनि उनको मिठाई पसल नचल्दा उनीमाथि अप्ठेरो थुप्रिएको हो । ‘१५ महिना भइसक्यो । अझै एक/ डेढ वर्ष यस्तै हालत हुने निश्चित छ । अब कसो गरी चलाउने ?’ उनी प्रश्नमाथि प्रश्न गर्छन् ।

कोरोना आएको र चीनमा समस्या सिर्जना भइरहेको खबरहरु बाहिरिँदा मुन्नालाई ‘ए !  लौ !’ मात्रै लागेको थियो । तीव्र रुपमा यो भाइरस विश्वभर फैलिएको समाचारहरु बढ्दै जाँदा उनमा र उनको परिवारमा पनि त्रास थियो । जब नेपालमा पहिलो संक्रमित भेटिए भन्ने खबर आयो तब उनमा अति नै डरलाग्दो संशय पैदा भएको थियो । जब भुसको आगोसरी भाइरस फैलियो त्यसपछि त प्रशासनले नियम नै बनाएर पसल बन्द गर्न लगायो । १ हप्ता ,१ महिना भन्दा भन्दै झन्डैै ६ महिना तन्कीएको निषेधाज्ञाको कारणले मुन्नाको गरीखाने बाटो टुटेदेखि उनी वेखुसी छन् ।

No description available.

मुन्नाको मिठाई पसलमा मिठाईसँगै चिया समोसा जस्ता अरु खाजा पनि पाइन्छ । मुन्नाले पोहोरको लकडाउन पछि नयाँ फलफुल पसल पनि सञ्चालन गर्दै आएका रहेछन् । त्यहि मिठाइ पसलबाट नै अहिले मुन्ना र उनको परीवार धानिरहेको छ । पहिलो चरणको लकडाउन खुल्न नपाउदै दोस्रो चरणको निषेधाज्ञा शुरु भइहाल्यो तर यसपालि चाहि फलफूलले गर्दा पोहोरको जस्तो १ छाक खान नै नपाउने अवस्था आएन, मुन्नाको परिवारमा । ”अरुले हेर्दा यत्रो पसल छ कसरी खान खाँचो भयो भन्छन् । तर यो ६/७ महिना कति गाह्रो भएको थियो भन्ने कुरा मेरो भोको पेटलाई थाहा छ हजुर ।” उनी भावविह्वल बन्छन् ।

‘काखकी छोरीले १० रुपैँयाको बिस्कुट खान्छु बाबा’ भन्दा पैसा नभएर किनेर दिन सकिँन । जहाँ गहिरो त्यहिँ पहिरो ।’ यसो भनिरहँदा उनको गह भरीए ।

९ जनाको परीवार पाल्ने अरु कुनै पेशा छैन । त्यसैले पनि हामीलाई यो भाइरसका कारण उत्पन्न परिस्थितीले रुवाउनुसम्म रुवायो । एकातिर भाइरसको डर अर्कोतिर भोको पेटको डर । यहि एउटा पसलको भरमा चलिरहेको मुन्नाको परीवारले पसल, कोठा भाडा र फलफूलको सटर भाडा गरेर करिब ७० हजार जति भाडा मात्रै तिर्ने गरेका छन् । ‘पोहोरको लकडाउनमा घरबेटिले एकमुस्टमा भाडा दिने हो भने ‘१ महिनाको छुट’ दिन्छु भने । तर ६ महिनाको भाडा एकमुस्ट कसरी दिन सक्नु त्यो पनि यस्तो लकडाउनको समयमा बिहान खाएर बेलुकाको छाक कसरी टार्ने भनेर सोच्ने समयमा एकैपटक डेढ लाख रुपैयाँ कहाँबाट ल्याएर तिर्नु ? बिस्तारै तिर्दैछौ । अहिले सम्म तिरीसकेको छैन ।’

No description available.

‘कोरोनाको कारण अप्ठेरोमा परेकाहरुलाई राहत वितरण गर्दैछ भन्ने सुनियो आफैँ जान त लाज लाग्यो त्यसैले श्रीमतीलाई पठाए तर सबैले उल्टै खिसि गरेर पठाएछन् सबैले चिनेको थियो वडा अध्यक्ष सबैले यत्रो होटल हुने मान्छेलाई खान कसरी खाचो भयो भनेर राहत पनि पाइएन नेपालबाट त । बरु भारतबाट रासन कार्ड हुनेलाई खाद्मन्न सामाग्री वितरण गरेको रहेछ र दाल चामल पायौँ र सास अल्झायौ । अरुले हेर्दा हामी जस्तो व्यवसाय हुनेलाई केहि समस्या छ जस्तो देखीन्न तर सबैभन्दा पिडित हामी हुन्छौँ । किनकी हाम्रो व्यवसाय चल्दैन । ‘साना व्यवसायीहरुको दुख देखिन्छ तर वास्तविक पिडित हामी हौँ , उनीहरु पिडित छैनन् भनेको होइन तर हामी भन्दा कम पिडित चाहीँ पक्कै हुन्छन्’ उनले भने ।

मैले लाखौँलाख व्यापार गरेको छु । तर कोरोनाको कारण भएको लामो लकडाउन र निषेधाज्ञाको त्यो समयमा कालो चिया खाने पैसा थिएन । त्यसैले यसपटकको निषेधाज्ञामा पोहोरको जस्तो सास्ती खेप्नु परेन । फलफूल पसल बन्द नभएको कारणले नै खान नै चाहि पाईयो ।

मुन्नालाई पैसा कमाउन भन्दा पनि अहिले बाँचियो भने पैसा भन्ने कुरा विस्तारै कमाउँला भन्ने लाग्छ । ‘१ दिन अगाडी पसलमा आएर ‘ल मुन्ना भाइ राम्रो गर्नु सचेत हुनु’ भनेर गएको मान्छे भोलिपल्ट बित्यो भन्दा रातभरी निन्द्रा लागेन ।’ ३/४ जना नजिकका साथीभाइ ‘अब यस संसारमा छैन’ भन्ने कुरा मुन्नालाई अझैपनि पत्यार लागेको छैन ।

सरकारले कोरोनाको धेरै भेरियन्ट आउन सक्ने खतराबारे जानकारी गराईरहँदा वा विज्ञले चेतावनी दिईरहँदा पुर्व तयारी नभएकोबारे चिन्ता व्यक्त गर्दै उनी प्रश्न तेर्साउँछन्, कोरोनाको भ्याक्सीनचाहिँ उपलब्धता गराउनु पर्दैन ?

‘यो महामारीबाट बाँचियो भने ऋण बिस्तारै तिर्ने सोचेको छु । अहिले पसल खोलेको छ । सरकारले नै बार तोकिदिएको छ । ग्राहक आउने कुरा परै जाओस् पसल खोलेपछि झन् खर्च चाहिँ हुन्छ । यो महामारी कहिलेसम्म पूर्ण रुपमा हट्ला? यसको असर कहिलेसम्म रहला ? अझ कस्ता घातक भेरियन्ट आउला ? बालबालिकाको पढाई के होला ? अबको बाटो के होला ?’ उनी प्रश्नसँगै अल्मलिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?