कांग्रेस पार्टीलाई विधि र विधानसम्मत चलाउन सुझाव

काठमाडौँ, १३ चैत- नेपाली काँग्रेसलाई विधि र विधानसम्मत ढंगबाट अघि बढाउन सुझाव दिइएको छ ।निर्वाचनको समीक्षा गर्न शुक्रबारदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा अधिकाँश सदस्यले पार्टीलाई नयाँ ढंगबाट एकताबद्ध भएर अघि बढाउन नेतृत्वको गम्भीर ध्यानाकर्षण गराए ।वाम गठबन्धनबाट लोकतान्त्रिक विधि र प्रक्रियामाथि प्रहार हुनसक्ने संकेत देखिएकाले पार्टीभित्र आपसमा आरोप प्रत्यारोप गर्ने बेला नभएको टिप्पणी गर्दै उनीहरुले संसदीय बोर्डले उम्मेदवारलाई टिकट दिएको कुरा बिर्सेर नेतृत्वलाई कमजोर तुल्याउने ढंगबाट प्रस्तुत नहुनसमेत आग्रह गरेका थिए ।बैठकमा केही सदस्यले राजनीतिक परिवर्तनका लागि भएका विभिन्न आन्दोलनको नेतृत्व गरेको नेपाली काँग्रेस निर्वाचनमा किन हा¥यो, त्यसको जिम्मेवारी नेतृत्वले लिनुपर्छ कि पर्दैन, यसको निर्मम ढंगबाट समीक्षा हुनुपर्ने धारणा राखेका थिए ।केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले वाम गठबन्धनले लोकतन्त्रिक विधि र प्रक्रियामाथि नै खतरा बढ्न सक्ने संकेत देखाइरहेको बेलामा आपसमा विवाद तथा आरोपप्रत्यारोप गर्न नहुने सुझाव दिए ।केन्द्रीय सदस्य अतहर कमाल मुसलमानले विभाग गठन र पदाधिकारी चयनको विषयमा बखेडा नगर्न, पार्टीमा प्रवेश गरेका पुराना काँग्रेस नेताको सदस्यता नवीकरणको प्रश्न नउठाउन तथा मधेशमा उठेको प्रश्नलाई सम्बोधन गर्ने योजना बनाउन सुझाव दिए ।अर्का केन्द्रीय सदस्य पार्वता डिसी चौधरीले पार्टी नेतृत्वलाई कमजोर तुल्याउने ढंगबाट प्रस्तुत नहुन सल्लाह दिइन् ।पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा केन्द्रीय सदस्य बद्री पाण्डे, धनराज गुरुङ, हसन अन्सारी, डा मीनेन्द्र रिजाल, डा रामशरण महत, अमृत अर्याल, फर्मुल्लाह मन्सुर, पुष्पा भुसाल, श्यामकुमार घिमिरेलगायतले आ–आफ्ना धारणा राखेका थिए । समितिको अर्को बैठक यही चैत १५ गते बिहान ९ बजे बस्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?