यता असारे विकास, त्यता के-के हुँदैछ ?

सुदुर पश्चिमको एउटा गाउँले भोग्नुपरेको सास्ती

लोकपथ
793
Shares

शेरबहादुर ऐर / धनगढी । चुरे गाउँपालिका कार्यालयको समुद्घाटन कार्यक्रम थियो, २०७७ कात्तिक ७ मा । भीमदत्त राजमार्गबाट सहजपुर हुँदै सोल्टा जोड्ने सडकको यात्रा गर्दा ६ किलोमिटर भित्र गाउँपालिकाको कार्यालय छ । कार्यक्रममा सहभागी हुन उक्त सडकमा यात्रा गरेका कर्मचारी, जनप्रतिनिधीको एउटा प्रश्न थियो, “अहिले त सडकमा यात्रा गर्न कठिन छ । बर्खामा झन गाडी पनि चल्न सक्दैन होला, कार्यालय कसरी पुग्ने होला ?”

२०७८ असार ८ । चुरे गाउँ पालिकाको गाउँ सभा । त्यसअघि नै परेको वर्षाले गाउँ पालिकासम्म पुग्ने सडक हिलाम्मे थियो । कोही खाली खुट्टा, पाइन्ट माथि गरेर हिलाम्मे सडकमा पैदल यात्रा गरी गाउँ सभामा सहभागी भए भने कोही यात्रा गर्न नसकेर फर्के ।

चुरे गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष तारासिँह साउदले भने, “भर्खरै गाउँपालिकासम्म जाने बाटो कटान गरेकाले सडक हिलाम्मे थियो । गाउँ सभामा सहभागी हुन जाँदा सडकको अवस्थाले समस्या दियो ।” उनले गाउँ पालिकाको कार्यालयसम्म पुग्न जुत्ताबिहिन हिड्नुपरेको गुनासो गरे । उनले भने, “सडकमा सवारी साधन चल्ने अवस्था थिएन । मुख्य राजमार्गमै मोटरसाइकल छोडेर पैदल यात्रा गर्दै गाउँसभामा सहभागी भएँ ।”

उनीमात्र होइन यो गाउँपालिकाका छ वटै वडाका वडा अध्यक्ष तथा सदस्यहरुले यो समस्या भोगेको उनको गुनासो थियो ।

असारमा काटियो सडक

२०७८ साल जेठ २६ गते । कैलालीको भीमदत्त राजमार्गदेखिको सहजपुरदेखि चुरे गाउँपालिकाको कार्यालय जोड्ने सडक खण्डको घरखेडा डाँडामा डोजर चलिरहेको थियो ।

आर्थिक वर्ष २०७५/०७६ मा गाउँपालिकाले चुरे गाउँपालिकाको कार्यालय रहेको घरखेडासम्म ६ किलोमिटर सडक स्तरोन्नती र ग्राभेलका लागि निर्माण कम्पनीलाई ठेक्का दिएको उक्त सडकको स्तरोन्नतिको काम जेठदेखि अघि बढाइएको थियो ।

सम्झौता अवधि सकिनै लाग्दा निर्माण कम्पनीले सडक स्तरोन्नतिको काम अघि बढाएको स्थानीयको गुनासो छ । स्थानिय टीकाराम ढुगानाले भने, “असारे विकासले गर्दा यहाँका स्थानियले समस्या भोग्नु परेको छ ।”

गाउँपालिकाले जागृति निर्माण सेवाका नाममा बहुवर्षीय आयोजना अन्र्तगत नाला र ग्राभेलसहितको सडक स्तरोन्नति गर्ने भनि ठेक्का सम्झौता गरेपनि अहिलेसम्म काम सम्पन्न हुन नसकेको उनले बताए । “सम्झौता अवधि सकिसकेको छ तर असार मसान्तमा आएर ठेकेदारले काम अघि बढायो,” उनले भने “समयमै काम नगर्ने, बजेट सकाउने र रकम निकासा गर्ने बहानामा गुणस्तरहिन काम भइरहेको छ ।”
सडकको अवस्था देखेपछि धान दिवस (असार १५) को अवसरमा स्थानीयले सडकको काम समयमै हुनुपर्ने भन्दै सडकमै धान रोपाई गरे । उनीहरुले गाउँ पालिका जानुपर्दा भोग्नु परेको पिडालाई व्यक्त गर्न विरोध स्वरुप सडकमा धान रोपाई गरेका थिए ।

“समयमै काम सम्पन्न नहुदा बर्षातको समयमा नयाँ माटो हालेको पहाडी बाटो खाल्डाखुल्डी भई पानी जमेर हिलाम्मै भएपछि मोटरसाईकलमा यात्रा गर्दा निक्कै सकस हुने गरेको” चुरे गाउँ पालिका–१ घरखेडाका भूमी कंडेलले बताए । चुरे गाउँपालिकाका इन्जिनियर विक्रम कंडेलले चालू आर्थिक वर्षमा निर्माण सम्पन्न गर्ने गरी तीन करोड ६४ लाख रुपियाँमा सडक निर्माणका लागि दुई वर्ष अघि बझाङको जागृती निर्माण कम्पनीलाई निर्माण ठेक्का दिएको बताए ।

यहि असार मसान्तसम्म निर्माण सम्पन्न सम्झौता मिति रहेको बताउदै इन्जिनियर कंडेलले हाल सम्म ५० प्रतिशत मात्र काम भएको जनाए ।
निर्माण कम्पनीको ढिला सुस्ती र प्राविधिक त्रुटिका कारण सडक निर्माणमा ढिलाइ भएको जनाइएको छ । “हामीले गाउँ पालिका कार्यालयसम्म पुग्ने गरी सडक बनाउन खोजेका हौं,त्यसमा प्राविधिक त्रुटि पनि भएको छ, सम्झौतामा भएका सडक निर्माणमा आवश्यक ह्यामपाइप राख्ने,ग्याबिङ्ग गर्ने, दुबैतर्फ नाली बनाउने कुरामा केहि हेरफेर गर्न ‘भिओ’ परिवर्तन गरेका छौ,” प्राविधिक कंडेलले भने,“सम्झौता भएको रकममा कुनै असर नपर्ने गरी भेरीफिकेसन अर्डर परिवर्तन गरेका छौ, सोहि अनुसार काम हुन्छ ।”

ठेकेदारको चरम लापरबाहीका कारण सेवाग्राही र जनप्रतिनिधि सबैले सास्ती पाएको गाउँपालिका अध्यक्ष धनबहादुर रोक्का मगरले बताए । “निर्माण कम्पनीले बदमासी गर्यो, जनताले दोष हामीमाथि दिन्छन्,” उनले भने,“हामीले पटक–पटक ताकेता गर्दा पनि म्याद सकिन थालेको छ । वर्षा लागेपछि ठेकेदारले डोजर चलाएर सडक झन् बिगार्यो, छ महिनामा निर्माण सम्पन्न गर्ने प्रतिबद्धता गरे म्याद थप्ने तयारीमा छौ ।”
निर्माणको जिम्मा पाएको जागृती निर्माण कम्पनीका सञ्चालक पुष्कर ओझाले गाउँ पालिकासँग सडक निर्माणको सम्झौता गरी त्यसको निर्माण जिम्मा सुरेश रोकायालाई वारेसनामा दिएको जानकारी दिए ।

निर्माणको जिम्मा पाएका रोकायाले समयमा इआइए नहुँदा र भिओमा परिणाम बढाएका कारण निर्माण कार्य ढिला भएको बताए । उनले भने,“सडक चौडा गर्ने माटो पाट्ने, नाली बनाउने काम धेरै ठाउँमा सम्पन्न भएको छ, ह्यामपाइप राख्ने काम भैरहेको छ, छ महिना म्याद थप भयो भने सरासर काम गर्न पाए तीन महिना भित्र काम सम्पन्न हुन्छ ।”

गाउँ पालिका वडा नम्बर पाँचका वडा अध्यक्ष नरबहादुर तामाङले चुरे गाउँ पालिकाका अधिकाँस वडा जोड्ने सडकको अवस्था दयनिय भएको बताए । उनले भने,“असार मसान्त सकिनै लाग्दा काम गर्छन । जसले गर्दा पहिरोले सडक अवरुद्ध गर्छ । स्थानियलाई यात्रा गर्न पनि समस्या हुन्छ । अहिले जथाभावी काटिएको सडकले गाउँ पालिकाको लागत बढीरहेको छ ।”

ठेक्कामा लगाएपछि समस्या

०५१/५२ मा कृषि सडक अन्र्तगत सहजपुर–सोल्टा सडक नामाकरण गरिएको थियो । उक्त सडकको २०६०/६१ मा सुधार गर्नुपर्ने भन्दै साविकको जिल्ला विकास समितिले बजेट विनियोजन गरि काम अघि बढाएको थियो । २०७४ सम्म असारमा पर्ने वर्षाले पनि उक्त सडकमा कुनै असर गरेको थिएन । स्थानिय खगेन्द्र खडायतले भने,“असारको वर्षामा पनि यहाँ तरकारी, फलफूलहरु सवारी साधनबाट ढुवानी भइरहेका थिए । २०७४/७५ मा स्थानीय उपभोक्ता मार्फत र २०७५/७६ देखि सडक स्तरोन्नतिको नाममा गाउँ पालिकाले ठेक्का लगाउँदा स्थानियले समस्या भोग्नुपरेको छ ।” उनका अनुसार वर्षाले सडकमा सवारी साधन नै गुड्न नसकेपछि त्यहा उब्जनी भएका तरकारी तथा फलफूलहरु कृषकले बारीमै कुहाएर राख्नुपर्ने अवस्था छ ।

टीकाराम ढुंगाना २०७४ को स्थानीय तहको निर्वाचनमा गाउँ पालिका अध्यक्षमा उम्मेदवार थिए । निर्वाचनको समयमा मत माग्न सोही सडकको यात्रा गरेको स्मरण गर्दै उनले भने,“वर्षा भइरहेको थियो । तैपनि हामी छ– सात जना अटाउने गाडी लिएर यही सडकबाट अलाड पुगेका थियौं । तर, अहिलेको जस्तो समस्या त्यो बेला यो सडकमा थिएन । गाडीबाट सहजै पुग्न सकिन्थ्यो ।”

अहिले भीमदत्त राजमार्गदेखि भित्र गाउँ पालिकाको कार्यालयसम्म वर्षातको मौसममा ठुलामात्र होइन साना सवारीसाधन पनि गुड्न सक्दैनन् । स्थानियहरु गाउँपालिकामा काम परे पनि जादैनन् । एक स्थानिय भन्छन,“सडक नै राम्रो छैन,काम पर्यो भने वर्षातको मौसम सकिए पछि जाने हो ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?