राष्ट्रपति भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने

काठमाडौं, १५ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले आज संघीय संसदलाई सम्बोधन गर्ने भएकी छन् ।संघीय संसद (प्रतिनिधिसभा र राष्ट्रियसभा) को निर्वाचनपछि संघीय संसद्को संयुक्त पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गर्न लागेकी हुन् । नेपालको इतिहासमा नै संघीय संसदलाई राष्ट्रपतिले संबोधन गर्न लागेको यो पहिलो घटना हो ।यसअघि राष्ट्रपतिले सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने परम्मरा रहेको थियो । नयाँ संविधानले निर्वाचनपछि दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने व्यवस्था गरेको छ ।नेपालको संविधानको धारा ९५ को दफा (२) मा राष्ट्रपतिले प्रतिनिधिसभाको निर्वाचनपछिको पहिलो अधिवेशन र प्रत्येक वर्षको पहिलो अधिवेशन प्रारम्भ भएपछि संघीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तथा दफा (१) संघीय संसद्को कुनै सदनको बैठक वा दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्न र त्यसका लागि सदस्यको उपस्थिति आह्वान गर्नसक्ने व्यवस्था छ ।सो संवैधानिक व्यवस्था अनुसार, चैत १२ को मन्त्रिपरिषद् बैठकले सम्बोधनका लागि राष्ट्रपति भण्डारीलाई आग्रह गरेको थियो । सरकारको आग्रहअनुुुसार राष्ट्रपतिले संयुक्त अधिवेशनलाई सम्बोधन गर्न लागेकी हुन् ।संघीय संसदको संयुक्त बैठक अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?