शिक्षा सेवा आयोगको २३ गतेको परीक्षा विथोल्छौं : क्रान्तिकारी

भक्तपुर, १४ चैत – अखिल(क्रान्तिकारी)का उपाध्यक्ष सुरेन्द्र बस्नेतले आगामी चैत्र २३ गते हुने भनिएको शिक्षा सेवा आयोगको परीक्षा स्थगित नगरिए विथोल्ने चेतावनी दिएका छन्।शिक्षा ऐनको नवौं संशोधनका विरुद्ध आन्दोलनरत विद्यार्थी संगठनहरुको तर्फबाट बस्नेतले सो चेतावनी दिएका हुन् । बस्नेतले भने-‘हामीले शिक्षा ऐनको नवौं संशोधन खारेजीको माग गरिरहेको वेला त्यही आधारमा आउंदो चैत्र २३ गते जवरजस्ती गर्न खोजिए परिक्षा विथोल्छौं।’आज शिक्षा शास्त्र संकायको सानोठिमी क्याम्पसमा अखिल(क्रान्तिकारी)द्वारा आयोजित खुल्ला विरोध सभामा वोल्दै बस्नेतले भने- ‘शिक्षक लाइसेन्स लिएका लाखौं विद्यार्थीलाई प्रतिस्पर्धावाट वञ्चित गरिए शिक्षा क्षेत्रमा भयावह स्थिति आउनेछ।’बस्नेतले माइतीघर मण्डलामा आमरण अनसन वसेका शिक्षा शास्त्र संकायका विद्यार्थीको न्यायपुर्ण माग तत्काल पूरा गर्न शिक्षा मन्त्रालयसंग माग गरे।विरोध कार्यक्रममा सानोठिमी क्याम्पसका स्ववियु सभापति रमेश खड्का र क्रान्तिकारीका क्याम्पस कमिटी अध्यक्ष प्रकाश केसिले शिक्षा ऐनको नवौं संशोधन खारेज नहुंदासम्म आन्दोलन जारी राख्ने वताए ।मंगलबार प्रमुख तीन विद्यार्थी संगठनले शिक्षा मन्त्री गिरिराजमणि पोखरेललाई उक्त परिक्षा स्थगित गराउन माग गरेका थिए । लगत्तै शिक्षा मन्त्रीले शिक्षा विभागका महानिर्देशक वावुराम पौडेलको नेतृत्वमा तीन सदस्यीय वार्ता टोली बनाएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?