मूल्यवृद्धिले उपभोक्ताको ढाड सेक्दै : किन मौनता साँध्दैछन् नियामक निकाय ?

पछिल्लो समय उच्च रुपले बढेको मूल्य वृद्धिका कारण उपभोक्ता मारमा परेका छन् ।

मूल्य वृद्धिका कारण आम उपभोक्ता मारमा परेता पनि सरकार र उपभोक्ताको हितमा काम गर्ने निकायले मौनता साँध्दा आम उपभोक्ता मारमा परेका हुन् । एकातिर कोरोनाका कारण उपभोक्ताको आम्दानीमा ह्रास आएको छ भने अर्कोतिर चर्को मूल्य वृद्धिका कारण उपभोक्ताको जनजीवन प्रभावित भईरहेको छ ।

अहिले खाद्यान्न, तरकारी, गेडागुडी तथा फलफूल लगायतका अधिकांश दैनिक उपभोग्य वस्तुहरुको मूल्य बढेको छ। जसको भार खेप्न अब उपभोक्तालाई धौ-धौ हुने भएको छ । आम्दानी नहुने र महङ्गी बढेका कारण उपभोक्ताको दैनिकी  निकै कष्टकर बन्दै गइरहेको छ।

नेपाल राष्ट्र बैंकले बिहिवार मात्रै सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना (जेठ )सम्म महङ्गी वृद्धि भएको देखिएको छ । यस अवधिमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ४.१९ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ४.५४ प्रतिशत रहेको थियो ।

११ महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.२२ प्रतिशत र गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति २।६३ प्रतिशत रहेको छ । गत जेठको तुलनामा अहिले जेठमा घ्यू तथा तेल, सुर्तिजन्य पदार्थ, गैर–मदिराजन्य पेय पदार्थ र यातायात उपसमूहको मूल्यवृद्धि क्रमशः ३०.९८ प्रतिशत, ९.८४ प्रतिशत, ९.८१ प्रतिशत र ९.७० प्रतिशत रहेको छ । खाद्य तथा पेय पदार्थ समूहको मूल्य केहि मात्रामा मात्रै बढेको राष्ट्र बैंकले जनाएको छ । विशेष गरी माग आपूर्तिमा सन्तुलन नमिलेकाले मूल्य बढेको राष्ट्र बैंकको तर्क छ । ‘‘डिमाण्ड र सप्लाईको सन्तुलन नमिल्दा केही मात्रामा मूल्य बढेको हो ।’’ राष्ट्र बैंकका सह प्रवक्ता नारायणप्रसाद पोखरेलले भने ।

राष्ट्र बैंकका अनुसार यो अवधिमा तराईमा सबैभन्दा बढी मूल्य वृद्धि भएको छ । यस क्षेत्रको मूल्य वृद्धि ४.४७ प्रतिशत रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । गत वर्षको जेठमा तराइको मूल्य वृद्धि ४.८६ प्रतिशत थियो । त्यस्तै पहाडमा ४.३२ प्रतिशत रहेको छ । गत वर्षको जेठमा पहाडमा ४.१३ प्रतिशत मूल्य वृद्धि रहेको छ । त्यस्तै काठमाडौं उपत्यकामा ३.८७ प्रतिशत वृद्धि भएको छ । गत वर्ष उपत्यकामा मूल्य वृद्धि ४.४३ प्रतिशत रहेको थियो ।

त्यस्तै,चालू आर्थिक वर्षको जेठ महिनासम्ममा हिमालमा १.७२ प्रतिशत मूल्य वृद्धि रहेको राष्ट्र बैंकले जनाएकोे छ । गत वर्षको जेठमा हिमाली क्षेत्रको मूल्य वृद्धि ४.३४ प्रतिशत रहेको थियो ।

त्यस्तै जेठमा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति ९.०० प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.९६ प्रतिशत रहेको थियो । यो महिनामा उपभोग्य वस्तु, मध्यवर्ती वस्तु र पुँजीगत वस्तुको थोक मूल्यवृद्धि क्रमशः ९.६५ प्रतिशत, ९.५३ प्रतिशत र ३.९२ प्रतिशत रहेको छ । जेठ महिनामा निर्माण सामग्रीको थोक मूल्यवृद्धि ८.१६ प्रतिशत रहेको छ ।

तथ्यांकमा सामान्य, व्यवहारमा उच्च मूल्य

राष्ट्र बैंकको तथ्यांकले मूल्य वृद्धि सामान्य मात्रै बढेको देखाएको छ । तर व्यवहारमा भने त्यस्तो छैन । बजारमा हरेक उपभोग्य वस्तुको मूल्य उच्च छ । गत कार्तिक पछिबाट लगातार रुपमा बढेको खाने तेलको मूल्य केही समय अघि मात्रै घटेको थियो । बजारमा खाने तेलबाहेक अन्य दैनिक उपभोग्य वस्तुको मूल्य घटेको छैन ।

होलसेलमा एउटा मूल्य, खुद्रा पसलमा अर्को मूल्य तथा हरेक पसलमा परक फरक मूल्यका कारण उपभोक्ता चर्को मारमा परेका छन् । मूल्य वृद्धिका कारण उपभोक्ता मारमा परेको भन्दै मूल्य वृद्धि नियन्त्रण गर्नु सरकारको दायित्व भएको उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमल्सीना बताउँछन् । ‘‘ सरकारले हरेक पसल पसलमा अनुगमन गर्नुपर्छ ।’’ उनले भने । अध्यक्ष तिमल्सीनाका अनुसार खाद्यान्नका तुलनामा हरिया तरकारीको मूल्य निकै बढेकाले सरकारले विचौलिया हटाउने प्रयास गर्नुपर्नेमा जोड दिए।

तरकारीको मूल्य पनि उच्च

असार लागे यता हरियो तरकारीको मूल्य उच्च रुपले बढेको छ । गत वर्ष कोरोनाका कारण लकडाउन हुँदा हरियो तरकारीको मूल्य ५० प्रतिशत भन्दा तल झरेको थियो । तर यसपाली भने तरकारीको मूल्य उच्च रुपले वृद्धि भएको छ । कालीमाटी तरकारी बजारमा तरकारीको मुल्य उच्च नभए पनि विचौलियाहरुले बाहिर चर्को मूल्यमा विक्री गरिरहेका छन् । कालीमाटी तरकारी बजारका अनुसार बिहिवार ठुलो गोलभेडाको मूल्य औषतमा ५५ रुपैँया छ । तर बाहिर बजारमा ७० देखि ७५ रुपैँयाको हाराहारीमा विक्री भइरहेको छ । त्यस्तै, बन्दा औैषतमा ४५ रुपैँया प्रतिकेजी छ । तर खुद्रा मुल्य ८० रुपैँयासम्म तिर्नु परेको छ । त्यसैगरी, स्थानीय काउनी औषतमा ८५ रुपैँया प्रति केजी छ । बजारमा १ सय ५० रुपैँयासम्म बिक्री भइरहेको छ । त्यस्तै,भाण्डाको औषत मूल्य प्रति केजी ५५ रुपैँया छ । तर बजारमा ८० रुपैँयाको हाराहारीमा विक्री भइरहेको छ । त्यस्तै, तिते करेला औषतमा प्रतिकेजी ८५ रुपैयाँछ । तर खुद्रा मूल्य १ सय ५० रुपैँयामा कारोबार भइरहेको छ । बाटोघाटोमा पहिरो गएको भन्दै हरियो तरकारीमा चर्को मूल्य वृद्धि गर्ने प्रवृत्ति यथासिघ्र रोक्नुपर्ने उपभोक्ताकर्मी तिमल्सीना बताउँछन् ।

मासुको मूल्य पनि बढ्यो

पछिल्लो समय कुखुराको मासुको मूल्यले पनि आकाश छोएको छ । कोरोनाका कारण अघिल्लो चैत ११ देखि सरकारले लकडाउन गरेपछि सबै उद्योग व्यवसाय,कलकारखाना ठप्प भए । जसले गर्दा आपूर्तिमै समस्या आयो । आपूर्तिमा समस्या आएका कारण कुखुरा विक्नै छाडे । करोडौँ रुपैँया बराबरका खुखुराका चल्लाहरु नन्ष्ट गर्नु प-यो । जसले गर्दा किसानले यसपाली खुकुरा पाल्न समेत डराए । त्यसका साथै कुखुराका चल्ला, दाना, औषधी लगायत महङ्गो भएपछि किसानले कुखुरा पाल्न नै छाडे । त्यसको असर अहिले बजारमा देखिएको छ ।

अहिले बजारमा मासुको आपुर्ति कम भएका कारण भाउ आकाशिन थालेको छ । अहिले होलसेलमै मासुको मूल्य ३०० रुपैँया भन्दा माथि छ । खुद्रा पसलमा मासुको भाउ ४ सय रुपैँया पुगिसकेको छ । मासुको भाउ अझै बढ्ने अनुमान गरिएको छ । कोरोनाका कारण गत वर्ष ठूलो क्षति बेहोरेका किसानले यसपाली पनि मन खोलेर कुकुरा हालेका छैनन् । जसले गर्दा आपूर्ति नै कम हुने भएपछि मूल्य अझै आकासिने व्यवसायीको आँकलन छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?