बैंकमा यसकारण टिक्दैनन सिइओ

काठमाडौं । बैंकमा प्रमुख कार्यकारी अधिकृत(सिइओ) नटिकेर कार्यकाल पूरा नहुँदै पछिल्लो पटक राजीनामा दिने सिइओ हुन्,सेन्चुरी कमर्शियल बैंकका तुलसीराम गौतम ।

गौतमले असार २० मा आफ्नो कार्यकाल नपुग्दै संचालक समिति समक्ष राजीनामा दिएका थिए । गौतम २०७५ बैशाख १९ देखि चार वर्षका लागि बैंकको सिइओका रुपमा नियुक्त भएका थिए । उनले कार्यकाल सकिन नौ महिना बाँकी छँदै राजीनामा दिएका हुन् । सिइओ गौतमले सञ्चालक समितिसँग असमझदारी उत्पन्न भएपछि बैंक छाडेका हुन् ।

संचालक समितिसँग असमझदारी उत्पन्न भएर बैंक छाड्ने सिइओ गौतम मात्रै होइनन् । यसअघि विभिन्न बैंकका सिइओले यसरी नै कार्यकाल पूरा नहुँदै राजीनामा दिएका थुप्रै उदाहरण छन् ।

गत वर्ष सनराइज बैंकका सिइओ जनक शर्मा पौडेल पनि आफ्नो कार्यकाल पूरा नहुँदै बाहिरिएका थिए । सिइओ शर्मा र संचालक समितिविच विवाद चर्किएपछि विवाद मिलाउन राष्ट्र बैंक पुग्नु परेको थियो । सिइओ शर्माले संचालक समितिलाई नटेरेको भन्दै सनराइजका संचालकहरु राष्ट्र बैंक पुगेका थिए । राष्ट्र बैंकले मिलिजुली काम गर्नु भनेर सम्झाउने प्रयास गरे पनि विवादले उत्कर्ष रुप लिएपछि अन्ततःशर्मा बैंकबाट बाहिरिएका थिए ।

ग्लोबलमा कम टिक्छन सिइओ :

ग्लोबल आइएमइ बैंकको स्थापना कालमा सुमन न्यौपानेले सिइओको रुपमा काम गरेका थिए । एक वर्षमै उनले राजीनामा दिए । सिइओ न्यौपानेको राजीनामा पछि लामो समयसम्म बैंकले सिइओ खोजेन । लामो प्रयासपछि अनिल ज्ञवालीलाई बैंकले सिइओको रुपमा भित्र्यायो । उनी पनि दुई बर्षभन्दा बढी टिकेनन् । ग्लोबल छोडेर ज्ञवाली नबिल बैंक छिरे । ज्ञवाली बाहिरीएपछि ग्लोबलले सिइओको रुपमा रत्नराज बज्राचार्यलाई ल्यायो । उनले त्यसताका नेपाल क्रेडिट एण्ड कमर्ज(एनसीसी)बैंकमा चारवर्षे कार्यकाल सकेका थिए । उनले मात्रै मुस्किलले ग्लोबल आइएमई बैंकमा चार वर्षे कार्यकाल पूरा गरेका थिए । संचालक समितिसँग विभिन्न मतभेदका कारण बज्राचार्यले पटक पटक राजीनामा नबुझाएका भने होइनन् । तर पछि सहमति भएपछि कार्यकाल पूरा गरेर मात्रै उनी बाहिरिए ।

बज्राचार्य बाहिरिए पछि नबिल पुगेका अनिल ज्ञवालीलाई बैंकले पुनः सिइओको रुपमा ल्यायो । ज्ञवाली नबिलमा कार्यकाल पूरा नगरी पुनः ग्लोबल आएका थिए । पहिलो पटकमा नै कार्यकाल पूरा नगरेका ज्ञवाली दोस्रो नियुक्तिमा पनि पूरा कार्यकाल टिक्न सकेनन् ।

त्यसपछि बैंकले स्थापनाकाल देखि काम गर्दै आएका जनक शर्मा पौडेललाई सिइओको रुपमा नियुक्ति गर्‍यो । तर उनी पनि पूरा कार्यकाल टिक्न सकेनन् । सिइओ फेर्दा फेर्दा हैरान भएको बैंकले लामो समय सिइओ ल्याएन । डेपुटी सिइओका रुपमा मेगा बैंकबाट ल्याइएका महेश ढकाललाई निमित्त सिइओको जिम्मेवारी दिइएको थियो ।

अघिल्लो वर्ष बिग मर्जरको सुरुवात गरेको ग्लोबल आइएमइ बैंकमा सिइओका रुपमा परशुराम कुँवर क्षेत्री नियुक्त भए । ग्लोबल आइएमइ बैंक र जनता बैंक मर्ज भएर बनेको सबैभन्दा ठुलो बैंकमा सात महिना पनि टिकेनन्,सिइओ क्षेत्री । मर्जरका बेला उनको जनता बैंकमै डेढ वर्ष कार्यकाल बाँकी थियो । मर्जरका बेला ग्लोबल आइएमइ बैंकमा सिइओ पद खाली थियो । त्यसैले बैंकले क्षेत्रीलाई सिइओको रुपमा ग्लोबले भित्र्यायो । त्यसो त ग्लोबल आइएमइ बैंकमा सिइओको रुपमा क्षेत्री भित्रिदाँ लामो समय नटिक्ने चर्चा पनि नचलेको होइन । किनकी यो बैंकमा निकै कम समयमा राजीनामा दिने क्षेत्री मात्रै थिएनन् ।

बैंक स्थापना भएको १४ वर्ष नाघिसकेको छ । कुनै एक सिइओले बैंकमा दुई कार्यकाल अर्थात आठ वर्ष काम गर्न पाउने नेपाल राष्ट्र बैंकको व्यवस्था छ । सिइओको कार्यकालकै आधारमा भन्ने हो भने पनि दुई वटा सीइओले १६ वर्ष धान्न सक्छन् । तर बैंकले भने १४ वर्षभित्र धेरैपट सिइओ फेरिसकेको छ । क्षेत्री बाहिरिएपछि बैंकले पुराना सिइओ रत्नराज बज्राचार्यलाई सिइओको रुपमा ल्याएको छ । अहिले बज्राचार्यले नै बैंक हाँकिरहेका छन् ।

ब्यक्तिगत स्वार्थ प्रधान कारण : 

संचालकहरुमा व्यक्तिगत स्वार्थ भएका कारण सिइओलाई लामो समय टिकेर काम गर्न समस्या हुन्छ । संचालकहरुले निरन्तर दबाव दिन थालेपछि चार वर्ष कार्यकाल भएका सिइओ दुई वर्ष पनि मुस्किलले टिक्छन् । सिइओ नटिक्नुमा सञ्चालक समितिको अत्याधिक दवावलाई मुख्य कारकका रुपमा लिइएको छ ।

कतिपय संचालकहरुले बैंकमा व्यक्तिगत स्वार्थ लाद्न खोज्दा बैंकमा ससइओहरु टिक्न नसकेको पिडित सिइओहरु बताउँछन् । ‘‘बोर्डका मानिसहरु आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न खोज्ने,सिइओले पूरा गर्न नदिने हुँदा द्धन्द्ध हुन्छ,’’ एक बैंकका सिइओले भने । संचालकहरु बैंकलाई आफ्नो स्वार्थ अनुकुल चलाउन खोज्ने तर सिइओले त्यसो गर्न नमान्दा त्यस्ता बैंकमा सिइओहरु टिक्न नसक्ने ती सीइओको भनाई छ । संचालकले भनेका मानिसलाई ऋण दिने,उनीहरुले भनेका मानिसको घर भाडामा लिने,बोर्डका मानिसले भनेका मानिसहरुसँग सामान किनिदिने,उनीहरुका मानिसलाई बैंकमा जागिर ख्याइदिनुपर्ने,उनीहरुले भनेका कर्मचारीको प्रमोशन गरिदिनुपर्ने यस्ता विषयमा सिइओमाथि बढी मात्रामा दबाव आउने गरेको ती उनीहरुको दाबी छ ।

संचालकले बैंकलाई आफ्नै नीजि सम्पत्ति सम्झिँदा सिइओलाई व्यवस्थापन गर्न निकै कठिन हुने गरेको उनको अनुभव छ । भन्छन,‘‘संचालकले बैंकलाई आफनै पुख्र्यौली सम्पत्ति सम्झिने गर्छन, तर व्यवसायिक सिइओहरुले त्यस्तो काम नस्विकार्दा द्धन्द्ध हुन्छ र सिइओ बाहिरिन्छन् ।’’

त्यसैगरी,अर्का सीइओले पनि समस्या उहि नै देखाए । बैंकमा लामो समय सीइओ नटिक्नुमा दोष संचालककै भएको बताउँछन् ।
व्यवसायीक रुपमा आएका सीइओलाई संचालकले दबाव दिएपनि अन्य स्थानमा गएर काम गर्ने हैसियत राख्ने भएका कारण समस्या नभएको बताउँछन् । संचालक र सिइओका बिचमा बैंकको काम र कारोबारका विषयमा आ–आफनै स्वार्थ हुन्छन् । ‘‘कसैलाई प्रमोशन गर्नु पर्‍यो,कसैलाई,संरक्षण गर्नुपर्‍यो भने सिइओलाई दबाव आउँछ । संचालकको यस्तो स्वार्थ अनुसार सिइओले काम गरेन भने तुष पलाउँछ । यहीँबाट द्धन्द्ध सुरु हुन्छ,’’ ती सिइओले भने ।

कुनै पनि व्यवसायिक सिइओलाई व्यवसाय विस्तार गर्न कुनै समस्याको कुरा नभएकाले द्धन्द्ध हुने विषय नै व्यक्तिगत इगो भएको ती सिइओको दाबी छ । ‘‘अहिले सम्म बैंकमा सिइओहरु नटिक्ने केस भनेकै कामको हिसावले भन्दा पनि व्यक्तिगत इगोका कारण हो,’’ उनले थपे । व्यवसायिक सिइओहरु तनावमा काम गर्न नचाहने भएका कारण उनीहरुलाई टिक्न गाह्रो हुने उनको तर्क छ । संचालक र बैंकबिच द्धन्द्ध हुँदा बैंकले सिइओ आफै हटाउने भन्दा पनि सिइओले नै राजीनामा दिने घटनाहरु बढी भएको उनको भनाई छ । व्यवसायीक रुपमा आएका सिइओलाई संचालकले दबाव दिएपनि अन्य स्थानमा गएर काम गर्ने हैसियत राख्ने भएका कारण समस्या नभएको ती बैंकरको तर्क छ ।

संचालकहरुले नीतिगत रुपमा काम गरे भने यस्ता विवाद कम गर्न सकिने सिइओहरुको बुझाई छ । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७२/७३ को मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाको चुँक्ता पूँजी वृद्धि गरेपछि बैंकहरु पूँजीगत रुपले बलिया भएका छन् । पूँजीगत रुपले बैंक जति बलिया भएका छन,त्यहि आधारमा बैंकले कारोबार विस्तार गर्न सकिरहेका छैनन् । त्यसो हुँदा बैंकका प्रमोटरहरु तनावमा छन् । बैंकको पूँजी बढेसँगै व्यवसाय पनि बढ्नुपर्ने भन्दै बैंक संचालकहरुले सिइओलाई दबाब दिइरहेका छन् । बैंकले व्यवसाय बढाउन खोज्ने तर बजार सीमित हुने भएकाले बजार विस्तारमा निकै चुनौती पनि छ ।

यसो भन्छ बैंकर्स संघ :

चार वर्षे कार्यकाल भएका बैंकका सिइओहरु आफ्नो कार्यकाल पूरा नगरी संस्था परिवर्तन गर्दा त्यसले समग्र बैंकिङ प्रणालीलाई नै असर गर्ने नेपाल बैंकर्स संघको ठहर छ । त्यसका साथै सिइओलाई बैंक छोड्न बाध्य बनाउनेहरुको मनोबल पनि बढ्छ । ‘‘सिइओले एकातिर छोडेर अर्कातिर जाँदा छोडाउने मनोबल बढ्दै जान्छ,’’संघका उपाध्यक्ष अनिलकुमार उपाध्यायले लोकपथसँग भने । यस्ता गतिविधी बढ्नु बैंकिङ क्षेत्रका लागि सकारात्मक नभएको उपाध्यक्ष उपाध्यायको ठहर छ ।

लय मिल्न नसक्दा विवाद : 

बैंक तथा वित्तीय संस्थाहरुका संचालकहरु भने बैंक बोर्ड र सिइओको काम गर्ने लय नमिलेका कारण यस्ता घटनाहरु घट्ने गरेको बुझाई छ । ‘‘बोर्ड र सिइओको काम गर्ने ट्युनिङ मिल्दैन अनि विवाद निम्तिन्छ,’’ बैंक तथा वित्तीय संस्था परिसंघका वरिष्ठ उपाध्यक्ष(प्रवक्ता) भोजबहादुर शाहले भने ।

बैंक संचालक समितिले बैंकलाई कुनै निश्चित गन्तब्यसम्म पुर्‍याउन निश्चित योजना बनाएको हुन्छ । त्यसका लागि बजेट पनि बनाएको हुन्छ । त्यसको कार्यान्वयन बैंकको सिइओले गर्छ । बैंकको सीइओले सफल कार्यान्वयन गर्न सके विवाद ननिम्तिने वरिष्ठ उपाध्यक्ष शाहको भनाई छ । ‘‘बोर्डको भिजन,मिसन र अब्जेक्टिभसँग मिल्ने गरी जाँदा अन्तर विरोध सृजना हुँदैन,’’ उनले भने । बैंक बोर्डको भिजन र उपलब्धि हासिल गर्न सकेन भने यस्ता किसिमका दुर्घटनाहरु घट्ने शाहको भनाई छ ।

यदि बैंकले सिइओलाई अनावश्यक दबाव दिइरहेको छ भने राष्ट्र बैंक,सीइओहरुको संस्था, नेपाल बैंकर्स संघ लगायतमा पनि यी विषयमा छलफल गर्न सकिने शाहको तर्क छ ।

‘राष्ट्र बैंकले हस्तक्षेप गर्न सक्दैन’

बैंकहरुले आफ्ना सिइओलाई बढी दबाव दिए भने राष्ट्र बैंकले बोलाएर छलफल गराउन सक्छ । ‘‘सिइओलाई बढी नै दबाव भयो भने के भएको हो भनेर छलफल गराउने र मिलाउने प्रयास हामी गर्न सक्छौँ,’’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने ।

तर नीतिगत रुपमा बैंकमा सिइओ नियुक्तिको अधिकार संचालक समितिलाई दिइएकाले राष्ट्र बैंकले हस्तक्षेपकारी भूमिका निर्वाह गर्न नसक्ने प्रवक्ता ढकालको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?