सुदूरपश्चिममा कुपोषित बालबालिकाको संख्या बढ्दै

लोकपथ
169
Shares

धनगढी । कैलालीसहित सुदूरपश्चिमभर कुपोषित बालबालिकाको संख्या बढ्दै गएपनि पहिचान गरी उपचारमा ल्याउने दरमा कमी रहेको पाइएको छ ।

कुपोषित बालबालिका पहिचानको लक्ष्यभन्दा सम्बन्धित निकायले न्यून संख्या पहिचान गर्दा अझै पनि प्रदेशभरी कुपोषित बालबालिकाको यकिन तथ्यांक पहिचान हुन नसकेको जनाइएको छ ।

कैलालीमा पाँच वर्ष मुनिका ८६ हजार पाँच सय ७५ बालबालिका रहेका छन । त्यसमध्ये १२ हजार दुई सय सात बालबालिकामा ख्याउटेपन रहेको छ । जुन १४ दशमलव एक प्रतिशत हो । यसलाई आधार मान्दा कैलालीमा नौ हजार ९० (दश दशमलव पाँच प्रतिशत) मध्यम र तीन हजार एक सय १७ (तीन दशमलव छ प्रतिशत) कडा शिघ्र कुपोषण बालबालिका रहेका छन ।

कैलालीमा ख्याउटे बालबालिका वार्षिक ३४ हजार पाँच सय ३१ पहिचान गर्ने लक्ष्य रहेको र त्यसमध्ये २५ हजार सात सय १५ बालबालिका मध्यम तथा आठ हजार आठ सय १७ कडा शिघ्र कुपोषित बालबालिका रहेको उल्लेख छ ।

कैलालीमा आठ हजार बढी कडा शिघ्र कुपोषित बालबालिका पहिचान गर्ने लक्ष्य रहेपनि सो अनुसार पहिचान हुन नसकेको तथ्यांकले देखाएको छ । स्वास्थ्य कार्यालय कैलालीको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा चार सय ८६ कडा शिघ्र कुपोषित बालबालिका पहिचान भएका थिए भने चालु आर्थिक वर्ष २०७७÷७८ को असार २५ सम्म दुई सय ३३ कडा शिघ्र कुपोषित बालबालिका पहिचान भएका छन ।

युनिसेफका पोषण अधिकृत विन्दु पन्थी भन्छिन्, ‘जिल्लाको लक्ष्य अनुसार कुपोषित बालबालिका पहिचान नहु“दा अझै पनि समाजमा कुपोषित बालबालिका लुकेर बसेका छन ।’ उनका अनुसार अभिभावकको कमजोरीकै कारण बालबालिकामा कुपोषणको समस्या रहने गरेको छ । उनले भनिन्, ‘कुपोषित बालबालिकाको पहिचान गर्ने संख्यानै कमी रहेको पाइएको छ । त्यसमा पनि कति उपचारमा आएर निको भएर गएको भन्ने तथ्यांक छैन ।’

सरकारले कुपोषणको संख्यालाई घटाउँदै लैजाने लक्ष्य लिएको भएपनि कोभिड–१९ का कारण कैलालीमा थप १४ दशमलव ३५ प्रतिशतले बढेको अनुमान रहेको छ । सो अनुमान अनुसार दुई हजार सात सय ९३ बालबालिकामध्ये दुई हजार ८० मध्यम शिघ्र र सात सय १३ कडा शिघ्र कुपोषित बालबालिका रहने ल्याण्केट २०२० को अध्ययनले देखाएको छ ।

स्वास्थ्य तथा जनसंख्यक सर्वेक्षण २०१६ भन्दा २०१९ मा प्रदेशमा कुपोषित बालबालिकाको संख्या बढेको देखाइएको छ । सन २०१६ मा प्रदेशमा ख्याउटेपनका अवस्था नौ दशमलव ३० रहेकोमा सन् २०१९ मा बढेर १४ दशमलव १० पुगेको छ । प्रदेशमा कम तौलका सन् २०१६ मा २८ दशमलव एक रहेकोमा २०१९ मा ३३ दशमलव चार प्रतिशत रहेको छ भने २०१६ मा ३५ दशमलव नौ प्रतिशत पुड्कोपनका बालक रहेकोमा सन् २०१९ मा बढेर ४० दशमलव नौ प्रतिशत रहेको उल्लेख छ ।

प्रदेशमा कुपोषणसंगै रक्तअल्पताको जोखिम पनि कायम रहेको छ । ६ देखि ५९ महिनासम्मका बालबालिकामा रक्तअल्पता हुने संख्या ५० प्रतिशत रहेको छ भने १५ देखि ४९ वर्षका महिलामा रक्तअल्पता हुने ३९ प्रतिशत रहेको छ ।

जन्मदेखि एक घण्टाभित्र दूध चुस्ने बालबालिको संख्या सबैभन्दा बढी रहेको सुदूरपश्चिम प्रदेशमा पनि पछिल्लो समय घट्दै गएको सोही तथ्यांकले देखाएको छ । सो तथ्यांक अनुसार सन् २०१६ मा प्रदेशमा ७१ प्रतिशत रहेको थियो भने २०१९ मा आउँदा घटेर ५० प्रतिशत पुगेको छ । प्रदेशमा पूर्ण स्तनपानको प्रतिशत २०१४ मा ६५ प्रतिशत रहेको थियो भने २०१९ मा आउँदा ५५ प्रतिशत रहेको छ ।

प्रदेशमा स्तनपान मात्र नभई न्यूनतम आहार खुवाउने बानीमा पनि कमी आएको सोही तथ्यांकले देखाएको छ । सन २०१६ मा छ देखि २३ महिनाका बालबालिकामा न्यूनतम आहारको विविधता ५० प्रतिशत रहेको थियो भने सन २०१९ मा घटेर ४३ प्रतिशत पुगेको देखाइएको छ ।

सामाजिक विकास मन्त्री भन्छन् – ‘जनप्रतिनिधी नै अनविज्ञ रहेछन’

सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री लालबहादुर खडकाले जनप्रतिनिधीहरुले स्पष्ट बुझ्ने गरी समुदाय तहमा कार्यक्रम अघि बढाउन आवश्यक रहेको बताए ।

‘हामी वडा र समुदायमा बालबालिकामा कुपोषण कायम रहेको र हरेक स्थानीय तहमा बुहक्षेत्रीय पोषण योजना कार्यान्वयन गरेको भनिरहेका छौं’ शनिवार आयोजित एक दिने अभिमुखिकरण कार्यक्रममा मन्त्री खडकाले भने, ‘अहिलेनै केही जनप्रतिनिधीहरुले आफुहरुलाई यो योजना लागु भएको बारे जानकारी नभएको भन्ने गुनासो गरिरहेका छन् । जब जनप्रतिनिधीहरुलाई नै यो योजनाबारे जानकारी छैन भने हामी समुदाय र वडातहसम्म कसरी पुग्न सक्छौं । त्यसैले अब कमजोरी सच्याएर अघि बढौं ।’

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?