चार कम्युनिस्ट पार्टीहरुबीच एकता प्रक्रियाको थालनी

काठमाडौं, १४ चैत । विभिन्न चारवटा कम्युनिस्ट पार्टीबीच एकता प्रक्रियाको थालनी भएको छ ।मोहन वैद्य नेतृत्वको क्रान्तिकारी माओवादी, मोहनविक्रम सिंह नेतृत्वको नेकपा (मसाल) नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकताको आधार खोज्न सैद्धान्तिक रुपमा सहमत भएका हुन् ।क्रान्तिकारी माओवादीको सक्रियतामा बसेको चार पार्टीका नेताहरुको संयुक्त बैठकले पार्टी एकताका लागि वैचारिक छलफल चलाउने निर्णय लिएको क्रान्तिकारी माओवादीका नेता हरिभक्त कँडेलले जानकारी दिए ।‘हामी चार पार्टी संसदवादी, दक्षिणपन्थी पार्टीहरु प्रतिक्रियावादमा पतन भएको निष्कर्षसहित क्रान्तिकारी कम्युनिस्टहरुबीच पनि एकताको प्रक्रिया सुरु गर्न सहमत भएका छौं’, उनले भने, ‘विचार, राजनीति र कार्यदिशामा सहमति जुट्यो भने सांगठनिक रुपमा एकताको प्रक्रिया सुरु हुन्छ ।’पार्टी एकताका जटिल विषयमा सहमति जुट्यो भने अन्य कतिपय विषयमा एउटै पार्टीमा बसेर पनि छलफल गर्न सकिने उनको भनाई थियो ।यी चार पार्टीले अक्टोबर क्रान्तिको शतवार्षिकी लगायत राष्ट्रियता र जनजीवीकाका मुद्दाहरूमा सहकार्य गर्दै आएका छन् ।सोही अनुसार पार्टी एकताका आधारहरू तयार पार्न भेटघाटका कार्यक्रमलाई निरन्तरता दिँदै बहस छलफललाई तीव्र बनाउने, सहमति भएका विषयहरू खास गरेर राष्ट्रियता र जनजीवीका लगायतका मुद्दाहरूलाई लिएर संयुक्त आन्दोलन गर्ने चार पार्टीले निर्णय गरेका छन् ।माक्र्सवाद–लेनिनवाद–माओवाद, नयाँ जनवादी क्रान्ति, क्रान्तिका तीन जादुगरी हतियारप्रतिको प्रतिबद्धता र सशस्त्र संघर्षद्वारा सत्ता कब्जा गर्ने सैद्धान्तिक तथा राजनीतिक आधारहरू नै क्रान्तिकारीहरूलाई एक ठाउँमा ल्याउने व्यापक र वैज्ञानिक आधार हुन सक्ने कुरामा चार पार्टीमा करिब समान धारणा पाइन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?